वाग्मतीमा १८४, गण्डकीमा १९७ कोरोना पुष्टि


३१ जेष्ठ २०७७, शनिबार
korona 1

काठमाडौं, ३१ जेठ । वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको संख्या १८४ पुगेको छ ।

प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौंमा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए ।

उनका अनुसार प्रदेशका कोरोना सङ्क्रमितमध्ये ४३ उपचारपछि घर फर्किएका छन् । प्रदेशमा देशको कूल सङ्क्रमणको करिब चार प्रतिशत (३.६५) सङ्क्रमण छ । प्रदेशमा कोरोनाका कारण चार जनाले ज्यान गुमाउनु परेको छ । हालसम्म नेपालमा पाँच हजार ६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने यस भाइरसका कारण १६ जनाको मृत्यु भएको छ ।

त्यसैगरी गण्डकी प्रदेशका पर्वत र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा गरी आज थप पाँच जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ६ बजे विज्ञप्ति जारी गरी पर्वतमा चार र नवलपरासीमा एक नयाँ सङ्क्रमित थपिएको जनाएको छ । प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या १९७ पुगेको जनाएको छ ।

पर्वतको कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका एक जना छ वर्षीय बालक र वर्ष १७ की एक महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

पर्वतकै जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका वर्ष १७ का एक पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका वर्ष १६ का अर्का एक पुरुषमा सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार नवलपरासीको मध्यविन्दु नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ४५ का एक पुरुषमा समेत सङ्क्रमण पुष्टि भएपछि रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

हालसम्म गण्डकी प्रदेशका हिमालपारिका मनाङ र मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । स्याङ्जामा ६०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ४३, बागलुङमा ४०, पर्वतमा २६, गोरखामा १५, कास्कीमा पाँच, तनहुँमा चार, म्याग्दीमा तीन र लमजुङमा एक सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये नौ महिला छन् । गण्डकी प्रदेशका गत चैत १५ गते बाग्लुङका एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो ।

हालसम्म सङ्क्रमितमध्ये ११ उपचारपछि घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सङ्क्रमितमध्ये स्याङ्जाका एक जनाको मृत्यु भएको छ । हालसम्म प्रदेशमा छ हजार ८५२ को पिसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन (स्वाब) लिइएकामा पाँच हजार ३४ को नतिजा नेगेटिभ आएको छ ।

स्वाब लिइएकाहरुमध्ये अझै एक हजार ६२६ को नतिजा आउन बाँकी रहेको निर्देशनालय अन्तर्गतको प्रादेशिक आपत्कालनी कार्य सञ्चालन केन्द्रका प्रमुख नवराज शर्माले जानकारी दिए । प्रयोगशालाबाट नजिता आउन ढिलाइ भएपछि प्रदेश सरकारले प्रयोगशालाको क्षमता वृद्धि गर्न थप पिसीआर मेसिन खरिदको प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७