सांसदहरुले भने, ‘अव्यवस्थित र मापदण्ड विपरीतका क्वारेन्टिनले नै संक्रमण बढायो’


१९ जेष्ठ २०७७, सोमबार
samsad 3 scaled

काठमाडौं, १९ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कोभिड–१९ सङ्क्रमणको तथ्याङ्क हेर्दा जोखिम बढ्दो रहेकाले उपयुक्त योजनाका साथ दायरा फराकिलो पारी नियन्त्रणका उपाय अपनाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदले कोरोना सङ्क्रमणको दर वृद्धि भइरहेका अवस्थामा परीक्षण र व्यवस्थापनमा उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिए । सांसद अमृतादेवी अग्रहरीले तराइका विभिन्न जिल्ला कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको उल्लेख गर्दै अझै पनि सरकारले आइसोलेसन वार्डको उचित व्यवस्था गर्न नसकेको भनी चिन्ता व्यक्त गरिन् । उनले खाने, बस्ने स्थानका साथै शौचालयको पनि उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद अमृता थापाले कोरोना सङ्क्रमणबाट सम्भावित क्षति रोक्न आवश्यक कार्ययोजनासहित अघि बढ्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद उमाकान्त चौधरीले अव्यवस्थित र मापदण्ड विपरीतका संरचनाका कारण कोरोना उत्पादन गर्ने क्षेत्रके रुपमा क्वारेन्टिन देखिएकाले राहत, उद्धार र परीक्षणमा ध्यान नदिने हो भने कोरोनाका साथै रोक र भोकले भयावह स्थिति आउन सक्ने देखिएको बताए ।

सांसद उमा रेग्मीले कोभिड–१९ को सङ्क्रमण ह्वात्तै बढ्दै गएको र उपचारका लागि अस्पताल पुगेका गर्भवतीले पिसिआर रिपोर्ट नल्याएसम्म उपचार गराउन नसक्ने अवस्था सिर्जना भएकामा दुख प्रकट गरे ।

सबै अस्पतालबाट नियमित सेवा उपलव्ध गराउने व्यवस्था मिलाउन उनले सभामुखमार्फत सरकारलाई आग्रह गरे । सांसद डा. अमरेशकुमार सिंहले विपद् व्यवस्थापनमा सरकारले नेपाली सेना परिचालन गर्न खोज्नु संविधानविरुद्ध भएको भनी आपत्ति जनाए ।

सांसद कल्याणीकुमारी खड्काले भारतबाट असुरक्षित आगमन भएका कारण प्रदेश नं २ को स्थिति खतरापूर्ण बन्दै गएकाले सीमा नाकामै पिसिआर परीक्षण गरेर मात्रै मानिसलाई प्रवेशन गराउने व्यवस्था गर्न तथा आइसोलेशन र क्वारेन्टिनको क्षमता बढाउन माग गर्नुभयो ।

रुकुम घटनाका दोषीलाई कारवाही माग
सांसदले रुकुममा भएको घटनाको छानबिन गरी दोषीलाई कानून बमोजिम कारवाही गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कृष्णभक्त पोखरेलले रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरे ।

उनले भने, ‘यो मानवताविरुद्धको अपराध हो, विसं २०२० बाट जातभातको अन्त्य गर्ने अभियान शुरु भएको अवस्थामा अझै पनि यस्ता घटना आउनु दुःखद् हो, त्रुटिपूर्ण सामाजिक मान्यता अन्त्य गर्नुपर्छ ।’

उनले यस्ता घटनाका दोषीलाई अधिकतम दण्ड र सबैलाई कानूनको दायरामा ल्याउने गरी अघि बढ्न जरुरी रहेको औंल्याए । सोही दलका खगराज अधिकारीले रुकुम घटनाका दोषीलाई कारवाही हुनुपर्नेमा जोड दिए ।

नेकपाकै इन्दुकुमारी शर्माले रुकुमको घटनामा नवराज विकलगायत उनका साथीको हत्या भएको जिकिर गर्दै दोषीलाई कडा कारवाही गर्न माग गरिन् । उनले उक्त घटनाबाट शिक्षा लिएर दोहोरिन नदिन सबै सचेत हुनुपर्ने बताइन् । सोही दलका कमला रोकाले नवराज विकहरुले न्याय पाउने कुरामा सतर्क रहनुपर्नेमा जोड दिइन् ।

नेपाली कांग्रेसका गगनकुमार थापाले संविधानमा दलितको हकको स्पष्ट व्यवस्था भए पनि रुकुम (पश्चिम) को घटनाले नेपालीको अनुहारमा कालो पोतेको बताए । उनले बन्दाबन्दी अवधिमा मात्रै ३२ जनाको यसै गरी हत्या भएको जिकिर गर्दै घटनाबारे संसदीय छानबिन समिति गठन गर्न माग गरे ।

सांसदले बाँकेमा भएको सवारी दुर्घटनामा परी १२ जनाको निधन भएको प्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७