काठमाडौंलगायत प्रमुख शहरमा लकडाउनको स्वस्फूर्त अवज्ञा

लकडाउन गराउने र कर उठाउने नीतिविरुद्ध देशभरका व्यवसायी आन्दोलित


२२ जेष्ठ २०७७, बिहीबार
luckdown in transport 7 scaled

काठमाडौं, २२ जेठ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अन्य विकल्प नसोची लकडाउन मात्रै लम्ब्याउँदै जाँदा व्यवसाय धरापमा पर्दै गएको भन्दै देशभरका उद्योगी–व्यवसायी आन्दोलित बनेका छन् ।

उनीहरूले मुलुकका प्रमुख सहरमा लकडाउनको विरोधमा पसलसमेत खोलेका थिए । झन्डै साढे दुई महिनादेखि उद्योग–व्यवसाय ठप्प हुँदा बैंकको साँवा–ब्याज तथा कर तिर्न मात्रै नभई दैनिक जीवनयापनमै समस्या भएको भन्दै व्यवसायीहरूले लकडाउनको अवज्ञा थालेका हुन् ।

काठमाडौं, वीरगन्ज, मकवानपुर, चितवन, पोखरा, नेपालगन्ज, सुर्खेत, दोलखालगायतका विभिन्न सहर बजारमा व्यवसायीले पसल खोलेर लकडाउनको अवज्ञा गरे । निजी क्षेत्रका छाता संगठनहरूको अगुवाइमा व्यवसायीहरूले निश्चित समय तोकेर आ–आफ्ना उद्योग–व्यवसाय सञ्चालन गर्न थालेका छन् ।

वीरगन्जमा युवाले कपडा खोलेर लकडाउनको विरोध प्रदर्शन गरेका थिए । हेटौंडामा पसल खोल्ने र प्रहरीले बन्द गर्ने लुकामारी चलेको थियो । नेपालगन्जमा लकडाउनको विरोधमा जिल्ला उद्योग वाणिज्य संघ आन्दोलित भएको छ ।

दोलखाका व्यवसायीले बिहान १२ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न थालिसकेका छन् । काठमाडौंको बौद्ध, जोरपाटीका व्यवसायीले ‘लकडाउन अब अति भयो’ भन्दै मंगलबार पसल खोले ।

व्यापारीहरूले स्वस्फूर्त रूपमा पसल खोल्न थालेपछि प्रहरीले सामान्य धरपकड समेत ग¥यो । व्यवसायीले पसल खोल्ने, तर प्रहरीले खोल्न नदिने कार्य हुँदा एकछिन सामान्य झडपसमेत भएको थियो । मंगलबार नै चितवनमा समेत व्यवसायीले लकडाउनको अवज्ञा गर्ने भन्दै सडकमा निस्किए ।

यसअघि नेपाल उद्योग वाणिज्य महासंघले लकडाउन लम्ब्याउँदै जाने सरकारी नीतिको विरोध गर्दै लकडाउन खुकुलो बनाउन माग गरिसकेको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन मात्रै बढाउँदै लैजाने सरकारी नीतिप्रति महासंघले विरोध जनाएको छ ।

दोलखामा १२ बजेसम्म खोलियो
दोलखामा उद्योग वाणिज्य संघको अगुवाइमा बिहान १२ बजेसम्म व्यापार व्यवसाय खोल्न थालिएको छ । जिल्ला प्रशासनसँगको सहमतिमै पसल तथा अन्य व्यवसाय खोल्न थालिएको संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताए ।

सुर्खेतमा पनि अवज्ञाको धम्की
सुर्खेत उद्योग वाणिज्य संघले कर्णाली प्रदेशका मुख्यमन्त्री र जिल्ला प्रशासन प्रमुखलाई लकडाउन खुकुलो बनाउन भन्दै मंगलबार ज्ञापनपत्र बुझाएको छ ।

लकडाउन खुकुलो नबनाए व्यवसायीले स्वस्फूर्त रूपमा त्यसको अवज्ञा गर्ने संघका महासचिव लक्ष्मण कँडेलले बताए । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुका साथै सामाजिक दूरी कायम राखेर सुर्खेतका व्यापार व्यवसाय दुई–तीन दिनभित्र सञ्चालन गरिने उनले बताए । अहिले पनि केही–केही पसलहरू भने खुल्न थालिसकेको उनले जानकारी दिए ।

पोखराका व्यवसायीको चेतावनी
पोखरा उद्योग वाणिज्य संघले लकडाउन खुकुलो नबनाए अवज्ञा गर्ने चेतावनी दिएको छ । संघले बुधबार पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । संघका अध्यक्ष दामु अधिकारीले सरकार आफैँले लकडाउन खुकुलो बनाएर व्यवसाय सञ्चालन गर्ने वातावरण नबनाए व्यवसायी आफ्ना व्यवसाय सञ्चालन गर्न बाध्य हुने चेतावनी दिए ।

