धूमपान कोरोनाका लागि खतरा


१८ जेष्ठ २०७७, आईतवार
smoking corona 20200531001620

काठमाडौं, १८ जेठ । स्वस्थ र दीर्घजीवी बन्न चाहनुहुन्छ ? त्यसो भए धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन आजै त्याग्नुहोस् । कोरोना भाइरस (कोभिड–१९) को जोखिम पनि सूर्ति सेवनकर्तामा बढी छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रकाशन गरेको प्रतिवेदन अनुसार, कोभिड १९ को संक्रमण सुर्तीजन्य पदार्थको सेवनकर्तामा गम्भीर देखिएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका सहप्राध्यापक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम भन्छन्, ‘धूमपानले कोरोना संक्रमणको जोखिम बढाउँछ । धूवाँले फोक्सोमा असर गर्छ । स्वासप्रश्वास प्रणालीमा क्षति पुर्‍याउँछ । रोग प्रतिरोधात्मक क्षमता घटाउँछ । त्यस्तालाई कोरोना संक्रमणले जटिलता ल्याउँछ ।’

न्युमोनिया, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी), ब्रोङकाइटिस, दमलगायत श्वासप्रश्वासजन्य समस्या निम्त्याउने कारक तत्व धुम्रपान भएको डा. बमको भनाइ छ । सु्र्तीजन्य पदार्थ सेवनले फोक्सोमा पहिल्यै क्षति गराइसक्ने हुँदा कोभिड १९ ले फोक्सोलाई झन बढी असर गर्ने डा. बमले बताए ।

श्वास प्रश्वासका साथै मस्तिष्क, मुटु र रक्त संचार प्रणालीलाई समेत धुम्रपानको सेवनबाट असर पुग्छ । क्यान्सर, दम, मुटुरोग, खोकी, मधुमेह जस्ता दीर्घ रोग लाग्नुका प्रमुख कारण पनि सुर्तीजन्य पदार्थ भएको चिकित्सकको भनाई छ ।

सर्जिकल अङकोलोजी सोसाइटी अफ नेपालका अध्यक्ष एवं बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.प्रकाशराज न्यौपानेले धुमपानका कारण रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने हुँदा कोरोना संक्रमण भए मृत्यु हुने संभावना बढी भएको बताए । उनले भने, ‘सुर्तीजन्य वस्तु सेवन गर्नेलाई कोरोना संक्रमणले गम्भीर बनाउँछ ।

रोग प्रतिरोधात्मक क्षमता न्यून हुने भएकोले मृत्यु हुने जोखिम पनि बढी हुन्छ ।’ डा. न्यौपानेका अनुसार, धुम्रपानबाट फोक्सो, पिसाबथैली, मुख, जिब्रो, घाँटी, खानेनली लगायत शरीरका विभिन्न अंगको क्यान्सर हुन्छ ।

वरिष्ठ छाति रोग विशेषज्ञ डा. बम भन्छन, ‘अभिभावकले धुम्रपान सेवन गरिरहेका छन् भने छेउमा बसेका बालबालिकामा प्रभाव पार्छ । बालबालिकाको शारिरिक एवं मानसिक विकासमा नकारात्मक असर गर्छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार, नेपालमा हरेक वर्ष २७ हजार व्यक्तिको मृत्यु धुमपान तथा सुर्तिजन्य पदार्थ सेवनका कारण हुने गरेको छ । हरेक तीनजना नेपालीमध्ये एक जना धुम्रपान तथा सुर्तिजन्य पदार्थको अम्मली छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का निर्देशक डा. बासुदेव पाण्डेका अनुसार, देखासिकी, साथीहरुको संगत, तनाबबाट मुक्त भइने भ्रम सेवनकर्तामा देखिन्छ । ३१ मे लाई विश्व धुम्रपानरहित दिवसका रुपमा विश्वभर मनाइन्छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७