जेठ ३२ गतेसम्म लकडाउन थप्‍ने सरकारको निर्णय


प्रकाशित मिति : 30 May, 2020 9:38 pm

काठमाडौँ, १७ जेठ : सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।  शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाले बताए । साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ ।

मन्त्री खतिवडाले परिस्थिति हेरि कुनै क्षेत्रमा लकडाउन खुकुलो बनाउने वा कतै कडा पार्ने भन्ने बारे कोभिड उच्चस्तरीय समितिले निर्णय गर्ने पनि बताए ।

मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । शनिबारै बसेको सुरक्षाा परिषद्को बैठकले विदेशबाट आउने नेपालीको व्यवस्थापनमा र संक्रमण बढी फैलिएको स्थानमा सेना परिचालन गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्