ठाकुर गैरे : किनारामा पारिएका ‘कमरेड’


९ माघ २०७४, मंगलवार
thakur gaire uml youth leader
  • राजेश राई

नेकपा (एमाले)का यूवा ठाकुर गैरे नेकपा (एमाले) भित्र मात्रै होइन पार्टी बाहिर पनि उत्तिकै लोकप्रिय छन् । राष्ट्रिय स्वाभिमान र जनजीविकासँग गासिएका आन्दोलन र अभियानका नेतृत्वकर्ताको हिसाबले उनलाई अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुले पनि उत्तिकै मान्छन् । पार्टी काममा मात्रै होइन पार्टीको सार्वजनिक छवीलाई उजिल्याउन साझा मोर्चाहरुमा उत्तिकै क्रियाशिल छन् । तर, गैरेले आम मान्छेको मन जिते पनि नेताहरुको ‘मन’ जित्न सकेनन् । छैनन् । आफै लडेर हासिल गर्नुपर्ने मोर्चामा विजय प्राप्त गरिरहेका गैरेले पार्टीले दिएर जित्नुपर्ने मोर्चामा भने जिम्मेवारी पाएका छैनन् । अवसर भेटेका छैनन् ।

त्यही भएर उनी एमालेभित्रका उपेक्षित नेता अर्थात् किनारामा पारिएका नेता हुन् । उनकै सहयात्रीहरु भन्छन्,‘ ‘किनारामा पारिएका कमरेड ।’  पार्टीले जिम्मेवारी र अवसर नदिएपनि पार्टीको सार्वजनिक जीवनलाई उज्यालो पार्नका लागि आफैले ‘फोरम’ सृजना गरेर क्रियाशिल एमाले यूवा नेता गैरे एमालेभित्रका ‘सिमान्तकृत’ नेता हुन् । जो अवसर र जिम्मेवारीबाट सधैं वञ्चित छन् । किनारामा पारिएका छन् ।

thakur gaire uml youth leader

सधैं सक्रिय
पाल्पाका गैरे नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको पूर्व अध्यक्ष समेत हुन् । अध्यक्ष भएको बेला उनको नेतृत्वमा भएको राष्ट्रिय स्वाधिनता र शैक्षिक आन्दोलन आज पनि सम्झना गरिन्छ । त्यसो त उनी ०४६ को जनआन्दोलनदेखी नै सक्रिय छन् । जनआन्दोलनको उनी सक्रिय सहभागी हुन् । उनी सम्झीन्छन्, ‘बहुदलीय व्यवस्था घोषणा गर्दाका ठिक तीन दिनअघि बिहानै पञ्चायतलाई मृत घोषणा गर्ने, पञ्चायतरूपी मृत शवलाई गाउँ डुलाउनका लागि गाउँभरिबाट शंख बटुल्ने गरी योजना बनायौँ । गाउँ डुलेर शंख पनि बटुल्यौँ ।’ जनआन्दोलन सफलतापछिको पहिलो जनसभाका कार्यक्रम सञ्चालक थिए उनी ।

जनआन्दोलनपछि उनी विद्यार्थी राजनीतिमा सक्रिय भए । त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा ०४९ र ०५१ मा म लगातार दुई कार्यकाल स्ववियु सचिवमा भए । ०५५ सालमा तत्कालीन अध्यक्ष योगेश भट्टराईको नेतृत्वमा भएको राष्ट्रिय स्वाधीनताका पक्षमा गरिएको कालापानी मार्च होस् या रवीन्द्र अधिकारी अध्यक्ष भएपछि मातृभूमिको सन्देश कार्यक्रम उनी त्यसका एकजना जोदाहा थिए । उनी अध्यक्ष भएको बेला गरिएको ‘सुस्ता बचाऊ अभियान’ले सबैको मन जितेको थियो । उनको नेतृत्वमा पाँच हजार ६ सय विद्यार्थीसहित त्यतिवेला हामीले मार्च पास गरिएको थियो । पहिलो जनआन्दोलनमा पाल्पामा उत्रिएका गैरे दोस्रो जनआन्दोलनमा काठमाडौंमा थिए । दोस्रो जनआन्दोलनका चर्चित विद्यार्थी नेता मध्येका उनी पनि एक हुन् ।

विद्यार्थी आन्दोलनबाट बिदा भएपछि पनि निरन्तर सक्रिय भए । उनको नेतृत्वमा नाकाबन्दीको विरोध र राष्ट्रिय स्वाधीनताका पक्षमा अभियान सञ्चालन भयो । जनआन्दोलनका दमनकारी लोकमानसिंह कार्की बिरुद्धको अभियान, एनसेल कर छली प्रकरणका दोषीलाई कारबाही र कर असुलीका लागि राष्ट्रिय अभियान सञ्चालन भए । भारतीय नाकाबन्दीविरुद्ध सिंहदरबारदेखि संयुक्त राष्ट्रसंघको कार्यालय, पुल्चोकसम्म बृहत् मानव हातेसाङ्लो कार्यक्रम सम्पन्न गरिएको थियो । उनी भन्छन्, ‘राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पहिचान आज नेकपा एमालेको नारा बन्दा त्यतिवेलाका थुप्रै अभियानले सार्थकता पाएकोमा धेरै गौरवको अनुभूति हुने गर्छ ।’ आज एमालेले जुन उचाई र लोकप्रियता हासिल गरेको छ, त्यसको मुख्य कारण एमालेले राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा चलाएको अभियान नै हो । यो अभियानको एक जोदाहा हुन्, गैरे ।

