अशोक राईलाई पराजित गर्ने जयकुमारको कथा


१२ माघ २०७४, शुक्रबार
Jaya Kumar rai
????????????????????????????????????

सांसद परिचय

प्रतिनिधिसभाका सदस्यहरुले अझैं सपथ खान पाएका छैनन् । विजयपछि काठमाडौं हान्निएर हाएका सांसदहरु काठमाडौंमा पुरानो भइसके । एकसरो जनतालाई धन्यवाद दिएर आएका सांसदहरु नयाँ सरकार नबनेसम्म जिल्ला फर्केने मुडमा छैनन् । तर, सुनसरी क्षेत्र न.१ बाट विजयी जयकुमार राई त्यस्तो एक्लो सांसद हुन्, जो निर्वाचित भएपछि काठमाडौं एक पटक पनि आएका छैनन् । सुनसरीतिर नै रमाइरहेका छन् । शुक्रबार पनि जनताको घर दैलोमा नै सहभागी भइरहेका राईले भने,‘सपथ नभएसम्म संसद चल्दैन । सरकार बन्दैन । सरकार बनेपछि मात्रै हाम्रो योजना र सपना कार्यान्वयनका लागि काठमाडौंमा दौडधुप गर्ने हो ।’

उनले कुनै बेलाका आफ्नै राजनीतिक गुरु र नेता संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईलाई हराएका हुन् । अशोक राई पार्टीका उपाध्यक्ष हुदा उनी जिल्ला कमिटि सदस्यको भूमिकामा थिए । त्यसो त एमाले छोडेर माले बन्दा पनि उनले अशोकै गोहो समाएका थिए । तर, यसपालीको निर्वाचनमा तिनै जयले अशोकलाई भारी मतका साथ हराए ।

उनी दैनिक जसो जनताको घरदैलामा घुमिरहेका छन् । राईले शुक्रबार नयाँ पेजसँग भने,‘सपथ अघि काठमाडौं आएर त्यतिधेरै काम नै देखिँन । त्यतिबेलासम्म जनतासँगै बसेर उनीहरुको समस्या बुझ्ने र बिकासको गुरुयोजना तयार पार्ने अभियानमा जुटिरहेको छु ।’ सपथअघिसम्म बिकासका योजना निर्माण गर्ने अनि सरकार बने लगत्तै त्यसलाई कार्यान्वयन गराउन जुट्ने उनको योजना छ । अहिलेको यो खाली समयलाई जनतासँग बसेर बिकासका गुरु योजना निर्माण गर्नमा लगाइरहेका छन्, उनले । उनले भने,‘काठमाडौंमा घरदैलो गर्नुभन्दा यहाँ जनतासँग बसेर योजना निर्माण गर्नु फलदायी देखेर यतै बसेको हुँ ।’ उनै जयको बारेमा यस संसद परिचय स्तम्भमा प्रस्तुत गरेका छौं :-

Jaya Kumar rai

जयकुमार राईले जतिबेला चेतनाको आँखी झ्यालबाट यो समाजलाई चिहाए, ठीक त्यही बेलादेखि कम्युनिष्ट बने । परिर्वतन र रुपान्तरणको अभियानमा सरिक भए । आफू जस्तै बहुसंख्यक मान्छेहरुको भलाईका लागि लड्ने अप्ठ्यारो बाटो रोजे । २०३५÷०३६ को विद्यार्थी आन्दोलनयता उनी निरन्तर परिवर्तन र रुपान्तरणको आन्दोलनमा छन् ।

भोजपुरमा जन्मिाएका जयकुमार २०४० सालयता सुनसरीको धरानलाई कर्मथलो बनाएर निरन्तर सक्रिय छन् । २०४० सालमा धरानस्थित शिक्षा सदन माविबाट अनेरास्ववियु प्राररम्भी कमिटी सचिव बनेर उनले राजनीतिको लामो यात्रा तय गरे । त्यसपछि उनले न धरान छोडे, न परिवर्तन र रुपान्तरणको यात्रा नै फेरियो । निष्ठा र इमानको यही यात्राका कारण नै यसपटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका साझा उम्मेदवार बने । जिते ।

सधैँ सुनसरी

जयकुमारको जीवन र सपना सुनसरीसँग जोडिएको छ । उनले राजनीतिक र शैक्षिक यात्रा पनि यहीँबाट सुरु गरे । उनका विद्यार्थीकालीन स्वर्णिम दिनहरू, युवाकालको उर्बर समय धरान वरिपरीका जनतासँगै बिते । धराने गुरुकूल र माटोले नै उनलाई समाज परिवर्तन र रूपान्तरणका लागि लड्न सिकायोे । उनले सुनसरीका सबैजसो सडक, गल्ली, उकाली–ओराली, लेकबेंसी, भन्ज्याङ–चौतारीलाई आफ्नै खुट्टाले धेरैपटक नाप्न भ्याएका छन् । पार्टी र संगठनको जिम्मेवारी यहीँ बसेर सम्हाले उनले । जयकुमार भन्छन्, ‘केवल चुनावको मात्रै कुरो होइन मेरो जिन्दगी, मेरो सपना सबै यहीँ जोडिएको छ ।’ उनलाई यस्तो लाग्छ, ‘यहाँका ढुङ्गोमाटो, हावापानी र भन्ज्याङ–चौतारीले पनि ए ! जयकुमार भनेर बोलाइरहेका छन्, बोलाइरहन्छन् ।’ २०४३ सालतिर हिमायती जनसांस्कृतिक मञ्चमा आवद्ध भएर यहीँबाट उनले चेतना जगाए । २०४६ जनआन्दोलनमा होमिँदा १० दिन प्रहरी हिरासतमा बसेर उनले यहीँ कठोर यातना सहे ।

