शुरु हुँदै मनसुन, चट्याङ र मेघगर्जनसहित ठूलो पानी पर्ने सम्भावना


३१ जेष्ठ २०७७, शनिबार
kathamandu

काठमाडौं, ३१ जेठ । नेपालमा विस्तारै मनसुनी प्रणाली सक्रिय बन्न थालेको छ ।

अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु, पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यसैगरी, महाशाखाले हाल देशभर आंशिक देखि सामान्य बदली रही रहेको जनाएको छ । जारी पूर्वानुमानमा उल्लेख भए अनुसार शनिबार दिउँसो देशभर सामान्य बदली रहनेछ । भने प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर सामान्य बदली रहनेछ । यता, प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार शुक्रबार राति पूर्वका कही स्थानमा भारी वर्षासमेत भएको छ । धरानमा १२१.८ मिलिमिटर वर्षा भएको हो ।

शुक्रबार राति खासगरी पूर्वका ओखलढुंगा, ताप्लेजुङ, इलाम, सुनसरीलगायत क्षेत्रमा मनसुनी वर्षा भएको उनले जानकारी दिए । मौसमविद् प्रधानाङ्गका अनुुसार अहिले मनसुनी प्रणाली पूर्वमा मात्र सीमित छ र यो बिस्तारै देशभर फैलिनेछ ।

‘अबको ३ दिनभित्र देशको मध्य क्षेत्रसम्म फैलिसक्ने अनुमान गरेका छौं,’ शनिबार बिहान उनले भने । यसको अर्थ काठमाडौं उपत्यकालगायत क्षेत्रमा अहिले मनसुन भित्रिसकेको छैन । पूर्वी क्षेत्र बाहेक अन्य स्थानमा भने अहिले प्रिमनसुनअन्तर्गत स्थानीय वायु तथा पश्चिमी वायुकै प्रभावले मौसम बदली तथा वर्षा गराइरहेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७