नवराजहरुको हत्या : दलितमाथि दलनको निरन्तरता


१८ जेष्ठ २०७७, आईतवार
na

जुन कुरा नहोस् भन्ने थियो आज त्यै भइरहेको छ । जे बोल्नु नपरे हुन्थ्यो भन्ने थियो आज त्यै बोलिरहुन परेको छ । जे बारेमा लेख्नु नपरे हुन्थ्यो भन्ने थियो आज त्यै लेखिरहनुपरेको छ । कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्ला चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा भएको योजनाबद्ध विभत्स हत्याको घटनाले स्तब्ध बनाएको छ । सिंगो देश नै शोकाकुल बनेको छ ।

२०७७ जेष्ठ १० गते शनिबारका दिन पश्चिम रुकुममा भएको नरसंहारमा नवराज विक, गणेश बुढा, सन्दीप (सञ्जु) विक, लोकेन्द्र सुनार र टिकाराम सुनार मात्रै मारिएनन्स उनीहरुसँगै विधिको शासन, सामाजिक न्याय र मानवीय संवेदना पनि मरेको छ ।

उनीहरुसँगै भेरी नदिमा बगाइएको छ । गोविन्द शाही मात्रै वेपत्ता भएका छैनन्स शासन व्यवस्था परिवर्तनसँगै बनाइएका संविधान, ऐन र कानूनहरुमाथिको भरोसा वेपत्ता भएको छ । दर्जनौ युवाहरु मात्रै घाइते भएका छैनन्स यो विभत्स घटना सुन्ने जान्ने सबैको मन छियाछिया भएको छ ।

दलित भएकै कारणले, दलित समुदायको सहअस्तित्व स्वीकार गर्न नसकेको कारणले पश्चिम रुकुमको चौरजहारीमा भएको घटना पहिलो होइन र यो अन्तिम पनि होइन । उत्पीडित दलित समुदाय हिन्दू वर्णाश्रम व्यवस्था जगमा विद्यमान विभेदकारी ब्राह्मणवादी संरचना, सोंच र व्यवहारको शिकार करिब तीन हजार बर्ष अगाडिदेखि भइरहेको अवस्था छ ।

आज विश्व जगत चन्द्रमा र मंगल ग्रहमा मानव समाजको अस्तित्वलाई स्थापित गर्न लागि परेको अवस्था छ । तर नेपाली समाजमा उत्पीडित दलित समुदाय मान्छेको दर्जामा जिवन जिउनको लागि लडिरहुनु परेको छ ।

यो जगमा बिना हिच्किचाहट भन्न सकिन्छ कि शासन व्यवस्था मात्रै फेरेर समाजमा विद्यमान विभेदकारी संरचना, सोंच र व्यवहार नफेरिदो रहेछ । यसको लागि अब सांस्कृतिक क्रान्तिको बाटोमा एकजुट भएर अगाडि बढ्नु अपरिहार्य छ । जसले गर्दा आगामी दिनमा नवराजहरुको नरसंहारमा पूर्णविराम लाग्नेछ ।

जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८ कार्यान्वयनमा आएपछि पछिल्लो नौ बर्षमा देशमा दलित भएकै कारण अन्तरजातीय प्रेम, अन्तरजातीय विवाह, हत्या, छुवाछूत, बोक्सीको आरोपमा कुटपिट, चुल्हो छोएको, बलत्कारपछि हत्यालगायतका घटनामा २२ जनाको हत्या गरिएको छ । यसबीचमा भएका १७ वटा घटनामा २२ जनाको हत्या गरिएकोबाट दलित समुदायमाथिको दमन, शोषण र विभेद कुन रुपमा रहेको छ भन्ने छर्लङ्ग हुन्छ ।

