पाँच रुपैंयाँ किलोमा पनि नबिकेपछि बारीमै कुहियो किसानको तरकारी


२० जेष्ठ २०७७, मंगलवार
tarkari 2

चितवन, २० जेठ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण लकडाउन हुँदा चितवनका किसानको तरकारी बिक्री हुन छाडेको छ । तरकारीले बजार नपाउँदा कसैले खेतमै तरकारी कुहाउँदै छन् त कसैले कुहिएको तरकारीको सही सदुपयोग गरिरहेका छन् ।

पूर्वी चितवन खैरहनीनगरपालिका–१ बहेराका किसान लक्ष्मण चौधरीले यसपालि एक बिघा क्षेत्रफलमा भिण्डी तरकारी मात्रै लगाएका थिए । एउटै तरकारी लगाउँदा बिक्री गर्न सहज हुने र आम्दानी पनि हुने अनुमान लगाएर भिन्डी खेतीलाई प्राथमिकता दिएका थिए । तर बिक्री गर्ने बेलामा कोभिड–१९ सङ्क्रमणले देशमा ‘लकडाउन’ भएपछि तरकारी खेतमै थन्कियो ।

‘शुरु–शुरुमा घाटा खाएरै प्रतिकेजी रु पाँचमा भिन्डी बिक्री गरें, उनले भने, पछिल्लो समय निःशुल्क लैजाउभन्दा पनि लिन मान्छे आएनन् ।’ बिक्रीका लागि बोरामा तयार पारेर राखेको तरकारी पनि बिक्री नहुँदा कुहिएपछि अन्ततः कम्पोष्ट मल बनाएर सदुपयोग गरेको उनले बताए ।

कृषक चौधरीले विभिन्न समयमा तरकारीबाट कम्पोष्ट मल बनाउने तरिकाबारे तालिम समेत लिएका थिए । सोही ज्ञानका आधारमा उहाँले अहिले घरेलु सामग्री भेली, पिना, खुर्सानी, निम, गोबरलगायत प्रयोग गरी कम्पोष्ट मल बनाउन थालेका छन् ।

यसरी नै खेर गइरहेको तरकारीलाई भरतपुर महानगरपालिका–२५ अमृतनगरकी किसान उमा सुवेदीले पनि सदुपयोग गर्न थालेका छन् । उनले १० क्विन्टलको करेला सुकाएर चाना बनाउन थालेका हुन् । ५० क्विन्टल करेलाको चाना बनाउने उनको लक्ष्य छ ।

अहिले तरकारी बिक्री नहुने समस्या चौधरी र सुवेदीको मात्रै होइन । चितवनका अन्य किसानको हालत उस्तै छ । तर खेर गइरहेको तरकारीको सदुपयोग गर्न जानेका किसान धेरै कम छन् । अब ती किसानले पनि खेर गइरहेको तरकारीबाट पछिसम्म बिक्री गर्न मिल्ने तरकारी बनाउनमा जोड दिनुपर्ने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए ।

ढकालले उत्पादन भएको तरकारी खेर फाल्नुभन्दा सुकाएर राख्न सके पछिसम्म प्रयोग गर्न सकिने बताए । बेला बखतमा खेर जाने तरकारीबाट बन्ने अन्य थुप्रै तरकारीका प्रकारबारे पनि कृषकलाई तालिम दिने योजना बनाएको उनले बताए ।

‘कोरोनाका कारण व्यावसायिक उत्पादनको बजार ठप्प छ’, उनले भने, ‘तरकारीबाट पनि कोरोना सर्छ भनिएकाले पनि उपभोक्ताले बजारको तरकारी कम उपभोग गरेका छन् ।’ चितवनमा यतिबेला बढी मात्रामा लहरे तरकारी करेला, घिरौंला, चिचिन्ना, लौका, भेन्डीको उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको तरकारी काठमाडौं, पोखरालगायत शहरमा बिक्री हुने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७