चलखेल बढेको भन्दै रुकुम घटना छानविन गर्न संसदीय समिति बनाउन माग


२० जेष्ठ २०७७, मंगलवार
man bahadur biswokarma

काठमाडौं, २० जेठ । प्रतिनिधिसभाको बैठकमा रुकुम (पश्चिम)को चौरजहारी घटना छानबिनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन सांसदहरूले माग गरेका छन् । कांग्रेस सांसदहरूले त दलित समुदायकै सांसदको नेतृत्वमा समिति गठन हुनुपर्नेमा जोड दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेसले सभामुखसँग समय मागेर रुकुम घटनाको छानबिनका लागि संसदीय समिति बनाउन माग गर्‍यो । कांग्रेसका तर्फबाट बोलेका सांसद मानबहादुर विश्वकर्माले भने, ‘गृहमन्त्रीले नदीमा हामफाले भन्नुभएको छ । तर, पोस्टमार्टम गर्दा उनीहरूको पेटमा पानी थिएन । यसको कारण के हो ? उनीहरू मारिएका हुन् ।’

उनले कर्मचारीको समितिले न्याय दिन नसक्ने र मान्य नहुने बताए । ‘त्यो घटना फितलो बनाउन आर्थिक अपचलन भएको छ भन्ने रिपोर्ट पाइरहेका छौँ । नेपाली कांग्रेसले त्यसलाई निन्दा गर्दै संसदीय समिति बनाउनुपर्ने हाम्रो माग छ । दलित सांसदको नेतृत्वमा समिति गठन होस्,’ सांसद विश्वकर्माले भने ।

सांसद गगन थापाले रुकुमको नरसंहारलाई संसद्ले टुलुटुल हेरेर मात्रै बस्न नहुने बताए । ‘यस्तो अमानवीय र क्रूर घटनालाई भवितव्य हो भनेर देखाउन र सहायक कारणहरू देखाएर यो घटनाको जरामा रहेको उच्च जातीय अहंकारको ढाकछोप गर्न भइरहेको संगठित प्रयत्न र राज्यको लाचारीलाई यो संसद्ले टुलुटुल हेरेर बस्ने हो भने लाज पनि हामीसँग लजाउँछ,’ सांसद थापाले भने ।

संसद्ले सर्वदलीय संसदीय छानबिन समिति बनाएर अध्ययन नगरेसम्म आफूहरूले यो विषयमा निरन्तर बोलिरहने, लडिरहने उनको भनाइ थियो । ‘संविधानमा स्वतन्त्रताको हक समानताको हक, आत्मसम्मानपूर्वक बाँच्न पाउने हक, मर्यादित जीवन जिउन पाउने हक, छुवाछुत तथा भेदभावविरुद्धको हकदेखि दलितको हकसम्म सबै लेख्यौँ, कानुन बनायौँ भनेर गर्व गरिरहँदा रुकुम सोतीको नरसंहारले हामी सबैको अनुहारमा कालो पोतिएको छ,’ थापाले भने ।

त्यस्तै, सांसद आशाकुमारी विकले मृतकको परिवारले न्याय मागिरहेको उल्लेख गर्दै सत्यतथ्य छानबिन हुनुपर्ने बताइन् । घाइतेको स्वास्थ्य उपचार र पीडितलाई राहतको व्यवस्था गर्नुपर्ने बताउँदै उनले भनिन्, ‘मृतकको परिवारले छोरो मागेका छैनन्, न्याय मागेका छन् । सरकारले छानबिनका लागि विलम्ब नगरी संसदीय छानबिन समिति गठन गरोस् ।’

सांसद कृष्णभक्त पोखरेलले जातीय विभेदविरुद्धको घटना मिलाउनेतर्फ नलागेर दण्डको कठघरामा ल्याउनुपर्ने बताए । रुकुमको घटनाले सबै नेपालीको मनमा लज्जा र पीडा पैदा गरेको उल्लेख गर्दै सांसद पोखरेले २१औँ शताब्दीमा पनि जातिपातिको आधारमा विवाह हुने–नहुने र त्यसको आधारमा सामूहिक हत्यासमेत हुने कुरा मानवताविरुद्धको अपराध भएको बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७