केन्द्रीय बैंकले ल्यायो पुनः कर्जा कार्यविधि


२० जेष्ठ २०७७, मंगलवार
rastra bank

काठमाडौं, २० जेठ । नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ ल्याएको छ ।

कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै उद्यम व्यवसायलाई प्रभावकारी रूपमा पुनः अगाडि बढाउने लक्ष्यका साथ केन्द्रीय बैंकले उक्त कार्यविधि ल्याएको हो ।

बैंकले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन प्रकारका पुनःकर्जा लिन सकिने गरी प्रबन्ध गरेको छ । लघु, घरेलु तथा साना उद्यमका लागि केन्द्रीय बैंकले दुई प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थालाई ऋण उपलब्ध गराउने छ ।

बैंक तथा वित्तीय संस्थाले पाँच प्रतिशत ब्याज लिएर त्यस्तो कर्जा प्रवाह गर्न सक्ने छन् । यस्तै विशेष पुनःकर्जामा राष्ट्र बैंकले एक प्रतिशतमा रकम दिनेछ । सो रकममा बैंक तथा वित्तीय संस्थाले तीन प्रतिशत ब्याज लिन सक्ने छन् । साधारण पुनःकर्जामा राष्ट्र बैंकले तीन प्रतिशत ब्याजदरमा रकम दिनेछ । त्यस्तो रकम बैंक तथा वित्तीय संस्थाले पाँच प्रतिशतसम्म ब्याज लिएर लगानी गर्न पाउने छन् ।

पुनःकर्जा कोषको सीमा सञ्चालक समितिले समय निर्धारण गरे बमोजिम हुनेछ । केन्द्रीय बैंकका अनुसार प्रतिग्राहक रु १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनःकर्जा, रु १० करोडसम्मका विशेष पुनःकर्जा र साधारण पुनःकर्जा इजाजतपत्र प्राप्त क, ख र ग वर्गका इजाजत प्राप्त संस्थालाई एकमुष्ट रूपमा प्रदान गरिनेछ ।

राष्ट्र बैंकको निर्देशनानुसार बैंक तथा वित्तीय संस्थाले समय तोकेर कर्जाका लागि आह्वान गर्नेछ । तोकिएको कागजातसहित ग्राहकले बैंकका सम्बन्धित शाखामा निवेदन दिनु पर्नेछ । निवेदन प्राप्त भएको एक महिनाभित्र उक्त पुनःकर्जासम्बन्धी निर्णय गरिने छ । बैंकका प्रतिशाखा पाँच ग्राहकले मात्रै त्यस्तो कर्जा सुविधा प्राप्त गर्न सक्ने छन् ।

यस्तै उद्योगको सञ्चालन अवस्था राम्रो रहेको वा विगत तीन वर्षको मुनाफा हेर्दा औषतमा प्रतिवर्ष पूँजीमा प्रतिफल २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायले भने त्यस्तो कर्जा पाउने छैनन् । चुरोट, सिगार, सुर्ती, खैनी, गुट्खालगायत सूर्तीजन्य उद्योग व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग व्यवसायलाई प्रवाह भएका कर्जा समेत अयोग्य हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७