रोजगारी छाडेर तरकारी खेतीमा रमाउँदै युवा


१५ जेष्ठ २०७७, बिहीबार

पोखरा, १५ जेठ । विदेशको रोजगारीभन्दा स्वदेशमै तरकारी खेतीमा भाग्य र भविष्य देख्दै यहाँका युवा तरकारी खेतीमा जुटेका छन् ।

खाडी मुलुक दुवईमा एक दशक पसिना बगाएर फर्किएका युवाले लगानीमा यहीको माटोमा रगत र पसिना भिजाउने लक्ष्यका साथ तरकारी खेतीमार्फत सुन्दर भविष्यको खोजीमा लागेका हुन् । पोखरा महानगरपालिका वडा नं १५ टुटुङ्गाका दीपेन्द्र बाँस्तोला, ध्रुव कोइराला र डिल्लीराम अधिकारीले रु ३० लाखको लागतमा सामूहिक तरकारीखेती शुरु गरेका हुन् ।

भाडामा लिएको बाँझो १४ रोपनी जग्गामा निर्माण गरिएका १४ वटा टनेलभित्र काँक्रो, सिमी, करेला, गोलभेँडा, धनियाँलगायतले उत्पादन दिन थालेपछि बिक्री गरेर राम्रो आम्दानी हुन थालेको बाँस्तोलाले जानकारी दिए ।

‘दुवईको पाँचतारे होटलमा वेटरको काम गर्दा मासिक रु एक लाख कमाइ हुन्थ्यो’, ३६ वर्षीय उनले भने, ‘विदेशमा लामो समयसम्म मेहनत गर्दा पनि खासै उपलब्धि नदेखिएपछि यही तरकारीखेती गर्न लागेका हौं ।’

तीन भाइ मिलेर २०७६ साल माघ ५ गतेदेखि सो खेती शुरु गरेको जानकारी दिँदै उनले ६ वटा टनेलमा गोलभेंडा, तीनवटामा सिमी, दुई वटामा काँक्रा, दुई वटामा करेला र एउटामा धनियाँ खेती गरिएको उनले बताए ।

बारीमा यतिखेर काँक्रा, सिमी, करेला लटरम्म फलेका छन्, बिक्री गरेर रामै्र आम्दानी भएको बताउँदै तरकारी कृषक बाँस्तोलाले गोलभँंडाले फल दिन शुरु गरिसकेको र जेठको अन्तिम हप्ताबाट उत्पादन शुरु हुने जानकारी दिए ।

वैशाखको १५ गतेदेखि तरकारी बिक्री गर्न शुरु गरेको जानकारी दिँदै अर्का ३६ वर्षीय कोइरालाले अहिलेसम्म सिमी, करेला, काँक्रो बिक्री गरेर कूल रु ३५ हजार आम्दानी गरेको जानकारी दिए ।

‘तरकारी खेतीमा चुनौती छ, त्यति राम्रो ज्ञान छैन, रोगको पहिचान गर्न नसक्दा पहिलो पटकमै सिमी, काँक्रो, करेलाबाट राम्रो फाइदा लिन सकिएन’, उनले भने, ‘उत्पादनकै अवस्थामा रोग लाग्यो बन्दाबन्दीका कारणले समयमा उपचार गर्न प्राविधिकको अभाव भएका कारण नोक्सान व्यहोर्नु पर्‍यो ।’ सोही टनेलमा पुनः तरकारी लगाउने उनीहरूको तयारी छ ।

पाँच वर्ष मलेसिया र पाँच वर्ष दुवई बसेका उनी छुट्टीमा घरमा आएको र बिदा सकिएपछि विदेश जान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको बताउँदै उनले भने, ‘विदेशको मासिक रु एक लाख घरमै परिवारसँगै बसेर तरकारी खेतीबाटै आम्दानी गर्न सकिन्छ भन्ने सपना देखेर विदेशको मोह त्यागेको हुँ ।’

‘उत्पादित तरकारी बिक्री हुँदैन की भन्ने चिन्ता छैन, ग्राहक बारीमै आउने गरेका छन्’, उनले भने, ‘यतिखेर बिहानदेखि साँझसम्म तरकारीको स्याहारसुसार तथा बिक्री वितरण तीनैजनाको दैनिकी बनेको छ ।’

कोरोना भाइरसको जोखिम नदिन गरिएको बन्दाबन्दीका कारण फार्म दर्तामा ढिलाइ भएको छ, कार्यालय खोल्नासाथ दर्ता प्रक्रियामा जाने तयारी भइरहेको उनको भनाइ छ । ६ वटा टनेलमा लगाएको सिर्जना र अमिता जातका एक हजार २०० वटा बिरुवा हुर्के र लटरम्म फलेका छन् ।

विदेश जानुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने दृढ इच्छा शक्ति लिएका अर्का २६ वर्षीय अधिकारीले विदेशमा लामो समय बिताएका दुई जना साथीसँगै काम गर्न पाउँदा खुशी लागेको जानकारी दिए । उनीहरुको फार्ममा अहिले दुई जनाले दैनिक रोजगार समेत पाएका छन् ।

तरकारी बिक्री गरेर मासिक रु एक लाख ५० हजार बचाउने लक्ष्य रहेको बताउँदै उनले भने, ‘हामी जस्ता केही गर्ने सोचका साथ अघि बढेका कृषकले सरकारी सुविधा पाउने हो भने तरकारी खेतीमा निरन्तर लाग्न उत्साह मिल्ने थियो ।’

विषादीको प्रयोग नगरी प्राङ्गारिक तरकारी उत्पादन गरेर उपभोक्ताको भान्छासम्म पु¥याउने लक्ष्यका साथ मौसमी तथा बेमौसमी तरकारी खेतीतर्फ लागेको बताउँदै युवाले सहुलियत दरमा ऋण, गुणस्तरीय बीउ, मल र बजारीकरणमा सरकारले अनुभूति हुने गरी कृषकलाई सहयोग गर्नुपर्ने बताए ।

स्वदेशमा बढी लागत कम उत्पादन हुने हुँदा महँगो पर्ने र बाहिरबाट आएको तरकारी बढी खपत हुने वर्तमान अवस्थामा विदेशबाट आयात हुने फलफूल, तरकारी, माछा, मासुजस्ता उत्पादनमा भन्सार मूल्यमा वृद्धि गरेर स्वदेशी उत्पादनलाई स्थापित गर्न तीनै तहका सरकारको सामूहिक प्रयास अपरिहार्य रहेको उनीहरूको तर्क छ ।

प्रतिक्रिया
  • अध्यक्ष तथा प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७