विमानस्थलका अस्तव्यस्त लासहरू


कुमारबाबु बस्नेत
प्रकाशित मिति : 20 June, 2020 10:11 pm

 कोभिड–१९ महामारीसँगै  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार साउदी, युएई, कतार लगायतका देशबाट ३४५ नेपालीहरू स्वदेश ल्याइयाे । यसरी ल्याइएका नेपालीहरूसँगै २३ शव पनि ल्याइएको थियो । त्यसमा कतार एयरवेजको चार्टर विमानमा २० वटा, कुवेतबाट जजिरा एयरबाट २ र यूएईको दुबईबाट एक जनाको शव आएको थियो । त्यही शवहरूमा उदयपुर जिल्ला रामपुर निवासी मेरो नातेदार मीन बहादुर थापाको शव बुज्न जाँदा त्यहाँको व्यवस्थापनले केही कुरा सोच्न बाध्य पार्‍यो ।


उनीहरूले जीवित हुन्जेल ५० डिग्री तापक्रमसम्म सहे । विदेशी मरुभूमिमा श्रम बेचेर तिनीहरूले पठाएको रेमिटेन्स पठाए । त्यसै रेमिटेन्यासको आधारमा राज्य र राज्यका संयन्त्र धानिएको छ । तर आज विदेशी भूमिमा देह त्याग गरी अहिलेको विशेष परिस्थितिमा आफन्तले त्यही सड्न लागेको लास लिन जाँदा एयरपोर्टमा ती अव्यवस्थित लासको थुप्रो अनि त्यहाँको फितलो व्यवस्थापन देख्दा दुख लाग्यो । यसको जिम्मा कसको ? नेपाल सरकारको ? नेपाल सरकारको तलब भत्ता खाने कर्मचारीको ? मर्ने मान्छेको ? सरकारको नजिकका मान्छेको वा सर्वस्व गुमाएका आफन्तको ? नेपाल सरकार यो देशका नागरिकको अभिभावक पक्कै हो । तर सबै काम देशको मन्त्री र प्रधानमन्त्रीले नै गर्ने भए किन चाहिए निजी र स्वकीय ? किन चाहिए कर्मचारी ? जिम्मेवारी कसको के हो ? त्यहाँ कसैलाई थाहा छैन । अव्यवस्थित थिए लासहरू ।


लास बुझ्न जाँदा नदिमा माछालाई जालमा पारेर थुप्रो पारे झैँ खुल्ला आकाशमा थुपारिएका थिए । थुप्रो (बाकी फोटोमा) छ । कुन कसको थाहा छैन ? भन्सारमा कार्यरत कर्मचारीलाई सोध्यो हामीलाई थाहा हुन्न रे ? हामी सम्बन्धितले खोज्नुपर्ने रे ? न त्यो जालो (समान लोड गरेको क्यारी) खोल्न आउँछ । फेरि छुने कसरी ? कोभिड–१९ को त्रास नै त्रास छ । न पिपिई छ, न हेल्थ डेस्कमा ग्लोबस छ । माग्न गयो जोर दिन्छ, त्यो जालो खोल्दा च्याती जान्छ । अर्को माग्न गयो, अघि दिएको मिल्दैन भन्छ । यसरी पीडितलाई झन् पीडा दिई रहेको छ । यसको जिम्मा कसको ? पहिलो काम त्यहाँ कार्यरत कर्मचारीका जिम्मेवार हाकिम र कर्मचारी स्वयं कै होइन ? कि देशको मन्त्री र प्रधानमन्त्रीले त्यो जालो काट्नु पर्ने हो ? चक्कु नि किन्नु भन्ने हो ? कि हामीले मागेको सामान व्यवस्थापन सरकारले आधिकारिकरुपमा गर्दिन भन्नू पर्‍यो ।


