लोकतान्त्रिक गठबन्धन पक्षधर कार्यदल सक्रिय, के भयो पहिलो दिन ?


२१ आश्विन २०७४, शनिबार

काठमाडाैं : कांग्रेस अगुवाइमा बनेको लोकतान्त्रिक गठबन्धनको कार्यदलले शुक्रबारबाट औपचारिक छलफल थालेको छ । कार्यदलमा कांग्रेस नेता विमलेन्द्र निधि संयोजक तोकिएका छन् ।

Nepali Congress senior leaders कांग्रस नेपाली

जसमा कांग्रेसबाट पूर्णबहादुर खड्का, डा. मीनेन्द्र रिजाल, संघीय समाजवादीबाट रामसहाय यादव, राजपाबाट सर्वेन्द्रनाथ शुक्ल, फोरम लोकतान्त्रिकबाट गोपाल दहित, राप्रपाबाट बुद्धिमान तामाङ र राप्रपा प्रजातान्त्रिकबाट विक्रम पाण्डे सदस्य छन् ।

के भयो पहिलो दिन ?

६ दलकै प्रतिनिधिको पहिलो बैठकले वाम तालमेलको समीक्षा गर्दै आफूहरूले गर्न लागेको चुनावी सहकार्यका लागि राजनीतिक अवरधाणापत्र तयार गर्ने, न्यूनतम कार्यक्रम बनाउने र सिटको तालमेल गर्ने विषयमा छलफल अघि बढाएको कार्यदल सदस्य पूर्णबहादुर खड्काले जानकारी दिए । यी विषयमा अब कार्यदल सदस्यले आ–आफ्ना पार्टीको शीर्ष तहमा छलफल गरेपछि शनिबार दिउँसो ४ बजे बस्ने गरी पुनः बैठक बोलाइएको छ ।

समाजवादी र राजपाको आश्वासन

संघीय समाजवादी फोरम र राजपाले मिलेर निर्वाचन लड्ने सहमति गरे पनि कांग्रेससँग मिलेर जाने विषयलाई खुला राखेका छन् । दुई दलका प्रतिनिधिले स्थानीय तहको निर्वाचनमा आफूहरूले मिलेर जाने विषयमा छलफल गरिहेको भन्दै दुई दलले संयुक्त रूपमा तालमेल गरेर जाने विकल्प खुला राखेको जनाएका थिए । उनीहरूले आफूहरू मिल्दा अगाडि बढ्न झन् सहज हुने बताएको जानकारी खड्काले दिए ।

तर, कांग्रेसभित्रै पनि अरू पाँच दलले दाबी गरेजत्तिकै आधारमा चुनावी तालमेल गर्न नहुने विषय उठेका छन् । पार्टी हार्ने ठाउँमा आपसमा मिलाएर तालमेल गरेर जान भने कांग्रेसका अधिकांश नेता तयार छन् । तर, लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूले दाबी गरेजत्तिकै प्रतिशतमा सहमति जनाउन नहुने गरी अघि बढ्नुपर्ने मत कांग्रेसमा बलियो छ । केही ठाउँमा तालमेल मात्रै गर्ने कि गठबन्धन नै बनाएर जाने भन्नेमा अझै ६ दल एकमत छैनन् ।

चुनाव जित्ने उद्देश्यले तालमेल
वाम गठबन्धन जसरी लोकतान्त्रिक गठबन्धनको कार्यदलले प्रदेश र प्रतिनिधिसभामा निश्चित प्रतिशत जित्ने ढंगले छलफल थालेको छैन । ‘चुनाव जित्ने उद्देश्यले हामी अगाडि बढ्दै छौँ,’ खड्काले भने, ‘जित्ने–हार्ने ठाउँ हेरेर छलफल गर्दै जान्छौँ, सिट बाँडफाँडमा कुनै समस्या आउँदैन ।’ कार्यदलले साना दल, प्रगतिशील दलसँग पनि तालमेल गरेर जाने विषयमा छलफल अघि बढाएको उनले बताए ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७