२७ कोरोना संक्रमित रातभर अस्पतालको गेट बाहिरै, आज विहान मन्त्रीले गराए भर्ना


१७ जेष्ठ २०७७, शनिबार
korona dharan

सुनसरी, १७ जेठ । अस्पतालले भर्ना नलिंदा रातभर गेट बाहिरै बस्न वाध्य झापाका २७ जना कोरोना संक्रमित बिरामीले आज (शनिबार) विहान बल्ल भर्ना हुन पाएका छन् ।

प्रदेश–१ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले झापाका २७ संक्रमितलाई आज (शनिबार) बिहान ९ बजे अस्पतालमा भर्ना गराएका हुन् ।

मन्त्री घिमिरे शनिबार बिहानै धरान पुगेर संक्रमितहरुलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गराएका हुन् । शुक्रबार कोभिड–१९ पुष्टि भएका जिल्लाका २७ जना संक्रमितलाई शुक्रबार राति ११ बजेतिर धरान पुर्‍याइएको थियो ।

कचनाकवल गाउँपालिकाबाट संक्रमितहरु ल्याएर आएको गाडीलाई प्रतिष्ठानको पार्किङ क्षेत्रमा रातभर राख्न वाध्य पारिएको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६७ जना संक्रमित छन् । अस्पतालमा तयारी अवस्थाको बेड ७० वटा मात्र भएकाले भर्ना लिन समस्या भएको प्रतिष्ठानका प्रवक्ता डा. निर्देश सापकोटाले बताएका छन् ।

गाउँपालिकाबाट समन्वय नगरी आएका कारण समस्या भएको बताएका छन् । तर जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले अस्पतालसँग समन्वय गरेर नै बिरामीलाई ल्याइएको बताएका छन् । प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले विरामीलाई भर्ना नगर्नु अस्पतालको लापरवाहीको पराकाष्टा भएको टिप्पणी गरेका छन् ।

बिहीबार अस्पताल प्रशासनसँगको छलफलमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले अस्पतालका २०० बेडमध्ये १५० वटा खाली रहेको जानकारी आफूलाई दिएको बताउँदै उनले भने, ‘समस्या भए मलाई भनेको भए हुन्थ्यो, यो लापरवाहीको पराकाष्टा हो ।’

तर, धरानस्थित कोभिड अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरु गेट बाहिरै रात काट्न वाध्य भएका थिए ।

झापामा कोरोना संक्रमितको संख्या १०७ पुगेको छ । उनीहरुमध्ये कचनकवल गाउँपालिकामा मात्र एक सय जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित दुई जना उपचार पछि घर फर्किएका छन् भने १०५ जना उपचाररत छन् । उनीहरुमध्ये १० जनाको विराटनगर तथा ९५ जनाको धरानस्थित कोभिड अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७