तीव्र गति र मादक पदार्थले बाँके दुर्घटना, रित्तियो पूर्णबहादुरको परिवार


२० जेष्ठ २०७७, मंगलवार
BS Rajha 20200601 075213 1 scaled

बाँके, २० जेठ । पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँकेको राप्ति सोनारी गाउँपालिका २ को मुगुवा खोला नजिकैको ठुरियाको जंगलमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । ११ जनाको घटनास्थलमै र एक जनाको उपचारार्थ नेपालगन्जको भेरी अस्पतालमा ल्याएपछि मृत्यु भएको हो ।

भारतको विभिन्न राज्यबाट घर फर्केका नेपालीलाई बोकेर नेपालगन्जको जमुनाहा नाकाबाट दाङको तुलसीपुरसम्म जान लागेको ना५ख ५९९५ नम्बरको हायस आइतबार राति ११ः३० बजेतिर रोकिराखेको बा ४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले सोमबार राति अबेरसम्म चालक दलका तीनसहित सातजना मृतकको मात्र सनाखत भएको पुष्टि गरे ।

मृत्यु हुनेमा दैलेख घर भएका चालक दानबहादुर खड्का, सहचालक सुर्खेत घर भएका पवन भण्डारी र हायसमा सुर्खेतबाट आएका रितेश कार्कीको सनाखत भएको छ । यसैगरी, दाङको शन्तिनगर ३ का पूर्णबहादुर पुनका श्रीमती र छोरा तथा राजपुर ६ का रामबहादुर पुनको मृत्यु भएको प्रहरी प्रमुख ओलीले बताए ।

मृतक पुनका बुबा नरबहादुर र दाजु रमेशले भेरी अस्पताल पुगेर शव पहिचान गरेका थिए। सीमा नाका जमुनाहाबाट गाडीमा चढ्नेको सूचीका आधारमा अन्य ८ जना मृतकको नाम पत्ता लागे पनि परिवारका सदस्य र आफन्तले शव पहिचान गरेपछि मात्र सनाखत भएको मानिने प्रहरीले जनाएको छ ।

प्रहरीले आफन्तलाई पत्राचार गरेको जनाएको छ । भारतबाट आएकाले मृतक र घाइते सबै जनाको सोमबार बिहान भेरी अस्पतालमा कोरोना परीक्षण गरिएको थियो। भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले सबैको रिपोर्ट नेगेटिभ आएको बताए ।

अस्पतालमा उपचार गराएकामध्ये अहिले पनि चारजनाको अवस्था गम्भीर छ । धेरै जनाको हात खुट्टा भाँचिएका छन् । घाइतेले भने चाँडो उपचार गर्नुपर्ने बताइरहेका छन् । घाइतेमध्ये ४ जनाको छाती, टाउको र मुहारमा चोट लागेको छ । तीन जनाको खुट्टा भाँचिएको र हिप फ्याक्चर भएको छ । ४ जनाको अवस्था भने सामान्य रहेको डा. थापाले जानकारी दिए । घाइते सल्यान, दाङ र रोल्पाका छन् ।

गाडी ओभर स्पिडमा

यात्रुले गाडी दुर्घटना हुनुमा चालक दलका सदस्यले रक्सी सेवन गर्नु, क्षमताभन्दा दोब्बर बढी यात्रु राख्नु र गाडीको हेडलाइट नै डिम भएको बताए । नेपालगन्जको जमुनाहाबाट क्षमताभन्दा दोब्बर बढी यात्रु बोकेर सोमबार राति ८ः३० बजे गाडी दाङतिर प्रस्थान गरेको थियो ।

दुर्घटना भई भेरी अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेको दाङ तुलसीपुरका विष्णु गिरिले सुरुदेखि नै गाडी स्पिडमा चलाएको बताए । भारतको हरियाणा राज्यको पञ्चकुलाबाट आएका उनी सबै यात्रीलाई गाडीमा चढाइसकेपछि चालकसहित चालक दलका तीन जना नास्ता खान गएका थिए ।

‘उनीहरू रक्सी खाएर आए । सुरुदेखि नै गाडी निकै स्पिडमा थियो। हामीले रोक्ने कोशिस गर्दा पनि मानेनन्’, गिरिले भने, ‘तीन जनाको सिटमा चार जना बसाइएको थियो । ग्यालरीमा पनि बसेका थिए। सिट नपुगेर कोही उभिएका थिए ।’

उनको दायाँ खुट्टा भाँचिएको छ । ‘म पछाडिको सिटमा थिएँ र बाँचे। मृत्यु हुनेहरू सबै अगाडि बस्ने हुन् ।’ दुर्घटनाबाट बायाँ हात भाँचिएका अर्का यात्री दाङ राजपुर ६ का दिपेश चौधरीले पनि क्षमताभन्दा धेरै व्यक्तिलाई राखेको र तीव्र गतिमा भएकाले रोक्न नसकेको बताए । उनले छेउमै बसेका साथी नारायण पुनलाई गुमाए । उनका अनुसार गाडीको गति एक सयदेखि एक सय १० सम्म थियो ।

घटनालगत्तै घटनास्थल पुगेर फर्केका बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीले पनि तीव्र गतिमा गाडी चलाएको बताए । ‘हायसको अगाडिको भाग पूरै डल्लो परेको छ । जुन ट्रकलाई ठक्कर दियो । १७ टनको चामल बोकेको ट्रकलाई ४५ मिटर पर धकेलेको छ । यसबाट गाडीको गति अनुमान हुन्छ’ ओलीले भने ।

रित्तियो पूर्णबहादुरको परिवार

दुई देशको लकडाउन छिचोल्दै घरनजिकै आइपुगेका पूर्णबहादुर पुनको श्रीमती र छोरासँगै निधन भयो । दाङको शान्तिनगर गाउँपालिका ३ पातेटाकुराका ३२ वर्षीय पूर्णबहादुर पुनले आइतबार दिउँसो १ बजे भारतको बरेलीबाट जेठा दाजु भविश्वर पुनलाई फोन गरेर घर आउन लागेको खबर सुनाए ।

जेठा दाजु भविश्वरसँग लामो पारिवारिक गफसमेत गरे। पूर्णले दाजुसँग भनेका थिए, ‘केही चिन्ता नलिनु, भोलि बिहानसम्म घर आइपुग्छौं, यो साल घर पनि बनाउनु छ, मिस्त्रीको पनि जोहो गर्नु होला । बुबा बिरामी हुनुहुन्छ, ख्याल गर्नुहोला ।’

त्यतिबेलै उनले परिवार घर आउन लागेको जानकारी समेत गराएका थिए । तर पूर्णको घर पुग्ने सपना बाटोमै हरायो । पूर्व–पश्चिम राजमार्गको अगैयानजिकै भएको सवारी दुर्घटनाले उनको ज्यान गयो ।

पूर्णबहादुरको तीन जनाको परिवार नै दुर्घटनाले चुडाएको छ । श्रीमती ३० वर्षीय सीता ९ वर्षीय हिमांशुको एउटै दुर्घटनामा परी ज्यान गएको हो । दुर्घटनाले शान्तिनगर–३ पातेटाकुरा शोकमा डुबेको छ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७