देशव्यापी बन्दै आन्दोलन


३१ जेष्ठ २०७७, शनिबार
birodh 1

काठमाडौं, ३१ जेठ । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै युवाले काठमाडौंसहित मुलुकका विभिन्न सहरमा सरकारविरुद्ध प्रदर्शन चर्काएका छन् ।

सार्वजनिक स्थलमा सभा, समारोह, भीडभाड र प्रदर्शन गर्न नपाउने सरकारको निर्णय अवज्ञा गर्दै ‘नेतृत्वविहीन’ र ‘असंगठित’ समूहले प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

कोरोनाको पीसीआर परीक्षण दायरा बढाउनुपर्ने, क्वारेन्टाइन र आइसोलेसन सुधार गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई सुरक्षितसाथ नेपालमा ल्याइनुपर्ने, स्वास्थ्य सामग्री खरिद अनियमितता छानबिन हुनुपर्ने, खर्च पारदर्शी बनाउनुपर्नेलगायत मागसहित उनीहरू सडकमा उत्रिएका छन् ।

युवाले शुक्रबार काठमाडौं उपत्यकाका साथै बुटवल, भैरहवा, कपिलवस्तु, गोरखा, तनुहँ, उदयपुर, हेटौंडा, काभ्रे, पाल्पामा प्रदर्शन गरे । राजधानीमा ‘कोभिड–१९ नेपाल इनफ इज इनफ’ समूह बनाएर सरकारविरुद्ध मौन प्रदर्शन आह्वान गरिएको छ । त्यस्तै ‘वेक एन्ड सेभ लाइभ्ज नेपाल’ नामको फेसबुक समूहबाट पनि आन्दोलन आह्वान गरिएको छ ।

फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालबाट आन्दोलनका लागि आह्वान गरिएको छ । शुक्रबार सरकारविरुद्ध काठमाडौंमा ७ र भक्तपुर र ललितपुरमा २र२ स्थानमा प्रदर्शन भए ।

थानकोटरगुर्जुधारा, कलंकी, माइतीघर, सल्लाघारी, सूर्यविनायक, भूगोलपार्क, वसन्तपुर, पागा दोबाटो (कीर्तिपुर), मूलपानी, झम्सीखेल, पेप्सिकोला र पुलचोकमा प्रदर्शन भएको थियो । प्रदर्शन बढ्दै जाँदा कोभिड–१९ संक्रमण फैलिने जोखिम छ । प्रदर्शन नेतृत्वविहीन र असंगठित भएकाले ‘स्थिति नियन्त्रण’ मा लिन कोसँग समन्वय गर्ने भन्नेमा पनि सुरक्षाकर्मीहरूलाई अन्योल थपिएको छ ।

प्रदर्शनमा विपक्षी दलका नेता, कार्यकर्ता पनि परिचय लुकाएर सडकमा आएका छन् । धेरैजसो प्रदर्शनमा विवेकशील नेपाली दलका नेतारकार्यकर्ताहरूको उपस्थिति देखिएको छ ।

भक्तपुरको प्रदर्शन कांग्रेस, विवेकशील र साझा पार्टी समर्थितको उपस्थिति रहेको प्रहरी स्रोतले बताएको छ । विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेले सरकारका बेथितिविरुद्ध पार्टीगत रूपमा नभई स्वस्फूर्त रूपमा भएका आन्दोलन र प्रदर्शनमा आफूहरूको ऐक्यबद्धता रहेको बताए ।

बुधबार बालुवाटार घेराउ गर्ने क्रममा खुर्सानीटार क्षेत्रमा विवेकशीलका वरिष्ठ नेता उज्ज्वल थापा नै उपस्थित थिए । थापासहितको भीडलाई पानीको फोहोरा हानेर प्रहरीले तितरबितर पारेको थियो ।

शुक्रबारको सूर्यविनायक–सल्लाघारीमा भएको प्रदर्शनमा कांग्रेस जिल्ला सभापति दुर्लभ थापा नै सहभागी भएका थिए । प्रदर्शनप्रति जनता समाजवादी पार्टी र साझा पार्टीले पनि ऐक्यबद्धता जनाएका छन् । सरकारविरुद्ध चर्किएको गैरराजनीतिक र असंगठित आन्दोलन भनिए पनि यसको ‘जस’ लिन संसद्मा विपक्षी र बाहिर रहेका दलहरूबीच नै प्रतिस्पर्धा देखिएको छ ।

शान्तिपूर्ण आन्दोलन र विरोध प्रदर्शन गर्दा स्थानीय प्रशासनलाई पूर्वजानकारी दिनुपर्ने भए पनि त्यस्तो देखिएको छैन । गृह मन्त्रालयले लकडाउन उल्लंघन र संक्रमणको जोखिमलाई बेवास्ता गर्दै भएका आन्दोलन तथा प्रदर्शन नियन्त्रणमा लिन बिहीबार निर्देशन दिएको थियो ।

तर युवाले मुखुन्डो लगाएर र हातहातमा प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गर्न भ्याए । बुधबार र बिहीबार बालुवाटार क्षेत्रमा भएका प्रदर्शनमा प्रहरीले बल प्रयोग गरे पनि शुक्रबार प्रदर्शन शान्त रहेको प्रहरीका एक अधिकारीले बताए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले ‘हेल्थ प्रोटोकल’ पालना गरेर ५ जनासम्मलाई भेला हुन दिने व्यवस्था भएको उल्लेख गर्दै त्यसभन्दा बाहेकका प्रदर्शन, भीडभाड र विरोधका कार्यक्रम गैरकानुनी हुने बताए । गृह मन्त्रालयबाट पनि गैरकानुनी र कोरोना संक्रमण फैलाउने गरी कुनै पनि प्रदर्शन हुन नदिन स्पष्ट निर्देशन आएको बताए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पनि गैरकानुनी रूपमा हुने जुनसुकै हूलहुज्जत तथा भीड नियन्त्रणमा लिइने र सोहीअनुसार एक्सनमा जान सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताए ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले विरोध प्रदर्शन गर्नुपूर्व स्थानीय प्रशासनबाट अनुमति लिनुपर्नेमा लकडाउन नै उल्लंघन गरेर असंगठित जमात आन्दोलनमा उत्रिएकामा आफूहरूले गम्भीर रूपमा लिएको बताए ।

‘न लकडाउन पालना भयो, न संक्रमण फैलिन सक्ने जोखिमप्रति नै प्रदर्शनकारीहरू संवेदनशील देखिए । यसबाट आम मानिसको स्वास्थ्यमा खेलबाड हुनुका साथै विधि र कानुनको पनि उल्लंघन भएको छ,’ उनले भने । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७