किसान सक्रिय : मल अभाव

बल्ल–बल्ल छरेको धानको बीउ मल हाल्न नपाएपछि खेतमै सुक्दै


३१ जेष्ठ २०७७, शनिबार
khet

काठमाडौं, ३१ जेठ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच किसानहरु सुरक्षित तरिकाले राजधानीको उत्तरपूर्वी भेगमा रोपाइँलगायत कृषि कर्ममा खट्न थालेका छन् ।

बन्दाबन्दी शुरु भएको ८० दिन बितिसक्दा पनि सङ्क्रमण बढ्दै जान थालेपछि किसान सुरक्षित तरिकाले खेतीमा लाग्न थालेका हुन् । गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकामा खेतीका लागि अझै खुला फाँट छ । फाँट प्रत्येक वर्ष घट्दै जाँदैछ । विगत वर्षमा कित्ताकाट भएका टुक्रा जग्गामा खेती नभई बाँझै रहने गरेकामा यस वर्ष भने खनजोत गरी केही न केही रोपिएको देखिन्छ ।

खेत रोप्न गरा बनाउँदै गरेका गोकर्णेश्वर, उत्तरबाहिनीका मङ्गलबहादुर तामाङ अन्यत्र हिँड्डुल गर्न नपाइए पनि कृषि कर्म गर्न समस्या नभएको बताउँछन् । साढे दुई महिनादेखि बन्दाबन्दी जारी रहँदा रोगभन्दा पहिले भोकले मरिने अवस्था आएकाले भएको जग्गामा केही न केही रोपिएको उनले सुनाए ।

घर बनाउन खण्डीकरण गरिएका जग्गामा पनि चपरी फाँडेर अनाज रोपिएको छ । कागेश्वरी मनोहरा–१ गागलफेदीका रामप्रसाद ढकाल वर्षौंदेखि बाँझो जग्गामा यस वर्ष बन्दाबन्दीका कारण फुर्सदले घर बसेका मानिसले खनजोत गरी खेती गरेको बताउँछन् ।

हाल यस क्षेत्रमा सिम र पानीको कुलो लाग्ने स्थानमा रोपाइँ शुरु भइसकेको छ । कति ठाउँमा मानिस धानको बीउ राख्दै छन् । कति स्थानमा भने मानिस मकै गोड्नेलगायत खेतीमा सक्रिय छन् । यहाँका स्थानीय सरकारले पनि सुरक्षित तवरले खेती गर्न सहयोग गरिरहेका छन् ।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना सुरक्षित तरिकाले खेतीपाती गर्न सहयोग गरिएको बताउँछन् । कृषक भने स्थानीय सरकारले मुखले सहयोग गर्ने भने पनि बजारमा मल पाउन नसकिएको गुनासो गर्छन् ।

कृषिसम्बन्धी सल्लाह लिन जाँदा नगरपालिकाका कृषि शाखाका कर्मचारी पनि नभेटिने गरेको कागेश्वरी मनोहरा–५ का किसान रामप्रसाद सिंखडाले गुनासो गरे । मललगायत कृषि कर्मका लागि आवश्यक पर्ने सामग्रीको बजार भाउ बन्दाबन्दीकै बीच बढेको पनि उनले सुनाए । कृषि सामग्रीमा भइरहेको कृत्रिम अभाव, कालाबजारी एवं मूल्यवृद्धिविरुद्ध यस क्षेत्रका नगरपालिकाका अनुगमन समितिको ध्यान जान नसकेको किसानको भनाइ छ ।

कपिलवस्तु– बन्दाबन्दीको कारण धानको बीउमा राख्ने मल नपाएपछि यहाँका कृषक चिन्तित बनेका छन् । डिएपी र युरिया रासायनिक मल नपाएर चिन्तित बनेका किसान पूर्वपश्चिम राजमार्गको जीतपुर, गोरुसिङ्ग र चन्द्रौटा बजारमा मलको खोजीमा भौंतारिरहेका छन् ।

राजमार्ग क्षेत्रमा मल नपाएपछि तौलिहवा महाराजगञ्ज र बहादुरगञ्ज पुग्दा समेत मल नपाएको बुद्धभूमि नगरपालिका हरिहरपुरका बालकृष्ण पोखरेलले बताए । उनले मलको जोहो गर्न सरकार र सम्बन्धित निकायसँग माग गरे ।

पटक–पटक स्थानीय तह र कृषि सामग्री वितरण केन्द्रलाई मलका लागि भन्दा केही पहल नभएपछि मल खोज्दै बहादुरगञ्ज आएको उनको भनाइ थियो ।

किसानले बल्लबल्ल छरेको धानको बीउमा मल हाल्न नपाएपछि सुक्न थालेको अर्का किसान शिवपूजन यादवले बताए । पहिले बीउको अभाव भए पनि जेनतेन कहींबाट व्यवस्था गरिए पनि अहिले मल नपाएर समस्या भएको यादवले दुखेसो पोखे ।

कोरोना भाइरसको समेत पर्वाह नगरी बिहानैदेखि मल किन्न आएका किसान मल नपाएपछि बहादुरगञ्जबाट रित्तो फर्किएका छन् । कपिलवस्तु कृषि ज्ञान केन्द्रले मल पर्याप्त मात्रमा नरहेकाले अहिले बिक्रीवितरण नगरिने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले मल पर्याप्त नभएकाले अहिले वितरण गर्न नसकिने र रोपाइँका समयमा वितरण गरिने निर्णय भएको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख रामगोविन्द अर्यालले जानकारी दिए ।

कपिलवस्तुमा अहिले ४६ टन डिएपी मल र १० टन युरिया मल मात्र छ । आउने हप्ता अर्को बैठक बसेर मलका विषयमा निर्णय गरिने उनले बताए । कपिलवस्तुमा ७२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ जसका लागि पाँच हजार टन मल आवश्यक हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७