thakur gaire youth leaders

तर, सधैं उपेक्षित
उनीपछि अखिलको नेतृत्वमा आएका धेरै नेताहरुले यसपालीको निर्वाचनमा टिकट पाए । जिते । उनीपछि र उनीभन्दा कम सक्रियहरुले टिकट पाइराख्दा गैरेले यस पटक प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फको चुनावमा प्रत्यक्ष र समानुपातिक पाएनन् । तर, टिकट नपाए पनि पाल्पा गएर वाम उम्मेदवारलाई जिताउन अहोरात्र खटे । आगमी २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनको लागि उनको उम्मेदवारीको हल्ला चल्यो । तर, अन्तिम सूचीमा फेरि उनी अटाएनन् । नवप्रवेशी कोमल वलीहरु सिफारिस भइराख्दा उनी परेनन् । तर, उनीमाथिको उपेक्षा यति मात्रै होइन निकै लामो छ ।

पहिलो संविधानसभाको निर्वाचन हुँदा उनी अनेरास्ववियूका अध्यक्ष थिए । चुनाव लड्ने चाहना थियो । टिकट पाएनन् । विद्यार्थीका विषयलाई संविधानसभामा उठाउन भन्दै अध्यक्षलाई सभासद बनाउने निर्णय केन्द्रीय कमिटीबाट भयो । तर, उनी छानिएनन् । दोस्रो संविधानसभाको निर्वाचनमा पनि पाल्पाबाट प्रत्यक्षतर्फको उम्मेदवारका रुपमा सिफारिस भए । पार्टीले उनलाई समानुपातिकको सूचीमा राख्यो । तर, पछि उनी छनोटमा परेनन् । यसपाली राष्ट्रिय सभामा समेत नपठाइएकोमा एमाले कार्यकर्ताहरुले नै आक्रोश पोखेका छन् । तर, पनि गैरे दुःखी छैनन् । तपाईको प्रतिक्रिया के छ ? ‘पार्टीको निर्णयमाथि प्रतिक्रिया के दिनु र ?’ गैरे भन्छन्,‘पदका लागि होइन रुपान्तरण र परिर्वतनका लागि राजनीतिमा आएको हुँ । लागीरहन्छु ।’

उनीपछि अध्यक्षमा निर्वाचित माधव ढुङ्गेलले यूवा परिषद्को नियुक्ती खाइसकेका छन् । त्यसपछिका अध्यक्षहरु रामकुमारी झाँक्री र नविना लामा सम्भवत यसपटक प्रतिनिधिसभामा आउनेछन् । उनको केन्द्रीय समितिमा रहेका धेरै नेताहरु देशभरीबाट निर्वाचित भएका छन् । तर, यो ५ बर्ष गैरे छुटेका छन् । तर, गैरेले केही छुटे जस्तो लागेको छैन । भन्छन्,‘केही छुटे जस्तो लागेको छैन । संसद बाहिरको मोर्चाबाट निरन्तर खट्नेछु ।’ पार्टीको पद्धति, नेतृत्वको शैली र चिन्तनप्रति प्रश्न भएपनि आफू कति पनि नआत्तिएको उनी बताउछन् । भन्छन्,‘लड्नु र लाग्नु अझैं कति छ, के को आत्तिनु हौं ?’

त्यसो त उनी एमालेभित्र गैरे पार्टीको आन्तरिक राजनीतिमा पनि आफ्नै बुतोले स्थापित नेता हुन् । उनी बुटवलको आठौं महाधिवेशनमा झलनाथ खनाल र केपी ओली कुनै पनि प्यानलमा उनी परेनन् । उनी एक मात्रै यस्ता केन्द्रीय सदस्य हुन्, जसले स्वतन्त्र उम्मेदवारी दिएर पनि जिते । नवौंमा भने माधव नेपाल प्यानलबाट चुनाव जिते ।

सरल नेता
एमालेमा यस्ता नेताहरु पनि छन्, जसको आर्थिक हैसियत बढो रोमाञ्चकारि तरिकाले परिवर्तन भएको छ । गैरे यस्ता नेता हुन्, अखिल अध्यक्षदेखी यहाँसम्म आइपुग्दा पनि उस्तै दुःख बोकेर क्रियाशिल छन् । अखिल अध्यक्ष हुँदा साथीको कोठामा बास बसेर आन्दोलन हाकेका गैरे अहिले पनि काठमाडौंमा डेरामा नै बस्छन् । उही बागबजारको गल्लीमा छिरेर मम खान्छन् । महिनौंसम्म फुटेका पुरानो भर्सनका मोबाइलले काम चलाउँछन् । एमाले नेता जमघट भइरहने होटल हार्दिकमा उनकै एक कार्यकर्ताले गैरेको फुटेको मोबाइल देखेपछि केही महिना अघि भनेका थिए,‘एमालेमा ठाकुर गैरे जस्तो सरल नेता पनि छन् । गर्व लाग्छ ।’

 

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७