पश्चिम रुकुममा भएको नरसंहारमा हत्या गरिएका युवाहरुसँगै २०६८ सालदेखि हालसम्ममा मनबीरे सुनार (कालिकोट), शिवशंकर दास (सप्तरी), सेदे दमाई (दैलेख), झुमा विक (ताप्लेजुङ्ग), संगीता परियार (तनहुँ), राजेश नेपाली (पर्वत), अस्मिता सार्की (झापा), लक्ष्मी परियार (काभ्रे), अजित मिजार (काभ्रे), श्रेया सुनार (कास्की), मना सार्की (कालिकोट), रुपमतीकुमारी दास (मोरङ्ग) दितिया रेष्मा रसाईली (धनुषा), मायाँ विक (कैलाली), टीकाराम नेपाली (रुकुम) र अंगिरा पासी (रुपन्देही) को हत्या भएको छ, ज्यान लिइएको छ ।

आज देशभरबाट माग भइरहेको छ कि पश्चिम रुकुम हत्याकाण्डको पींडितले न्याय पाउनु पर्दछ, क्षतिपूर्ति पाउनु पर्दछ । दोषीलाई हदैसम्मको कारबाही हुनुपर्दछ । वेपत्ताको खोजी हुनुपर्दछ र घाइतेको उपचार हुनुपर्दछ । कुनै पनि किसिमको राजनीतिक दबाव अनि प्रभावविना घटनाको सत्यतथ्य छानविन हुनुपर्दछ र यसको लागि उच्चस्तरीय संसदीय छानविन आयोग गठन हुनु पर्दछ । यसैकोे निमित्त देशभर शान्तिपूर्ण ढंगले दबाव र खबरदारी निरन्तर जारी छ ।

अहिले पनि पश्चिम रुकुममा भएको योजनाबद्ध विभत्स हत्याकाण्डलाई ढाकछोप गर्न, तोडमोड गर्नको लागि समाजमा असमानता र विभेदको मलजल गर्ने, यसको अन्त्य नहोस भन्ने पंक्ति सल्बलाईरहेको देखिन्छ । यो अत्यन्तै निन्दनीय पक्ष हो, घृणित पक्ष हो ।

एउटा दलित युवा र गैरदलित युवतीबीचको प्रेम सम्बन्धलाई विवाहमा परिणत हुन नदिनको लागि योजनाबद्ध रुपमा होनहार युवाहरुको ज्यान लिनेगरी रचिएको प्रपञ्चलाई यो वा त्यो बहानामा ढाकछोप गर्ने, तोडमोड गर्ने र दोषीलाई उन्मुक्ति दिनको लागि खेलोमेलो गर्ने सबै अपराधीहरु हुन् । जसको हिसाब किताब उत्पीडित दलित समुदायले राख्छ नै, समयक्रममा हुँदै जान्छ नै ।

रुकुम हत्याकाण्ड नेपाल सरकारको पनि परिक्षा हो । यो करिब दुई तिहाईको सरकारको एउटा मुख्य आधार भनेको उत्पीडित दलित समुदायको विश्वास र मत हो । जसले परिवर्तनको हरेक संघर्ष र लडाईंहरुमा अग्रभागमा उभिएर आफ्नो अभिभारा पुरा गरेको छ, दायित्व निभाएको छ ।

रुकुम हत्याकाण्डलाई लिएर नेपाल सरकारले चाल्ने कदम र गर्ने निर्णयलाई मुलुकका सिंगो उत्पीडित दलित समुदायले नजिकबाट नियालीरहेका छन्, जसबाट उत्पीडित दलित समुदायलाई हेर्ने सरकारको दृष्टिकोण र गर्ने व्यवहार छर्लङ्ग हुनेछ ।

आम मानिसलाई हेक्का हुन जरुरी छ कि जातीय भेदभाव र छुवाछूत उत्पीडित दलित समुदायको मात्रै समस्या होइन । यो सिंगो देशको समस्या हो, आम नेपालीको समस्या हो । दलित भएकै कारण मानिसको हत्या गरेर, अछूत बनाएर, अपमान र विभेद गरेर नयाँ नेपाल बन्न सक्दैन । समृद्ध नेपाल सुखी नेपालीको महाअभियान पुरा हुन सक्दैन ।

