विदेशबाट नेपाली ल्याउन तोकियो समय र भाडादर, कहाँको उडान कहिले र कति भाडा ?


२९ जेष्ठ २०७७, बिहीबार
airliance2020 06 10 05 12 38

काठमाडौं, २९ जेठ । कोरोना भाइरस महामारीका कारण समस्यामा परिरहेका नेपालीको स्वदेश फिर्तीका लागि समय तालिका, जहाज र भाडादर निर्धारण भएको छ ।

कोरोना महामारीका कारण समस्या भोगिरहेका विभिन्न देशबाट स्वदेश फर्किने नेपालीका लागि सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जहाज र भाडा तोकेको हो ।

नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्ससँगै अब विदेशी जहाजले पनि उद्धारका लागि उडान गर्न पाउने भएका छन् । नेपाल एयरलाइन्सले २४ र हिमालय एयरलाइन्सले १९ उडान गर्ने तालिका सार्वजनिक गरिएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिएका छन् ।

उनका अनुसार तत्काललका लागि २४ वटासम्म विदेशी उडान गर्न दिने निणर्य भएको छ । उनका अनुसार स्वदेश फर्किन विवरण बुझाएकालाई पहिलो चरणमा स्वदेश फर्काइने भएको छ । नेपाल फर्किने नेपालीले स्वास्थ्य परीक्षण गराई आफूलाई कोरोना नभएको प्रमाण पेस गर्नुपर्नेछ । अन्यथा नेपाल आउन रोकिने छ ।

पहिलो चरणको प्राथमिकतामा परेका ३० देशका २४ हजार १४८ नेपालीको स्वदेश फिर्तीका लागि संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड १९ व्यवस्थापन केन्द्र सिसीएमसीलाई बुझाएको छ । मन्त्रालयले सीसीएमसीलाई उपलब्ध गराएको तालिका अनुसार जेठ ३२ गतेदेखि असार ११ गतेसम्म पहिलो चरणको उडान तालिका बनेको छ ।

कुन देशको उडान कहिले  ?

कुवेतमा आममाफीमा सहभागी तीन सय नेपाली महिलाई लिएर आज (बिहीबार) कुवेतबाट दुईटा जहाज नेपाल आउने निश्चित भइसकेको छ । उनीहरुलाई कुवेत सरकारले आफ्नै खर्चमा पठाउन लागेको हो । उनीहरुलाई हिजै (बुधबार) स्वदेश फर्काउने तयारी गरिएको भए पनि रोकिएको थियो ।

यस्तै कुवेतबाट अर्को उडान असार २ गते, ५ गते, ७ गते र १० गते हुने तय भएको छ । असार २ गते, ३ गते, ६ गते र ८ गते कतारमा समस्यामा परेका नेपालीको स्वदेश फर्काउने तालिका तय भएको छ ।

यूएईमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २ गते, ४ गते, ६ गते र असार ९ गते उडान हुनेछ भने मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १ गते, ४ गते, असार ६ गते र ७ गते उडान हुनेछ । साउदीमा समस्यामा परेका नेपालीलाई ल्याउन असार १ गते, ४ गते, ५ गते र १० गते उडान हुनेछ ।

त्यस्तै यूएईमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २ गते, ४ गते, ६ गते र असार ९ गते उडान हुनेछ । मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १ गते, ४ गते, असार ६ गते र ७ गते उडान हुनेछ ।

ओमानमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो उडान असार १ गते हुने भएको छ । त्यसपछि अर्को उडान असार ४ गते, ७ गते हुनेछ भने बहराइनमा समस्यामा परेका नेपालीलाई असार ३ गते स्वदेश ल्याइने भएको छ ।

कहाँबाट आउन कति भाडा ?
सरकारले प्राथमिकताको आधारमा नेपाल ल्याउने नेपालीले विभिन्न देशबाट आउँदा आफैले टिकट काट्नु पर्नेछ । सरकारले उद्दार गर्नका लागि सूची तय गरेको ३० देशबाट आउनका लागि हुने चार्टर्ड उडानको भाडादर पनि तोकेको छ ।

साउदीको दमामबाट आउने नेपालीले ५९० अमेरिकी डरल, रियादबाट आउनेले ६३० अमेरिकी डलर र जेद्दाबाट आउनेले ७७० अमेरिकी डलर भाडा तिर्नु पर्नेछ ।

यूएईको दुबईबाट आउनेले ५०० अमेरिकी डलर, आबुधाबीबाट आउनेले ५०० अमेरिकी डलर र सारजाहबाट आउनेका लागि पनि ५०० अमेरिकी डलर भाडा तोकिएको छ ।

यस्तै ओमानबाट ५१० अमेरिकी डलर, मलेसियाको राजधानी क्वाललम्पुरबाट आउनेका लागि ५२० अमेरिकी डलर, कतारको दोहाबाट आउनेले ५४५ अमेरिकी डलर र बहराइनबाट स्वदेश फर्कने नेपालीका लागि ५४५ अमेरिकी डलर र कुवेतबाट आउनेका लागि ५७० अमेरिकी डलर भाडा निर्धारण भएको छ ।

माल्दिभ्सबाट आउनेले ५०५ अमेरिकी डलर, जोर्डनबाट आउनेका लागि ८१५ अमेरिकी डलर, साइप्रसबाट आउनेका लागि ८७५ अमेरिकी डलर, जापानको नारिताबाट आउनेका लागि ९३५ अमेरिकी डलर भाडा सरकारले तोकेको छ ।

सुडानको खार्तुनबाट आउनेका लागि ९४० अमेरिकी डलर, फ्रयाङकफर्टबाट आउनेका लागि १२५५ अमेरिकी डलर, लन्डनबाट आउनेका लागि १३४० अमेरिकी डलर भाडा तोकिएको छ ।

बांगलादेशबाट आउनेका लागि १६५ अमेरिकी डलर, नयाँ दिल्लीबाट २०५ अमेरिकी डलर, मुम्बइबाट आउनेका लागि ३१० अमेरिकी डलर, बैंगलोरबाट आउनेका लागि ३३५ अमेरिकी डलर, बैंककबाट आउनेका लागि ३९० अमेरिकी डलर, कम्बोडियाबाट आउनेका लागि ४०० अमेरिकी डलर र हङकङबाट आउनेका लागि ५५० अमेरिकी डलर भाडा तोकिएको छ ।

पर्यटन मन्त्रालयले उडान तालिका र भाडादर बुझाए पनि कति मान्छे ती उडानबाट नेपाल आउँछन् भनेर सिसीएमसीले हिसाब गर्ने जनाइएको छ । विभिन्न देशमा रहेका ५६ हजारले नेपाल फर्किन चाहेका थिए ।

खाडीका देश र मलेसियाबाट मात्रै नेपाल फर्कन खोज्ने ४० हजारभन्दा धेरै रहेका छन । उनीहरुबाट परराष्ट्र मन्त्रालयले २४ हजार १४८ जनालाई पहिलो चरणमा उद्धार गरिने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७