पश्चिमी वायुको प्रभाव : काठमाडौं उपत्यकासहित देशैभर वर्षा


१७ जेष्ठ २०७७, शनिबार
kathamandu

काठमाडौं, १७ जेठ । पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ ।

पश्चिमी वायुको प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए । उनका अनुसार वर्षा हुने भनेर लगातार दिनभर नभई बिहान र बेलुकाको केही समय हुनेछ ।

दिउँसो भने मौसम सफा नै रहने बताइएको छ । हाल देशभर सामान्य बदली रही केही स्थानमा वर्षा भएको छ । कतिपय स्थानमा भने अपराह्नपछि सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

आइतबार देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको औंल्याएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै दिपायलमा १.४, धनगढीमा ७.५, पोखरामा ३.६ र नेपालगञ्जमा ३.२ मिलिमिटर वर्षा भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७