मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग


२८ जेष्ठ २०७७, बुधबार
lalbabu

काठमाडौं, २८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ ।

नेकपा नेता तथा अनेरास्ववियुका केन्द्रीय सदस्य चन्द्रभुषण साहले भ्रष्टाचार तथा अनियमिततामा संलग्न मन्त्री र राज्यमन्त्रीलाई मुख्यमन्त्री राउतले कारवाही नगरेको आरोप लगाउँदै राजीनामा दिनुपर्ने बताएका छन् ।

‘आफैले नेतृत्व गरेको सरकारभित्रको राज्यमन्त्री स्वयं आफैं बोलिरहेको स्पष्ट अडियो भाइरल भई सम्बन्धित पक्षले स्वीकार गरिसक्दा पनि कारवाही गर्न नसक्ने निरीह, लाचार एवं असक्षम मुख्यमन्त्री राउत पदमा रहिरहनुको अब कुनै तुक र औचित्य छैन्’ साहले भनेका छन् ।

केही समयअघि प्रदेश–२ का राज्यमन्त्री योगेन्द्रराय यादवले भ्रष्टाचार र अनियमितता प्रकरणमा आफू जसरी पनि जोगिने तथा अब केवल मन्त्री शैलेन्द्र साह मात्र फस्ने कुरा स्पष्ट रुपमा गरिरहेको अडियो सार्वजनिक भएपछि उनको बचाऊमा मुख्यमन्त्री राउत लागेको आरोप साहको छ ।

राज्यमन्त्री यादवको सो अडियो भाइरल हुँदा समेत मन्त्रीद्वय साह र यादवले न्यूनतम नैतिकताको आधारमा राजीनामा दिन नसक्नु पदलोलुपता एवं निर्लज्जताको पराकाष्ठ रहेको भन्दै प्रदेश–२ मा चर्चाको बिषय बनेको छ ।

‘आम जनताको रगत–पसिना मिसिएको करबाट तलब–भत्ता खाने हाम्रा प्रदेश सांसदहरुलाई समेत यी र यस्ता जनसेवा र जनसरोकारका विषयहरुमा सशक्त रुपमा निरन्तर आवाज बुलन्द गर्न विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दै बेथिति र भ्रष्टाचारमा संलग्न राज्यमन्त्री तथा मन्त्रीसहित मुख्यमन्त्री लालबाबु राउतको राजीनामा जोडदारपूर्वक माग गर्दछु’ साहले लेखेका छन् ।

कोरोना भाइरसको महामारी र लकडाउनका बेला मुख्यतः भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय थप संवेदनशील हुँदै कम्तिमा प्रदेशभरका किसानहरुका लागि समयमैं आवश्यक मात्रामा गुणस्तरका विउ–वीजन, मल–खाद्यहरूको सहज एवं सुलभ उपलब्धताको ग्यारेन्टी, कृषि बालीनालीका लागि आवश्यक बजार व्यवस्थापन तथा शीत–भण्डारण, कृषि क्षेत्रमा वैज्ञानिक आधुनिकीकरणको मद्दतले निर्वाहमुखी कृषिलाई व्यवसायमुखी बनाउन ठोस कार्ययोजनासहितको कार्यान्वयन गर्नुपर्ने माग उनले गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७