यो विषम परिस्थितिमा (कोभिड सङ्क्रमण नमरुन्जेलसम्मलाई) त्यस्ता लास आउँदा वैदेशिक विभागले लासलाई पिपिइ सेट सहितको जनशक्ति उपलब्ध गराई कम्तीमा उपत्यका भित्र (आ–आफ्नो धार्मिक परम्परा अनुसार)अन्तिम दाहसंस्कार गर्नेहरूको हकमा अन्तिम संस्कार गर्ने ठाउँसम्म नै त्यही टिमले पुर्‍याउने व्यवस्था गर्ने । होइन भने लास बुझ्न आउने सम्बन्धितहरूलाई कम्तीमा ४ सेट पिपिई दिने र सुरक्षित गाडीको व्यवस्थापन चैँ गरिदिनुपर्छ । अहिले पनि वैदेशिक रोजगार विभागले गाडीको व्यवस्थापन चैँ गरेको छ । तर कुनैपनी सुरक्षा सतर्कता नअपनाएकोले गर्दा सम्बन्धित परिवार तथा आफन्तहरू कोभिडबाट सुरक्षित हुँदै रोग फैल नसक्ने सम्भावना पनि न्यून हुन्छ । सामान्य मृत्यु भएपनी लामो समय कोभिड–१९ सङ्क्रमण भएका देशहरूमा ती लासहरू यत्रतत्र राखिएकोले सङ्क्रमण रहित छ भन्ने ग्यारेन्टी छैन ।


भन्सार क्लियर गर्ने नाममा भित्र भित्रसम्म सम्बन्धित व्यक्तिहरू जाँदा सङ्क्रमण फैलने तथा पीडित परिवारका कतिपय मान्छेहरू पहिलो पटक काठमाडौँ आएको हुनाले केही थाहा नभएको हुन्छन् र पीडित परिवारलाई झन् दुख हुन्छ । त्यसको लागि सबै काम एक ठाउँबाट गर्ने आवश्यक छ ।
भन्सार क्लियर कै क्रममा त्यही चाहिने फोटोकपीको लागि एउटा फोटोकपी गर्ने व्यवस्था छैन । कर्मचारीहरूले देखाउने व्यवहार अमानवीय छ । विमानस्थल भित्रै सके निःशुल्क नत्र सशुल्क फोटोकपी मेसिन उचित व्यवस्था गरिदिनुपर्छ ।

यस्तै आफतक लास लिन गएकोलाई झनै पीडा थप्ने काम मिडियाहरूले पनि गरेका छन् । उनीहरूको निश्चिन्त स्थान तोकी दिनुपर्‍यो । नकि फरक–फरक मिडियाले एउटै व्यक्तिलाई त्यही प्रश्न सोधेर हैरान पार्ने होइन ।


मास्क, ग्लब्स तथा अन्य सुरक्षाजन्य सामाग्रीहरू पशुपति आर्यघाट आसपासका पसलहरूमा अनिवार्य राख्ने पर्ने बाध्यकारी व्यवस्था गर्ने । खुलेका पसलमा न मास्क पाउँछ न ग्लब्स तर रक्सी पिएका बेवारिसे मान्छेहरू भने कति–कति ? आर्यघाटमा पानी, माला बेच्ने नाउमा पीडित परिवारहरूलाई लिनै पर्ने बाध्यता जस्तै बनाएको छ । यो सङ्क्रमणको बेला सबै खाले मान्छेसँग घुलमिल गरिरहेकोले त्यस्ता व्यक्तिहरूलाई हटाई वा निश्चित ठाउँमा मात्रै व्यापार गर्न दिनुपर्छ । त्यसको लागि पशुपति कोशको लाखौँ खर्च गरी सुरक्षा गार्ड राखेको भए पनि त्यहाँ उपस्थिीती नदेखिएकोले चिता तथा बम्र्हनाल भएको एरियामा गार्ड खटाई अवैध खालको व्यापार कन्ट्रोल गर्ने गराउनुपर्छ । घाटे बाहुन (लास जला)हरूले कोभिड–१९ सङ्क्रमणबाट बच्ने कुनैपनी सुरक्षात्मक उपायहरू, माक्स, ग्लब्स ,सेनिटाईजर, पिपिई केहिपनी प्रयोग गरेको नदेखिएकोले त्यसतर्फ तत्काल उपयुक्त कदम चाल्नुपर्ने देखिन्छ ।

शुक्रबार आएका लासहरू भिडियो

यो पनि पढ्नुहोस्
फर्किए बैदेशिक रोजगारीमा गएका ३४५ नेपाली, २३ शब पनि ल्याइयो

प्रतिक्रिया दिनुहोस्