कमल थापाको एउटै निर्णयले प्राधिकरणलाई करोडौंको घाटा
काठमाण्डौं, ९ माघ : उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री कमल थापाको एउटा निर्णयको कारण नेपाल विद्युत प्राधिकरणलाई करोडौंको घाटा भएको छ ।
कमल थापाको निर्णयको कारण नेपाल विद्युत् प्राधिकरण ३ अर्ब २६ करोड ३८ लाख ४८ हजार रुपैयाँ घाटामा परेको छ । खिम्ती र भोटेकोशीमा गरिएको डलर विद्युत् खरिद सम्झौता (पीपीए) का कारण आर्थिक रूपमा थलिएको प्राधिकरणलाई थप घाटाको अवस्था सिर्जना भएको छ । प्राधिकरण चरम घाटा पर्ने गरी नयाँ कार्यविधि आएपछि पनि पूरानै कार्यविधिअनुसार अघि बढ्ने गरी मन्त्री थापाले गरेको निर्णयले प्राधिकरण झन् घुँडा टेक्ने अवस्थामा पुगेको हो ।
कार्यविधि कार्यान्वयनका लागि ५ माघमा विद्युत् प्राधिकरणले नयाँ दरको आधारमा वार्षिक १३ करोड र २५ वर्षे पीपीए अवधिमा २ अर्ब २६ करोड तथा हालको अन्तर्राष्ट्रिय मूल्यका आधारमा वार्षिक ४९ करोड र २५ वर्षको १२ अर्ब २७ करोड घाटा प्रत्यक्ष रूपमा व्यहोर्नु पर्ने भएको छ । ऊर्जा मन्त्रालयले विद्युत नियमावली २०५० को नियम ९४ को ‘क’ दफामा रहेको अधिकार प्रयेग गरी ल्याएको ग्रिड कनक्टेड सौर्य (सोलार) विद्युत् ऊर्जा विकाससम्बन्धी कार्यविधिमा प्रतियुनिट ७.३० रहेकोमा पूरानै कार्यविविधको आधारमा २१ सोलार आयोजनासँग पीपीए गर्न ३ माघ ०७४ मा उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्रीस्तरीय निर्णय गरिएको छ ।