संसदबाट एमसिसी अनुमोदन नभएसम्म सबै काम रोक्ने नेकपा सचिवालय वैठकको निर्णय


१७ जेष्ठ २०७७, शनिबार
Nekapa sachibalaya

काठमाडौं, १७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (शनिबार) बसेको सचिवालय बैठकले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट अनुमोदन नभएसम्म बाँकी काम रोक्ने निर्णय गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको अनुसूचीमा समेत यो विषय उल्लेख गरेपछि नेकपाले शनिबार बिहान अनौपचारिक आकस्मिक बैठक बोलाएको थियो ।

नेकपा सचिवालय बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावललाई पनि बोलाइएको थियो । बैठकमा नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टीमा छलफल नगरी किन विधेयकमा उल्लेख गरेको भन्दै आपति जनाएका थिए ।

बजेट कानुन भएको उल्लेख गर्दै पार्टीको अपमान गर्ने गरी किन ल्याइयो भन्दै आक्रोश व्यक्त गरेका थिए । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रममा एमसीसी संसदको अंग बनेको भन्दै सम्बोधन गरेकाले बजेटमा पनि उल्लेख गरिएको जानकारी गराएका थिए । उनले नीति तथा कार्यक्रम अनुनसार बजेट बनाएको बताउँदै एमसीसी संसदबाट अनुमोदन भए बजेटमा उल्लेख गरिएअनुसार अघि बढ्छ नभए खारेज हुने धारणा राखेका थिए ।

प्रधानमन्त्रीले पनि पारित भए अघि बढाउने नभए अघि नबढाउने बताएका थिए । नेकपा नेता रावलका अनुसार एमसीसी अनुमोदन नभएसम्म कुनै पनि काम अघि नबढ्ने विषयमा निष्कर्ष निकालिएको बताए ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधिनतामा सम्झौता गर्नेगरी अघि नबढ्ने बताएका थिए भने झलनाथ खनाल, माधव नेपाल, गौतम, नारायणकाजी श्रेष्ठ, नेता रावललगायतले अहिले बजेटमा किन उल्लेख गरिएको भन्दै प्रश्न गरेका थिए ।

बैठकपछि प्रवक्ता श्रेष्ठले अहिले एमसीसी सम्झौताका बाँकी काम प्रधानमन्त्रीले तत्काल अघि नबढाउन निर्देशन, पार्टीको सचिवालय बैठक तत्काल बोलाउने, त्यसको मिति दुईजना अध्यक्षले तय गर्ने र एमसीसी पारित गर्ने कि नगर्ने भन्ने संसदलाई नै निर्णय गर्न दिने विषयमा छलफल भएको बताए । विवादित एमसीसीबाट रु. ५ अर्व ७४ करोड ७४ अनुदान आउने अनुमान बजेटको अनुसूचीमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७