बन्दाबन्दीको ७१ औं दिन : व्यापारी-व्यावसायीको प्रदर्शन, उपत्यकामा बढ्दै सवारी चाप


२० जेष्ठ २०७७, मंगलवार
BIRODH

काठमाडौं, २० जेठ । सरकारले कोरोना भाइरस महामारीलाई नियन्त्रण बाहिर जान नदिन भन्दै जारी गरेको बन्दाबन्दी (लकडाउन) आज (मंगलबार) ७१ दिन पूरा भइसकेको छ ।

लामो बन्दाबन्दीका कारण अहिले सबै क्षेत्र र तहतप्काका नागरिकको जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो कोरोना भाइरस संक्रमणका कारण अहिले विश्वसँगै नेपालका सबै क्षेत्र प्रभावित भएका छन् । कोरोना संक्रमणका कारण खेती किसान, व्यापार, व्यवसाय, उद्योग, रोजगारी, पठनपाठन सबै चौपट्ट बनेको छ ।

तर, नेपालमा लकडाउन जारी रहेकै बेला कोरोना संक्रमण भने बढिरहेको छ । लामो बन्दाबन्दीका कारण अहिले नागरिकको आर्थिक जनजीवन ठप्प भएको भन्दै बन्दाबन्दीलाई केहि खुकुलो बनाएर आर्थिक क्रियाकलाप पुन शुरु गर्नुपर्ने विषयमा पनि वहस र चर्चा चलिरहेको छ । सरकारले पनि लामो बन्दाबन्दीलाई केहि खुकुलो पार्ने र आर्थिक क्रियाकलापलाई पुनः व्यूँताउनका लागि बन्दाबन्दीको स्वरुप परिवर्तनका लागि कार्ययोजना बनाइरहेको छ ।

यसै सन्दर्भमा आज (मंगलबार) काठमाडौंको जोरपाटीका व्यापारी–व्यावसायीहरुले लामो समयदेखिको लकडाउनले आफूहरुको व्यवसाय चौपट्ट भएको र जीविकोपार्जनमा समेत समस्या भएको भन्दै प्रदर्शन गरेका छन् । उनीहरुले सुरक्षित रुपमा पसल खोल्न दिइनु पर्ने भन्दै प्रदर्शन गरेका छन् ।

यता पसल खोल्न पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका व्यवसायीलाई प्रहरीले लखेटेको छ । त्यसक्रममा पसल बन्द गर्न अटेर गर्ने एक जनालाई केहीबेर नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिएका छन् ।

लकडाउन उल्लंघन गरेकाले नियन्त्रणमा लिएको र सम्झाएर अहिले छाडिसकेका छौं डीएसपी कार्कीले बताए । यता गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेलगायतसँग छलफल गर्ने सहमति भएपछि व्यवसायीहरुले प्रदर्शन रोकेको जनाइएको छ ।

छलफलका क्रममा नगरपालिकाले पसल खोल्ने वातावरणका लागि पहल गर्ने आश्वसन दिएको बताइएको छ । जोरपाटीमा मात्र होइन अहिले देशका विभिन्न जिल्लामा लकडाउनको स्वरुप परिवर्तन गर्दै नागरिकको आर्थिक क्रियाकलाप चलायमान बनाउनु पर्ने माग उठ्न थालेको छ । यसका लागि सम्बन्धित व्यक्ति, संघसंस्था र व्यवसायीहरुले स्थानीय प्रशासनहरुमा निवेदनहरु समेत दिन थालेका छन् ।

उपत्यकामा बढ्दै सवारी चाप
काठमाडौं उपत्यकामा कोरोनाको जोखिम दिनदिनै बढेका कारण लकडाउनमा थप कढाइ भइरहेको बताइरहेका बेला पनि उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढ्न थालेको छ ।

लामो समयसम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको र मानिसहरु काममा निस्किन थालेपछि उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढेको पाइएको छ । मंगलबार उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारीसाधनको आवागमन बढेको पाइएको छ । प्रहरीले पनि चेकजाँचलाई केही खुकुलो बनाएको छ । अत्यावस्यक सेवाका सवारी साधन र पास लिएका बाहेकलाई पनि सोधपुछ गरी पठाउने गरेको छ ।

RS KTM 20200602 0D3A9533

काम बिना सवारी सञ्चालन गर्नेलाई भने नियन्त्रणमा लिई कारबाही गरेको छ । उपत्यकाका भित्रि सडकमा रहेका अत्यावश्यक खाद्यन्न तथा तरकारी पसलहरु बिहान र साँझको समयमा खुल्ने गरेका छन् । सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ ।

जेठ २० गते (आज) सम्मका लागि तोकिएको लकडाउन शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३२ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको थियो । तर यस बीचमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल भइराखेको जनाइएको छ ।

लकडाउन जारी हुँदा चैत ११ गते दुई जना मात्रै संक्रमित रहेकोमा अहिले लकडाउनको ७१ औं दिन पुग्दा संक्रमितको संख्या दुई हजार नजिक पुगेको छ । हालसम्म कोरोनाबाट आठ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७