क्वारेन्टिनमा बसेकाबाटै कुटिए प्रहरी, फुस्कियो घुँडा


१७ जेष्ठ २०७७, शनिबार
Nepal police

सप्तरी, १७ जेठ । क्वारेन्टिनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बसेकाबाट आज कुटिएका छन् ।

क्वारेन्टिनमा बसेका दुई र उनीहरुलाई भेट्न आएका दुई जनाले मिलेर कुटपिट गर्दा प्रहरी कमलेश साह घाइते भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ । कुटपिटबाट घाइते प्रहरी साहको दाँहिने घुँडाको माथिल्लो भाग (पटेला) फुस्किएको र अनुहार सुन्निएको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब डम्बर गुप्ताले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपमा प्राथमिक उपचारपछि घाइते साहलाई उपचारका लागि कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल भर्ना गरिएको छ । कोभिड–१९ को सङ्क्रमण फैलिनबाट रोक्न एकान्तबासका लागि बनाइएको क्वारेन्टिनमा भारतलगायत बाहिरबाट आएकालाई सुरक्षित राखिए पनि परिवारका सदस्य र गाउँले आएर अनावश्यक भिडभाड गर्ने गरेका प्रहरीको गुनासो छ ।

क्वारेन्टिनमा बसेकालाई भेटघाट गर्न आएका मानिस टाँसिएर कुराकानी गरिरहेका देखि दूरी कायम राखी अलग्गै बस्न भनेकामा क्वारेन्टिनमा बसेका र उनलाई भेटन आएका मिलेर बाँसको लाठीले समेत कुटपिट गरेको घाइते साहले बताए ।

ज्यान जोखिममा राखेर जनताको सेवामा खटिएका सुरक्षाकर्मीमाथि नै भएको कुटपिटको घटना निन्दनीय भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।

कुटपिटमा संलग्नमध्ये बाहिरबाट आएका एक जना आरोपितलाई पक्राउ गरिएको उनले बताए । क्वारेन्टिनमा रहेका आरोपित हाल क्वारेन्टिनमै प्रहरी निगरानीमा रहेका प्रहरीले जनाएको छ । उक्त क्वारेन्टिननमा हाल ३१ जना रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७