बार्सिलोनालाई उछिन्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा
काठमाडौं, ८ असार । बार्सिलोनालाई उछिन्दै रियल मड्रिड स्पेनिस ला लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
गए राति सोसिडाडको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले सोसिडाडलाई २–१ गोल अन्तरले हराएको हो । रियलले बार्सिलोनासँग अंक बराबरी गर्दै हेड टू हेडका आधारमा तालिकाको शीर्ष स्थान बनाएको हो । शुक्रबार बार्सिलोनाले सेभिल्लासँग गोलरहित बराबरी खेलेसँगै रियललाई शीर्ष स्थानमा उक्लिने अवसर प्राप्त भएको हो ।
शीर्ष स्थानको रियलले ३० खेलबाट ६५ अंक जोडेको छ । सोसिडाड ४७ अंक सहित छैटौं स्थानमा छ । रियाल मड्रिडका सर्जियो रामोसले नयाँ रेकर्ड समेत बनाएका छन् । उनी ला लिगाको इतिहासमा सर्वाधिक गोल गर्ने पहिलो डिफेन्डर बनेका हुन् ।
रियल सोसिडाडसँगको खेलमा एक गोल गरेका रामोसले बार्सिलोनाका पूर्व खेलाडी रोनाल्ड कोइमनको रेकर्डलाई पछि पारेका हुन् । ला लिगामा रामोसले गोल संख्या ६८ पुर्याएका छन् ।
यस्तै स्पेनीस ला लिगामा भ्यालेन्सियाले ओसासुनालाई २–० ले हराएको छ ।
घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियाका गोन्सालो गुइडेस र रोद्रिगोले एक–एक गोल गरे । त्यस्तै अर्को खेलमा सेल्टा भिगोले फराकिलो जित निकालेको छ । सेल्टाले डिपोर्टिभो अल्भेसलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै सेल्टा ३० अंक जोडेर लिगको १६ औं स्थानमा उक्लिएको छ । डिपोर्टिभो ३५ अंकका साथ १३ औं स्थानमा रहेको छ । एजेन्सी