संक्रमितलाई आइसोलेसनमा लैजान खोज्दा तनाव, प्रहरीद्वारा १२ राउण्ड हवाइफायर


१६ जेष्ठ २०७७, शुक्रबार

रौतहट, १६ जेठ । कोरोना संक्रमित व्यक्तिलाई आइसोलेसनमा लैजान खोज्दा रौतहटको इशनाथ नगरपालिकामा तनाव भएको छ ।

संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि अवस्था तनावग्रस्त बन्न पुगेको हो । संक्रमितलाई उपचारका लागि आइसोलेसनमा लैजाने स्थानीयले रोकेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर नै गर्नु परेको छ ।

इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका दुई व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद बढेपछि शुक्रबार बिहान तनाव भएको हो ।

दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् । प्रहरी र स्वास्थ्यकर्मीमाथि स्थानीय जाइलागेपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट थप प्रहरी घटनास्थल पुगेका थिए । 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७