लकडाउनमा राहत : बाटो बनाउँदै, पैसा बुझ्दै


३१ जेष्ठ २०७७, शनिबार
road

जाजरकोट, ३१ जेठ । कोरोनाबाट जनतामा परेको समस्या समाधान गर्न जुनिचाँदे गाउँपालिकाले काम गरेर जीविकोपार्जन गर्न विभिन्न योजना बनाएर रोजगारी दिएको छ ।

समय अपुग भएकैले ठूला आयोजना निर्माण गर्न मुस्किल पर्ने भएपछि गाउँपालिकाले १४ साना योजना बनाएर स्थानीयवासीलाई काम दिइ रोजगारी उपलब्ध गराएको हो ।

गाउँपालिकाको वडा नं १ देखि ६ सम्म स्थानीयवासीले काम गर्ने गरी छनोट भएका योजनामा काम शुरु भएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । काम गरेवापत दैनिक गाउँपालिकाले रु ५०० दिने गरेको छ ।

गाउँपालिकाको वडा नं १ बडकुलेमा तैयाबाट एक्लेसल्लाहसम्मको घोडेटो बाटो निर्माण जारी छ । सो बाटोमा रु दुई लाख ४३ हजार विनियोजन भई ६८ जनाले काम गरिरहेका छन् । वडा नं १ मै चाँखाबाट चिसापानीसम्मको घोडेटो बाटो निर्माणका लागि रु एक लाख ९६ हजारमा ५५ जनाले रोजगारी पाएका छन् । बिराखोलाबाट भगवती प्रावि घोडेटो बाटो निर्माणका लागि रु दुई लाख १४ हजार ५०० रकममा ६० युवाले रोजगारी पाएका छन् ।

वडा नं २ को आलिचौर ओडारबाट जर्पासम्मको घोडेटो बाटो निर्माणमा रु दुई लाख ७५ हजारमा ५८ जनाले काम गरिरहेका छन् । वडा नं २ कै जन्तरेबाट मौगानसम्म घोडेटो बाटो बनाउन रु एक लाख ५० हजार रकम विनियोजन भई ४२ युवा युवती काममा खटिएका छन् । वडा नं २ कै भैरव माविबाट फावरवयाँसम्मको रु एक लाख ४६ हजार ५०० मा घोडेटो बाटो बनाउन ४१ जनाले रोजगारी पाएका छन् ।

त्यस्तै वडा नं ४ को जापाबाट गुमाउरो बाटोसम्म घोडेटो बाटो निर्माण जारी छ । सो बाटोमा रु एक लाख ७२ मा दिने गरी ४८ जनालाई परिचालन गरिएको छ । जुनिचाँदे–४ मा मालिका प्रावि फिल्ड बनाउन रु एक लाख ५० हजार विनियोजन गरी ४२ जनाले काम गरिरहेका छन् ।

खुदबाट खालटाकुरासम्मको घोडेटो बाटो निर्माण गर्न ४३ युवायुवती परिचालित छन् । सो बाटोका लागि रु एक लाख ५३ हजार विनियोजन गरिएको छ । जुनिचाँदे–५ स्थित जिउलाबाट बाइपाटासम्म घाडेटो बाटो बनाउन रु पाँच लाख ६५ हजार विनियोजन भई १५८ जनाले रोगगारी पाएका छन् ।

वडा नं ५ कै हाँकुबाट गर्खाकोटसम्मको घोडेटो बाटो बनाउन रु चार लाख १८ हजार विनियोजन भई ११७ जनाले रोजगारी पाएका छन् । मानिमाला–रियाना–नारे–मौका इप्रका घोडेटो बाटो जुनिचाँदे–५ मा निर्माण गर्न ८६ युवा परिचालन गरिएको छ । त्यसको लागि रु तीन लाख ७० हजार रकम विनियोजन भएको छ ।

वडा नं ६ को कसारेखोलाबाट तुम्ला सिगारसम्म घोडेटो बाटो निर्माण गर्न रु दुई लाख ७९ हजार रकममा ७८ जनाले काम गरिरहेको गाउँपालिकाले जनाएको छ । वडा नं ६ को चौताराबाट फेदीसम्मको घोडेटो बाटो बनाउन रु दुई लाख ३० हजारमा ५६ स्थानीयवासीले रोजगारी पाएको गाउँपालिकाका निमित्त अध्यक्ष शिवा आचार्य (बस्नेत) ले बताए ।

गाउँका बेरोजगारलाई रोजगारी दिन यो कार्य गरिएको उनले बताए । क्वारेन्टिनमा बसेर घर फर्केका, विदेशबाट कामविहीन भएर घर फर्केकालाई यस्ता काममा सहभागी गराएको आचार्यले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७