‘भारतबाट आउनेको चाप थेग्न गाह्राे भाे, क्वारेन्टिनको विकल्प खोज्नु पर्‍यो’


२१ जेष्ठ २०७७, बुधबार
kwarentin

कैलाली, २१ जेठ । कैलालीका विभिन्न स्थानीय तहका प्रमुखले अहिले पालिकामा सञ्चालन भएका क्वारेन्टिनको विकल्प खोज्नुपर्ने बताएका छन् ।

भारतबाट फर्किने नेपालीको संख्या बढ्दै जान थालेपछि व्यवस्थापनमा समस्या भएको तथा फर्कने नेपालीको संख्या अझै बढ्ने अवस्था देखिएको भन्दै पालिका प्रमुखहरूले यस्तो बताएका हुन् ।

कैलालीको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले आफ्नो पालिकामा अब भारतबाट आउनेलाई व्यवस्थापन गर्न नसकिने भन्दै सङ्घीय सरकारका प्रतिनिधि र कैलालीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको बताएका छन् ।

प्रमुख चौधरीले ठूलो संख्यामा आएकाहरूको व्यवस्थापन गर्न क्वारेन्टिनको मापदण्ड पूरा नगरी क्वारेन्टिन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको र त्यस्ता क्वारेन्टिनबाट झनै जोखिम रहेको बताउँदै विकल्प खोज्नुपर्ने बताए ।

भारतमा रहेका नेपालीको बढ्दो आवागमन तथा पालिकामा मौज्दात रहेको भौतिक संरचना र जनशक्तिले थेग्न निकै चुनौती रहेको कारण क्वारेन्टिनलाई सञ्चालन गरेर नागरिकको व्यवस्थापन गर्न निकै चुनौती रहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले बताए ।

प्रमुख चौधरीले पालिकाभरिका जनप्रतिनिधि, सामाजिक अगुवा, शिक्षक तथा युवा शक्ति लाग्दासमेत व्यवस्थापनमा समस्या भएको भन्दै क्वारेन्टिनको विकल्पमा होम क्वारेन्टिनको व्यवस्थापनलाई अघि सार्नुपर्नेमा जोड दिए ।

कैलालीकै गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउद पालिकाभित्र रहेका विभिन्न सामुदायिक विद्यालय तथा सार्वजनिक भवन गरेर ३३ क्वारेन्टिनमा दुई हजार ५०० मानिसलाई राखिरहेको र अझै पनि भारतबाट आउने नेपालीको संख्यामा कमी नआएकाले पालिका यो भार धान्न सक्ने स्थितिमा नरहेको बताउँछन् ।

नगर प्रमुख साउद सार्वजनिक क्वारेन्टिनको विकल्पमा होम क्वारेन्टिनको व्यवस्थापनलाई अघि बढाउनुपर्ने बताउँछन् । स्थानीय तहले आफ्नो क्षमताअनुसारको व्यवस्थापन गरिरहेको तर त्यो पूर्णरूपमा पर्याप्त नभएको स्वीकार गर्दै साउदले यो सङ्कट समाधानका लागि कडा केन्द्रीय नीति अघि सारिनुपर्नेमा जोड दिए ।

जोखिमपूर्ण क्वारेन्टिनको विकल्पका रूपमा होम क्वारेन्टिनलाई प्रोत्साहन गर्नुपर्ने धारणा कैलालीको लम्किचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईको पनि छ । नगर प्रमुख बजगाई ठूलो संख्यामा नेपाली फर्कंदा व्यवस्थापनमा धेरै समस्या भइरहे पनि पालिका क्षमताअनुसारको व्यवस्थापनमा जुटिरहेको बताउँछन् ।

प्रत्येक वडामा क्वारेन्टिन निर्माण गरेर व्यवस्थापन गर्दा पनि सामूहिक बसाइ, सामूहिक शौचालयको प्रयोग तथा सामूहिक धारा बाध्यात्मकरूपमा प्रयोग गर्नुपर्दा जोखिम रहेकाले क्वारेन्टिनको विकल्पमा होम क्वारेन्टिनको अभ्यासलाई अनुशरण गर्नुपर्ने बताउँछन् ।

पछिल्लो समय भारतबाट आउनेको संख्या अत्यधिक बढेपछि कैलालीका विभिन्न स्थानीय तहमा ३१६ क्वारेन्टिन निर्माण गरिएका छन् । जसमा दुई हजार ३०० साठी महिला तथा १२ हजार ३१५ पुरुष गरेर जम्मा १४ हजार ६७५ क्वारेन्टिनमा बसिरहेको सुदूरपश्चिम स्वास्थ्य निदेशनालयको तथ्याङ्क छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७