झापामा थप ५२ जनालाई कोरोना, झापामा संक्रमितको संख्या १०५ पुग्यो


१७ जेष्ठ २०७७, शनिबार
korona 1

झापा, १७ जेठ । झापामा आज (शनिबार) थप ५२ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

झापाको कचनकवल गाउँपालिका–४ केचनास्थित महेन्द्र रत्न माविको क्वारेन्टाइनमा बसेका ९९ जनामध्ये ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिए । क्वारेन्टाइनमा रहेका ५२ जनामा कोरोना देखिएपछि सँगै रहेकामा डर बढेको छ ।

सो क्वारेन्टाइनमा भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेकाहरुलाई राखिको थियो । हिजो (शुक्रबार) झापामा २७ जनामा पुष्टि भएको थियो । अर्का भद्रपुरका एक जनासहित शुक्रबार झापाका २८ जनामा संक्रमण पुष्टि भएको हो ।

कचनकवलमा मात्रै संक्रमितको संख्या सय पुगेको छ । भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेकालाई सीमा वारि आएलगत्तै नियन्त्रणमा लिएर क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राख्ने गरिएको छ ।

कचनकवलमा लक्ष्मी मावि बनियानी, जानकी आधारभूत विद्यालय पाठामारी, लक्ष्मीप्रसाद देवकोटा मावि सुकुनाडिघी, महेन्द्र रत्न मावि केचना, पथरिया मावि पथरिया र बुद्ध आधारभूत विद्यालय घेराबारीमा क्वारेन्टाइन निर्माण गरिएको छ ।

६ मध्ये लक्ष्मी मावि र बुद्ध आधारभूतमा बसेकाहरुको पीसीआर परीक्षणका लागि शुक्रबार स्वाब नमुना संकलन गरिएको थियो । अन्य चारवटा क्वारेन्टाइनमा रहेकाहरुमा भने संक्रमण पुष्टि भइसकेको छ । झापामा अहिलेसम्म १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमण पुष्टि भएकामध्ये २ जना निको भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७