‘विनियोजन विधेयक २०७७’ स्वीकृत : कोरोना नियन्त्रणमा रकम अभाव नहुने


१९ जेष्ठ २०७७, सोमबार
Youraj khatiwada 2

काठमाडौं, १९ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ स्वीकृत भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो । विधेयक स्वीकृत हुनुपूर्व विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदले कोरोना नियन्त्रण र त्यसबाट प्रभावित भएका नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने बताएका थिए ।

सांसदको जिज्ञासामा अर्थमन्त्री डा. खतिवडाले स्वास्थ्य क्षेत्रमा यसपालिको बजेट केन्द्रित भएको स्पष्ट पारे । उनले स्वास्थ्य सामग्री खरीदका लागि रु पाँच अर्ब थप निकासा गरिसकिएको र कोभिड–१९ सङ्क्रमण रोक्न राहत कोषमा रु दुई अर्ब ३१ करोड जम्मा भइसकेको जानकारी दिए ।

मन्त्री खतिवडाले भने, ‘उक्त कोष र विपद् व्यवस्थापन कोषबाट पनि केही रकम परिचालन गर्न सकिने अवस्था छ, सबै स्वास्थ्यका सामान खरीद र ल्याब टेष्टको सामग्र्रीमा खर्च गर्ने हो, सरकारको प्राथमिकतामा रोग नियन्त्रणमा नै छ, रकम अभाव हुन दिइने छैन ।’ उनले सांसदलाई तथ्यमा रहेर आलोचना गर्न समेत आग्रह गरे । तथ्यमा आधारित भएर आलोचना भयो भने प्रोत्साहित हुने मन्त्री डा. खतिवडाको भनाइ थियो ।

दुई विधेयक प्रस्तुत

आजको बैठकमा मन्त्री डा. खतिवडाले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७७’, र ‘ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक २०७७’ समेत सदनमा प्रस्तुत गरेका छन् । आव २०७७–७८ मा नेपाल सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न राष्ट्र ऋण उठाउन वाञ्छनीय भएकाले विधेयक ल्याइएको मन्त्री डा( खतिवडाले बताए ।

उनले संसदमा आजै ‘ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक २०७७’ समेत प्रस्तुत गरे । बजेट कार्यान्वयनका लागि खर्च बेहोरिने विभिन्न स्रोतमध्ये विदेशी सरकार वा दातृ निकायबाट लिइने रकमको सीमा रु १२ खर्बबाट बढाएर १४ खर्ब कायम राखिने विधेयकमा उल्लेख छ ।

सरकारले लिएको ऋणबाट कार्यान्वयनमा रहेको योजना र असार मसान्तसम्म हुन सक्ने भुक्तानी तथा नेपाल सरकारले जमानत दिएको रकमलाई समेत ध्यानमा राखी गरी आगामी वर्ष रु दुई खर्ब ९९ अर्ब ५० करोड बाह्य ऋण परिचालन गर्ने लक्ष्य विधेयकमा छ । विसं २०७६ फागुन मसान्तसम्म भुक्तानी गर्न नेपाल सरकारको बाह्य ऋण रु छ खर्ब ९९ अर्ब हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७