देवेन्द्र पौडेलको संयोजकत्वमा रुकुम पश्चिम घटनाको छानविन गर्न संसदीय विशेष समिति गठन


२६ जेष्ठ २०७७, सोमबार

काठमाडाैं, २७ जेठ।  रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानबिन गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय विशेष समिति गठन भएको छ ।

प्रतिनिधिसभाको बैठकले पश्चिम रुकुममा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनाको छानविन गर्न पौडेलेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिको सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् ।समितिलाई ३० दिनको समयावधी दिइएको छ ।

यसअघि बैठकमा सांसदहरुले उक्त घटनाको छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका थिए ।

गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए । त्यसमा नवराजसहित भेरी नगरपालिका–४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा–११ का गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका– १ पश्चिम रुकुमका टीकाराम सुनारको सोती घटनामा ज्यान गएको हो ।

नवराज विक र सोतीका मल्ल थरकी एक युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण उब्जिएको घटनाले उनीहरू सबैको ज्यान लिएको छ । गत १० जेठमा पश्चिम रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा नवराजकी प्रेमिकालाई भगाउन गएका जाजरकोटका १९ युवामध्ये ६ जनाको मृत्य भएको थियो ।

उनीहरुको शव भेरी नदीमा भेटिएको थियो । घटनामा संलग्नता भएको आरोपमा प्रहरीले २५ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७