‘कोइरालाको कुनो’ बन्यो कालिज फार्म


प्रकाशित मिति : 11 June, 2020 5:09 pm

पोखरा, २९ जेठ । पोखरा–४ गैह्रापाटनका प्रकाश कोइरालालाई एक दिन पुख्यौली सम्पत्तिको याद आयो । बाबुबाजेले जोगाएको सम्पत्तिप्रति चासो बढेसँगै एक बिहानै हुँइकिएर उनी पोखरा–२६ लेखनाथस्थित गुँदेताल पुगे ।

भिरालो पाखोबारी जङ्गलमा परिणत भएको थियो । स्थानीयवासीले घाँस दाउरा गर्ने उक्त स्थानलाई नामकरण गरिदिएका थिए ‘कोइरालाको कुनो’ । २२ रोपनी पाखोलाई एक बिहान नियालेर फर्केसँगै उनको मनमा अनेक कुरा खेल्यो ।

पुख्र्यौली सम्पत्तिको सदुपयोगका लागि धेरै विकल्प अघि आए, शुरुमा कुखुरा पाल्ने सोच पनि आयो । उनले युट्युबबाट जानकारी लिने क्रमममा कालिज फार्मका बारेमा भेटे । कालिजबारे राम्रै जानकारी भेटियो । मन बदलियो कुखुराबाट कालिजतिर । घर परिवारबाट पनि राम्रो प्रतिक्रिया पाएपछि उनी थप उत्साहित भए ।

सफल मान्छे नयाँ काम गर्दैनन् तर त्यही काम फरक ढङ्गले गर्छन् भन्ने उदाहरण कोइरालाले दिएका छन् । उमेरले ३५ वर्ष पुग्दै गर्दा उनको एक सफल युवा व्यवसायीको छवि बनिसकेको छ ।

पोखराको चिप्लेढुङ्गामा पोखरा बाराही ज्वेलर्स, फेवा डेण्टल क्लिनिक, मुनाल ड्राइभिङ इन्स्टिच्युटका सञ्चालक समेत रहेका कोइरालाले पुराना गाडी खरिद बिक्रीका लागि रिकण्डिशन हाउस समेत सञ्चालन गरेका छन् ।

गत भदौमा पाखो जग्गालाई डोजरले सम्याएर कालिज व्यवसायमा जुटेका कोइराला अहिले सात रोपनी क्षेत्रफलमा कुनो एकीकृत कृषि फार्म सञ्चालन गरेर रिङनेक जातका कालिज कृषिकर्मतिर पनि आफूलाई स्थापित गर्दैछन् । बन्दाबन्दी छ । धेरैलाई दिन बिताउन मुस्किल छ ।

कोइराला भने फार्ममा कालिजसँग रमाइरहेका छन् । गत भदौमा फ्रान्सबाट ल्याइएका अण्डालाई काठमाडौँमा ह्याचिङ गरेर ५०० चल्लाबाट शुरु गरिएको फार्मले अहिलेसम्म चार हजार चल्ला बिक्री वितरण गरिसकेको छ ।

यहाँबाट देशका विभिन्न कालिज फार्ममा चल्ला जाने गरेको उनको भनाइ छ । दैनिक पाँच–सात जना कालिजबारे बुझ्न र खरिदका लागि फार्ममा पुग्ने गरेका छन् । अहिले दुई हजार ५०० भन्दा बढी चल्ला हुर्किरहेका छन् । यो व्यवसायमा उनका ठूलो बुबाका छोरा कवीन्द्र कोइरालाले पनि साथ दिइरहेका छन् ।

कोइरालाका अनुसार नौ महिनामा कालिजले अण्डा दिन शुरु गर्छ । प्रतिचल्ला रु एक हजार ५०० र परिपक्व माउ रु चार हजारमा बिक्री हुँदै आएको छ । भाले कालिजको तौल करिब दुई किलो र पोथी कालिज डेढ किलोसम्म हुने गरेको उनको भनाइ छ ।

