फ्लोइड मृत्यु प्रकरण : यातना दिर्ने प्रहरीविरुद्ध सेकेण्ड डिग्री हत्याको नयाँ अभियोग


२२ जेष्ठ २०७७, बिहीबार
floy

काठमाडौं, २२ जेठ । अमेरिकाको मिनेशोटामा एक अश्वेत व्यक्ति जर्ज फ्लोइडलाई यातना दिएर हत्या गरेको अभियोग लागेका प्रहरी अधिकारीलाई लगाइएको मुद्दा परिवर्तन गरिएको छ ।

शुरुमा सामान्य अभियोग अर्थात् ‘थर्ड डिग्री हत्याको’ दोषी ठानिएका उनीहरुलाई अब ‘सेकेण्ड डिग्री हत्याको’ नयाँ अभियोग दर्ता गरिएको हो ।

फ्लोइडलाई नियन्त्रणमा लिइसकेपछि बर्बर ढंगले यातना दिँदा उनको मृत्यु भएको थियो । प्रहरीले यातना दिएको भिडियो सार्वजनिक भएर प्रदर्शन हुन थालेपछि घटनामा संलग्न चार प्रहरीलाई बर्खास्त गरिएको थियो ।

गत मे २५ मा अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसका ४६ वर्षे फ्लोइडको प्रहरी हिरासतमै मृत्यु भएको थियो । उनलाई स्थानीय प्रहरी अधिकारीले पक्राउ गर्ने क्रममा घुँडाले घाँटीमा झण्डै ९ मिनेट थिचेको र उनले मलाई श्वास फेर्न गाह्रो भयो भनिरहेको भिडियो सार्वजनिक भएको थियो ।

उनको निधनपछि अमेरिकाका सबै राज्यमा प्रहरी ज्यादती र रंगभेदविरुद्ध तथा न्यायको माग गर्दै लगातार प्रदर्शन भइरहेको छ । प्रदर्शन शुरु भएपछि घाँटीमा घुँडाले थिच्ने डेरेक चुभनसहित त्यहाँ उपस्थित अरु तीन प्रहरी अधिकारीलाई बर्खास्त गरिएको थियो ।

‘थर्ड–डिग्री मडर’ को अभियोगमा मुद्दा दर्ता गरी पक्राउ गरिए पनि चुभनलाई ‘फस्ट–डिग्री मर्डर’ कै अभियोग दर्ता हुनु पर्ने माग गर्दै प्रदर्शन भइरहँदा सेकेण्ड डिग्री मर्डरको अभियोग लगाइएको हो । यसअघि कुनै पनि अभियोग दर्ता नभएका अरु तीन पूर्व प्रहरी अधिकारीमाथि पनि हत्याका लागि सहयोग वा उक्साएको अभियोग दर्ता गरिएको छ ।

९ दिनदेखिको प्रदर्शन अमेरिकाभर फैलिएको छ भने कतिपय शहरमा हिंसात्मक बनेको छ । आगजनी, तोडफोडका घटना बढेपछि शहरहरुमा कफर्यू लगाउनु परेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आन्दोलन दबाउनका लागि सेना परिचालन गर्नेसम्मको धम्की दिएका छन् । जसले प्रदर्शनमा घ्यू थपेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७