भारतबाट आउने नेपालीले अब यी २० नाकाबाट मात्र छिर्न पाउने


१६ जेष्ठ २०७७, शुक्रबार
BKM Birgunj NamSankalana

काठमाडौं, १६ जेठ । अहिले दैनिक ठूलो संख्यामा भारतबाट नेपालीहरु स्वदेश फर्किरहेका छन् । देशका सबैजसो सीमा नाकामा सुरक्षाकर्मीले निगरानी बढाएका कारण अहिले भारतबाट भित्रिनेहरुले चोरबाटो समेत प्रयोग गरिरहेका छन् ।

कोरोनाको व्यापक संक्रमण रहेका भारतका विभिन्न ठाउँबाट आएका नेपाली सुरक्षाककर्मीको आँखा छल्दै नेपाल पस्ने क्रम नरोकिएपछि अहिले देशका धेरैजसो जिल्लामा कोरोना संक्रमण थप बढ्ने जोखिम बढेको छ ।

यहि खतरालाई मूल्याङ्कन गर्दै सरकारले अब सरकारले लकडाउनका बेला स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकलाई २० नाका तोकेको छ ।

कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको आज (शुक्रबार) बसेको बैठकले देशभर विभिन्न २० वटा नाका तोकेको हो । जसमा पशुपतिनगर, काकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भित्तामोड, मंगलवा, गौर, वीरगञ्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला रहेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिएका छन् ।

‘यो नाकाहरुबाट प्रवेश गराउने निर्णय कार्यान्वयन छिट्टै ल्याइने छ,’ सचिव बिडारीले भने । निश्चित नाका तोकिदिंदा संक्रमणको जोखिम कम गर्न सकिने निष्कर्षसहित भारतबाट स्वदेश फर्किनेहरुका लागि नाका नै तोकिएको जनाइएको छ । सरकारले भारत हुँदै तेस्रो देशको नागरिकलाई नेपाल प्रवेश गर्न लकडाउन सुरु हुनुअघि देखि नै रोकिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७