भारतमा रेल खुलेपछि स्वदेश भित्रिनेको चाप बढ्यो, क्वारेन्टिन बढेन

पाँच दिनमै भित्रिए १० हजार, सबैको भएन कोरोना परीक्षण


१७ जेष्ठ २०७७, शनिबार
kwarentine 2

कञ्चनपुर, १७ जेठ । भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश फर्कने नागरिकहरुको संख्या दैनिक बढ्दो रहेको छ । फर्किएकालाई अहिले सीमानाकाबाटै सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा ल्याएर राख्न थालेका छन् ।

बढ्दो चापले क्वारेन्टिनको व्यवस्थापन मिलाउन स्थानीय तहलाई निकै चुनौती थपिएको छ । बस्ने, खानपानको व्यवस्था मिलाउनेसँगै व्यवस्थित तरिकाले राख्नका लागि स्थानीय तहमा कार्यरत कर्मचारीको व्यस्तता बढेको छ । पाँच दिनको अवधिमै पश्चिमी सीमा नाकाबाट १० हजार बढी स्वदेश भित्रिएका छन् ।

तीमध्ये आधा बढी कञ्चनपुरका बासिन्दा छन् । कारोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै क्वारेन्टिनमा बस्नेहरुलाई सामाजिक दूरी कायम गराउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउन पोषणयुक्त खानेकुराको व्यवस्था गराउने कार्य गरिंदै आएको छ । शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने, ‘स्वास्थ्य जाँचकार्यलाई समेत त्यत्तिकै ध्यान दिन थालेका छौं ।’

क्वारेन्टिनमा बस्दै आएका सबैको किट अभावमा आरडिटी र पिसीआर परीक्षण हुन नसकेको छैन । जोखिमयुक्त क्षेत्रबाट आएका र जोखिम हुनसक्ने व्यक्तिको कोरोना परीक्षण हुँदै आएको उनले जानकारी दिए ।

यसैगरी दैनिक स्वदेश फर्कनेको चाप बढ्ने हो भने क्वारेन्टिनमा राख्न समस्या त हुन्छ नै सम्हाल्न समेत गाह्रो हुन्छ’, उनले भने । पाँच दिनअघिसम्म रित्तो अवस्थामा रहेका क्वारेन्टिनमा सम्हाल्न नसकिने गरी नागरिक आइपुगेका छन् । बढ्दो चापलाई मध्यनजर गर्दै जिल्लाका नौवटै स्थानीय तहले क्वारेन्टिनको क्षमतामा वृद्धि गरेका छन् ।

नगरपालिकामा मात्रै सीमित क्वारेन्टिनलाई वडा–वडामा विस्तार गरिएको छ । वडाध्यक्षको संयोजकत्वमा क्वारेन्टिन व्यवस्थापनका लागि समिति गठन गरिएको छ । नगरपालिकामा क्वारेन्टिन व्यवस्थापन मूल समिति रहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार नौवटै स्थानीय तहमा क्वारेन्टिनको संख्या १३७ रहेको छ ।

क्वारेन्टिनमा शैंया संख्या छ हजार १९४ र क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या पाँच हजार ८९२ रहेको छ । हालसम्म क्वारेन्टिन अवधि पूरा गरी ८४८ घर फिर्ता भइसकेका छन् । विदेशबाट फर्किएका व्यक्तिको संख्या भने ११ हजार ५२३ रहेको छ ।

कञ्चनपुरमा क्वारेन्टिनको संख्या भीमदत्त नगरपालिकामा १२५, महाकालीमा २४, बेदकोटमा १२, शुक्लाफाँटामा १८, कृष्णपुरमा १७, पुर्नवासमा १४, बेलौरीमा सात, लालझाडीमा नौ, बेलडाँडीमा ११ गरी १३७ रहेको छ ।

क्वारेन्टिनमा शैंयाको संखया भीमदत्त नगरपालिकामा ८०० , महाकालीमा दुई हजार, बेदकोटमा ४४२, शुक्लाफाँटामा ७५०, कृष्णपुरमा ७६२, पुर्नवासमा ४५०, बेलौरीमा ३३५, लालझाडीमा २२०, बेलडाँडीमा ४३५ गरी छ हजार १९४ रहेको छ ।

क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या भीमदत्त नगरपालिकामा ७०१, महाकाली नगरपालिकामा एक हजार १९९, बेदकोट नगरपालिकामा ४०७, शुक्लाफाँटा नगरपालिकामा ७००, कृष्णपुर नगरपालिकामा ७६२, पुर्नवास नगरपालिकामा ४४०, बेलौरी २७० लालझाडी गाउँपालिकामा २१९ र बेलडाँडी गाँउपालिकामा ३९४ गरी पाँच हजार ८९२ जना छन् ।

स्वदेश फर्कने सबैलाई अनिवार्य रूपमा क्वारेन्टिनमा राखिँदै आएको छ । हालसम्म स्वाब परीक्षण ५९७ र आरडिटी दुई हजार ८९९ जनाको मात्रै गरिएको छ । फर्केका नागरिकलाई सम्बन्धित नगरपालिकाले सीमा क्षेत्रबाट क्वारेन्टिनमा ल्याउन भरपर्दो साधानको अभाव छ ।

टिपर र ट्रकलगायतका साधनमा एकै ठाउँमा राखेर ल्याउने कार्यले कारोना भाइरसको सङ्क्रमणको जोखिम निकै बढाएको बताइएको छ । सामाजिक दूरी कायम गरी बसलगायतका साधानमा भारतबाट फर्कनेलाई ल्याइनुपर्ने स्थानीय जानकारको भनाइ छ । सीमा क्षेत्रबाट नागरिक ओसार्न प्रयोग गरिएका सवारी साधनलाई समेत स्यानिटाइज नगरिंदा जोखिम बढेको बताइन्छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७