वीरगन्जमा युवाको प्रदर्शन
लकडाउनको विरोधमा वीरगन्जका युवाले कपडा खोलेर प्रदर्शन गरेका छन् । उनीहरूले निश्चित मापदण्ड तोकेर उद्योग–व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउन समेत सरकारसँग माग गरेका छन् ।

‘लकडाउन लम्बिए आर्थिक र सामाजिक दुर्घटना निम्तिन्छ’
आयात–निर्यातकर्ता व्यवसायीहरूको संस्था नेपाल समुद्रपार निकासी–पैठारी संघले पनि लकडाउन खुकुलो बनाउन माग गरेको छ ।

संघले विज्ञप्ति नै जारी गरेर लकडाउनका कारण अर्थतन्त्र र जनजीवनमा थेग्नै नसक्ने चाप परेको भन्दै लकडाउन खुकुलो गरी व्यावसायिक गतिविधि सञ्चालन गर्न दिन माग गरेको हो ।

हेटौंडामा व्यवसायी पसल खोल्ने, प्रहरी बन्द गर्ने
लामो समय लकडाउन हुँदा व्यवसाय धराशायी भएको भन्दै व्यवसायीले लकडाउनको अवज्ञा गरेका छन् । उनीहरूले प्रशासनको अनुमतिविना पसल खुला गर्न थालेका छन् ।

मकवानपुर प्रशासनले बिहान ६ देखि ९ बजेसम्म अतिआवश्यक वस्तु खरिद–बिक्रीबाहेक सबै बन्द गरेको छ । तर, बुधबार भने उद्योग वाणिज्य संघको नेतृत्वमा बजारमा सबै किसिमका पसल खुला भए । संघले १९ जेठमा पत्रकार सम्मेलनमार्फत २१ जेठदेखि प्रशासनले अनुमति नदिए पनि सबै पसल खुला गर्ने जनाएको छ ।

बुधबार प्रहरी र व्यवसायीबीच करिब २ घन्टा रमिते चर्तिकला भएको थियो । पसल खुला भएपछि प्रहरीले तत्काल बन्द गरेका थिए । व्यवसायी सटर खुला गर्ने र प्रहरी पछि–पछि बन्द गर्दै भिडभाड हटाउने प्रयासमा जुटेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेका अनुसार कोरोना प्रभाव र लामो समय लकडाउनले व्यवसाय धराशायी हुँदै गएको अवस्थामा बिहान ६ देखि ९ बजेसम्म सबै किसिमका पसल खुला गर्न प्रशासनसँग बारम्बार अनुरोध गरिएको थियो । तर, कुनै सुनुवाइ नभएपछि लकडाउनको अवज्ञा गर्नुको कुनै विकल्प नरहेको न्यौपानेले बताए ।

यता, मकवानपुर प्रजिअ दीपकराज नेपालले प्रशासनको अनुमतिविना पसलहरू खुला गरिएपछि प्रहरी परिचालन गराएर बन्द गराउनुपरेको जानकारी दिए । प्रजिअ नेपालले अनुमतिविना अत्यावश्यक सेवाबाहेकका पसलहरू खोल्न नपाइने र खोलिए कारबाही गर्ने बताएका छन् ।

हेटौँडाको मेनरोड, राप्तीरोड, स्कुलरोड, कान्तिराजपथ, पारिजातपथ, टिसिएनरोड, बसपार्कलगायतका क्षेत्रमा कपडा, जुत्ता पसलदेखि साना होटेल र मदिरा पसल पनि खुलेका थिए । प्रहरी प्रशासनले बिहान ९ बजेपछि पसल बन्द गर्न अनुरोध गरे पनि पछिल्लोपटक थप गरिएको लकडाउनदेखि बजारका अधिकांश पसल लुकिछिपी खुला हुने गरेका छन् ।

राहत माग्दै नेपालगन्जका व्यवसायी आन्दोलित
नेपालगन्ज उद्योग वाणिज्य संघले निजी क्षेत्रका लागि तत्काल राहत घोषणा गर्न माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । सरकारले २५ जेठभित्र कर तिर्नुपर्ने म्यादलाई ७ असारसम्म पुर्‍याए पनि अपर्याप्त भएको भन्दै संघले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

संघले जिल्ला प्रशासन कार्यालयमार्फत अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएको छ । संघले बिहीबार बिहान ९–१० बजेसम्म कर तिर्न नसक्ने व्यहोरासहितका प्लेकार्ड राखेर आ–आफ्नो प्रतिष्ठान वा घरबाट विरोध प्रदर्शन गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेको छ ।

त्यसपछि उद्योगी–व्यवसायीसँग छलफल गरी आवश्यक रणनीति तय गर्ने निर्णय भएको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी दिए । संघका महासचिव चिरञ्जीवी ओलीका अनुसार लकडाउन अवधिभरलाई शून्य समय मानी तिर्नुपर्ने सम्पूर्ण कर लकडाउन खुलेको कम्तीमा तीन महिनापछि तिर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७