भेन्टिलेटर विदेशमा अड्कियो, यता ज्यान गयो


२० जेष्ठ २०७७, मंगलवार
ventile

काठमाडौं, २० जेठ । कोरोना भाइरसको संक्रमित बिरामीका लागि ल्याउन लागिएकोे भेन्टिलेटर विदेशमा अड्किएको छ ।

नेपाल ल्याउन लागिएको भेन्टिलेटर अमेरिका, जापान र जर्मनीमा अड्किएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । संक्रमितको संख्या बढ्दा उनीहरूलाई राख्ने अस्पतालको आइसोलेसन र भेन्टिलेटरको अभाव खड्किएको छ ।

जिल्ला अस्पतालमा बाजुरामा भेन्टिलेटर अभावमा आइतबार दुई वर्षीया बालिकाको आइसोलेसनमै मृत्यु भएको थियो । मुलुकमा कोरोना भाइरस संक्रमित केस भेटिएको चार महिना बितिसक्दा पनि आइसोलेसन र भेन्टिलेटरको जोहो गर्न मन्त्रालय असफल भएको छ ।

मन्त्रालय स्रोतका अनुसार अहिले मुलुकभर कोरोना भाइरस संक्रमित बिरामीका लागि छुट्ट्याएको आइसोलेसनको बेड संख्या १ हजार ६ सय २४ छ । आईसीयू बेड संख्या ३ सय ९६ मात्र छ । आईसीयू र आइसोलेसन बेडको अभाव हुने देखिएपछि लक्षण नदेखिएका संक्रमितलाई होम क्वारेन्टाइनमा राख्ने योजना सरकारले लिएको छ ।

सरकारले ५ हजार संक्रमित हुने अनुमान गर्दै आवश्यक सामग्री जोहो गर्ने तयारी गरे पनि अपुग हुने देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमितको संख्या ५ हजारभन्दा बढी हुने निश्चित छ ।

डा. पाण्डेले भने, ‘भारतबाट संक्रमित भएर नेपाल आउने क्रमले समस्या बढेको छ । बाटोमा पनि सुरक्षित यात्रा गरेको पाइएन । असुरक्षित यात्रा गर्दै निर्वाध स्वदेश फर्कने क्रम बढेकाले संक्रमितको संख्या बढ्दै गएको छ ।’ संक्रमितमध्ये अधिकांश २१ देखि ३१ वर्ष उमेर समूहका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले संक्रमणयुक्त स्थानबाट आएका नेपालीलाई सीमावर्ती क्षेत्रमा राखिएको क्वारेन्टाइन अव्यवस्थित हुँदा संक्रमण झन् बढेको बताए । उनले भने, ‘क्वारेन्टाइनमा बसेका व्यक्ति नै असुरक्षित देखिएका छन् । संक्रमित व्यक्तिसँगै बस्नुपर्ने बाध्यता छ। यस कारण पनि भाइरस सर्ने र संक्रमितको संख्या बढ्ने निश्चित छ ।’

भेन्टिलेटर ल्याइँदै

मुलुकमा पहिलो संक्रमित केस माघ ९ गते देखा परेको थियो। पहिलो संक्रमित केस भेटिएको ४ महिना बितिसक्दा पनि आइसोलेसन बेड र भेन्टिलेटरको व्यवस्था हुन सकेको छैन ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भेन्टिलेटर तथा अन्य आवश्यक सामग्री खरिद गर्ने क्रम अघि बढाइएको बताए । उनले भने, ‘अब संक्रमितको संख्या झन् बढ्ने निश्चित छ । भेन्टिलेटरलगायत अन्य सामग्री बाहिरबाट ल्याउने तयारी अघि बढाइएको छ ।’

अमेरिका, जापान र जर्मनीबाट भेन्टिलेटर ल्याउन लागिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए । संक्रमित बढिरहेको र नेपालमा रहेका भेन्टिलेटरको संख्या न्यून रहेका कारण तीन÷ चार सय भेन्टिलेटर थप्ने योजना रहेको महानिर्देशक श्रेष्ठले बताए ।

एकै दिन २३९ संक्रमित
सोमबार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोरोना भाइरस पोजेटिभ पुष्टि भएका संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ । संक्रमितमध्ये निको भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २२१ पुगेको छ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७