संक्रमितको पुनः कोरोना परिक्षण गरिँदै


१७ जेष्ठ २०७७, शनिबार
korona 6

बैतडी, १७ जेठ । बैतडीका कोरोना सङ्क्रमितको पिसीआर परीक्षण पुनः गरिने भएको छ । जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिने भएको हो ।

स्वाब सङ्कलनपश्चात परीक्षणका लागि धनगढी पठाइने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।

जेठ ९ गतेदेखि आइसोलेसनमा रहेका ती युवकमा कोरोना ठिक भए–नभएको जानकारी लिन पिसीआर परीक्षण गरिन लागिएको हो । सङ्क्रमित पुष्टि भएको कम्तीमा पनि एक हप्तामा पिसीआर परीक्षण गर्ने गरिन्छ ।

लगातार दुई पटकसम्म पिसीआर रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमित निको भएको पुष्टि हुने र त्यसपछि डिस्चार्ज गरिने उनले बताए । सङ्क्रमितको एक हप्तापछि २४ घण्टा लगातार दुईपटक पिसीआर परीक्षण गर्ने गरिन्छ ।

गत वैशाख १५ गतेदेखि कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ती युवकमा जेठ ९ गते कोरोना पुष्टि भएको थियो । सङ्क्रमित ती युवक चैत ६ गते भारतबाट आएका बुझिएको छ ।

संक्रमितको सम्पर्कमा रहेका सबैको रिपोर्ट नेगेटिभ

बैतडीमा कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका र आरडिटी पोजेटिभ देखिएका आठ प्रहरीसहित सबै ९९ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

पिसीआर रिपोर्ट नेगेभिट आउनेमा जिल्ला न्यायाधीशसहित अदालका कर्मचारी, प्रमुख जिल्ला अधिकारीसहित प्रशासनका कर्मचारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकसहित प्रहरी, जिल्ला अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मी, सङ्क्रमितका आफन्त र सङ्क्रमितसँगै थुनामा रहेका थुनुवा छन् ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा जेठ ९ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

हिरासतमा रहेका ती युवकमा कोरोना पुष्टि भएसँगै कन्टयाक्ट ट्रेसिङ गरी प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको स्वाब सङ्कलन गरी पिसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । स्वाब सङ्कलन गरी पिसीआर रिपोर्ट नेगेटिभ आएसँगै प्रहरी कार्यालय पनि सामान्य अवस्थामा फर्कन थालेको जनाइएको छ ।

जिल्ला अस्पतालको आइसोलेसन कक्षको क्षमता विस्तार

जिल्ला अस्पताल बैतडीमा आइसोलेसन कक्षको क्षमता विस्तार गरिएको छ । यसअघि तीन शैंयाको क्षमता रहेको आइसोलेसन कक्षको क्षमता विस्तार गर्दै ८ शैंयाको बनाइएको हो ।

कोरोनाका शंकास्पद र सङ्क्रमित व्यक्ति राख्न सहज होस् भनेर आइसोलेसनको क्षमता विस्तार गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७