नेपाली समाजमा दलित समुदायभित्रकै जातजातिहरुबीच छुवाछूत छ भन्दै समाजमा भएका अल्पज्ञानीहरु सन्दर्भलाई तोडमोड गर्न तल्लीन छन् । जातीय भेदभाव र छुवाछूतका अवशेषहरु तिनले भनेजस्तै विश्वकर्मा र परियार, परियार र मिजार, विश्वकर्मा र मिजारलगायतका बीचमा छ नै । यति भन्नलाई हिच्किचाउनु पर्दैन ।

तर दलित समुदायमा देखिएको आंशिक विभेदको जगमा आफूले विभेद गर्न पाउनुपर्छ भन्ने उच्च अहंकारवादी ब्राह्मणवादी सोंच भएका मानिसहरुलाई थाहा हुनै पर्दछ कि जातीय भेदभाव र छुवाछूत बाहुन र क्षेत्रीका बीचमा छ, क्षेत्री र जैसीका बीचमा छ, अरु अरुमा छ जुन दलित समुदायभित्र भन्दा पींडादायी र ह्रदयविदारक छ ।

एउटा बाहुन परिवारको युवाले क्षेत्री वा जैसी विवाह गरेर ल्यायो भने बाहुनको चुल्होमा क्षेत्री वा जैसी बुहारी प्रवेश पाउँछिन् कि पाउँदिनन् ? यद्यपि दलित समुदायमा विभेद देख्ने आफ्नो आङ्गको भैसी नदेख्ने विभेदकारी सोंच र व्यवहार भएका मानिसहरु स्वयमको मात्र दोष होइन । दोष त करिब तीन हजार बर्ष अगाडिदेखि विद्यमान हिन्दू वर्णाश्रम व्यवस्था र त्यसको जगमा विद्यमान ब्राह्मणवदी सोंच र व्यवहार हो ।

एउटा मानिसको प्राकृतिक ढंगले एक पटक मृत्यु हुन्छ । तर एउटा उत्पीडित दलित समुदायको मानिस मानवीय जिवनमा पटक–पटक मरिरहेको छ । विभेद र असमानताको भोगाईले दिनहुँ मरिरहेको छ, मरे तुल्यको जीवन विताईरहेको छ ।

कहिले साइत बिग्रेको भन्दै बाटोमा, कहिले धारो छुएको निहुँमा धारा पँधेरोमा, कहिले भित्र छिरेको नाममा घरमा, मन्दिरमा । यी त प्रतिनिधि उदाहरणहरु मात्रै हुन् । ढोंगी उच्च जातीय अहंकारवादी मानिसहरुलाई के थाहा यो भोगाईको पींडा र वेदना ! जुन कुरा कहिल्यै भोग्नु परेकै छैन ।

रुकुम हत्यकाण्ड दलितमाथि दलनको निरन्तरताको हो । मुलुकमा करिब १३ प्रतिशतको संख्यामा रहेको उत्पीडित दलित समुदाय यसप्रकारको दलनको क्रमभंग चाहन्छ । सिंगो देश एकजुट भएर समाजमा कलंकको रुपमा रहेको जातीय भेदभाव र छुवाछूतको कलंक समूल नष्ट गर्न लाग्नु पर्दछ ।

जसले गर्दा फेरि पनि रुकुम हत्याकाण्डले निरन्तरता नपाओस्, दलितमाथिको दलनले निरन्तरता नपाओस्, नवराजहरुको नरसंहार नहोस् । यसका लागि सबै एकजुट भएर विभेदकारी संरचना, सोंच र व्यवहारको अन्त्यको लागि सामाजिक–सांस्कृतिक रुपान्तरणको दिशामा अघि बढौं ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७