अहिले भने भाले कालिज मात्रै बिक्री वितरण गरिएको छ । कोइराला भने, ‘हप्ता १० दिनको बीचमा ह्याचिङ मेसिनमा अण्डा लाने गर्छु । २४ देखि २५ दिनमा चल्ला निस्कने गर्दछ, आयातित भए पनि सहजै वातानुकूलित भएको छ, १०० अण्डाबाट ८०–८५ चल्ला निस्कने गरेको छ ।’

कोइरालाले कालिजका लागि प्रोटिनयुक्त खाना आवश्यक पर्ने भएकाले आफँले रिसिपी दिएर सोहीअनुसारको दाना बुटवलबाट मगाउने गरेका छन् । कालिजले कटुस पात, नरम घाँस, काउली बन्दा पनि खाने गर्छ ।

जङ्गली कुखुरा भनेर चिनिने कालिज नेपालमा पाल्न र शिकार गर्न प्रतिबन्ध छ तर यो विदेशबाट आयाति रिङनेक जातिको कालिज हो । यो पाल्न र बिक्री वितरणमा सरकारले अनुमति दिएको उनको भनाइ छ । कोइरालाले आफ्नो उत्पादनलाई आफै बेच्न सोही ठाउँमा रेष्टुरेण्ट पनि सञ्चालन गरेका छन् ।

‘कालिजको मासु स्वादिष्ट हुने भएकाले यसको माग पनि बढिरहेको छ, आफ्नो उत्पादनको बिक्रीलाई सहज बनाउनका लागि हामीले रेष्टुरेण्ट पनि सञ्चालन गरका हौँ । यो सँगै कृषिजन्य अन्य कार्यलाई पनि थप्दै जाने सोच छ । अहिले पाँच रोपनी क्षेत्रफलमा माछापालनको तयारी भइरहेको छ’, कोइरालाले भने ।

उनले आसपासको क्षेत्रमा होमस्टे कटेज सञ्चालनको गर्ने योजनालाई पनि अगाडि बढाउने तयारी गरेका छन् । सात कर्मचारी रहेको फार्ममा रु डेढ करोडको लगानी भइसकेको छ । मनोरम सुन्दर दृष्यवलोकनसहित गुँदेताल छेउमा रहेको कुनो एकीकृत कृषि फार्मको उत्पादनलाई फेवाताल छेउमा पनि विस्तार गर्ने उनको अर्को योजना छ ।

कोरोनाका कारण देश फर्कन चाहने थुप्रै युवाले कालिज फार्मका बारेमा रुचि देखाएको र सामाजिक सञ्जालमार्फत जानकारी लिइरहेका छन् । ‘अहिले कोरोनाका कारण देश फर्कन चाहने थुप्रै युवाले यस व्यवसायका बारेमा चासो राख्नु भएको छ । सम्भव भएसम्म जानकारी दिइरहेको छु’, उनले भने ।

भविष्यमा आवश्यक परे यसका बारेमा तालिम सञ्चालन गरेरै युवालाई कृषि कर्ममा प्रेरित गर्न आफू तयार रहेको उनको भनाइ छ । कालिज फार्ममा भेटिएका पोखरा उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य सोवित पौडेलले कालिजको मासु निकै स्वादिष्ट हुने भएकाले खरिदका लागि आएको बताए ।

नेपालमा हिमाल, पहाड र तराईमा गरेर आठ प्रकारका कालिज पाइने गरेको चराविज्ञ डा. हेमसागर बरालले जानकारी दिए । उनका अनुसार नेपालमा पाइने कालिजमा डाँफे, मुनाल, फोक्रास, कालिज, चिलिमे, चिर, मुजुर र लुइँचे जातिका छन् । नेपालमा रहेका कालिज राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ अनुसार पाल्न र शिकार गर्न निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्