जयकुमारले धरान के गरेनन् ? कहिले कलाकार बनेर गीत गाए, नाचे । कहिले विद्यार्थी नेता बनेर परिवर्तनका निम्ति सडक तताए । युवाको नेतृत्व गरेर गणतन्त्रको निम्ति ढुङ्गा हाने र मसाल सल्काए । भन्छन्, ‘मैले सुनसरीमा रहेर अहिलेसम्म जे गरेँ, जति समय गरेँ, त्यो परिर्वतन र रुपान्तरणका लागि थियो ।’ सुनसरीको समस्या के हो ? यहाँका जनताका सपना र समस्या के हुन् ? त्यो सबै थाहा छ उनलाई । भन्छन्, ‘मेरो निर्वाचन क्षेत्रका हरेक जनताका सुखदुःखमा सरिक छु, सहभागी छु । नेताको रुपमा मात्रै होइन, उहाँहरुकै छिमेकी, साथी र आफन्ताका रुपमा ।’ पार्टीको विचार, संगठन र कार्यक्रम छँदैछ, यहाँका जनताका हरेक सुख–दुःखमा साथ दिएकाले पनि जीत सुनिश्चित भएको उनी सुनाउँछन् । आइतबार चुनाव प्रचारकै क्रममा भेटिएका जयकुमारले बलियो आत्मविश्वासका साथ भने, ‘सामन्यदेखि ठुला संकट र अप्ठ्यारो पर्दा साथ दिँदै आएको छु । यहाँका जनताबाट साथ पाउने कुरामा ढुक्क छु ।’

धरान पूर्वी नेपालको ट्रान्जिट प्वाइन्ट पनि हो । थकाई मार्दा यसो बिसाएर सुस्केरा लगाउने जाने चौतारी जस्तो । धेरै नेताहरुले धरानलाई थकाई मार्ने चौतारी जस्तो बनाए । अन्त सकंट भएपछि सजिलोका लागि धरान आए । तर, त्यसपछि उनीहरु यहाँ फर्केर आएनन् । यसको पीडा पटक पटक धरानले भोगेको छ । तर, अब धरानलाई बिसाई जाने सानो चौतारी होइन सधैँ बसरहुँ लाग्ने नेपालकै सुन्दर बगैंचा बनाउने उनको सपना छ ।

शालिन नेता

यसपाली सुनसरी क्षेत्र न.१ मा धेरैको नजर थियो । सबैले चासो र महत्वका साथ सुनसरी–१ लाई हेरिरहेका थिए । त्यसको मुख्य कारण हो, एमालेका तत्कालीन उपाध्यक्ष तथा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईको उम्मेदवारी । एमाले परित्याग गरेर नयाँ पार्टी बनाएका अशोक राई कुनैबेलाका आफ्नै कार्यकर्तासँग चुनाव लड्न काठमाडौँबाट सुनसरी–१ आएका थिए । अशोक राईलाई धेरैले ‘हेभीवेट’ भनेका थिए ।

चर्को प्रतिस्पर्धा जस्तो देखिए पनि उनले भारी मतले जिते । तर, उनी चुनावको क्रममा कहिल्यै अशोक बिरुद्ध छिचरो तरिकाले प्रस्तुत भएनन् । बढो सम्मानले कुरा गरे । उनी निर्वाचनको क्रममा भन्न्थे, ‘यो प्रतिस्पर्धा अशोक राई र जयकुमार राईबीचको नभएर सिंगो पार्टी, विचार, सिद्धान्त र कार्यक्रमबीचको हो । व्यक्तिगत रुपमा मेरो सम्मान छ । निर्वाचनमा व्यक्तिको लडार्इँ भन्दा एजेण्डाको लडाईँ हुन्छ । मेरो पार्टी एजेण्डासहित चुनावी मैदानमा उत्रिएको छु । उहाँको एजेन्डा के हो ? मेरो के हो ? आममतदाताले बुझिहाल्नु हुन्छ ।’

सपना समृद्धीको
सुनसरी क्षेत्र नं १ सँग जोडिएका अनेक योजना र एजेन्डा छन्, उनीसँग । जनप्रतिनिधि निर्वाचित भए ती कुरा गर्न सकिन्छ भन्ने विश्वास पनि छ उनीसँग । किनभने, उनलाई समस्या थाहा छ । जटिलता थाहा छ र, समधान पनि । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटनसँग जोडिएका अनेक सपनाका चाङ छन्, उनीसँग । विजयपछि पनि यही बहसमा उनी लागेका छन् ।

धरानमा एयरपोर्ट निर्माणका लागि अगुवाई गर्ने, खानेपानी योजना सम्पन्न गर्ने, बसपार्क निर्माणमा समन्वयकारी भूमिका खेल्ने, भूतपूर्व गोर्खा सैनिकहरुका जायज मागलाई संसदमा उठाउने, बहुजातीय संग्राहलय निर्माण गर्ने लगायतका योजनाका चाङ उनले बोकेका छन् । धरानलाई खेलकुद, पर्यटन र स्वास्थको केन्द्र बनाउन सकिने कयौँ योजना पनि उनले कोरिसकेका छन् ।

दिएको जिम्मेवारी सम्हाल्छु

निर्वाचनको बेलामा उनलाई धेरैले भनेका थिए, ‘स्थानीय नेता हो, माथिसम्म पहुँच छैन ।’ हो पनि । उनी धेरै सुनसरी मै बस्छन् । त्यसले उनलाई चुनौती पनि छ । निर्वाचनमा पाएको जनमतको आधारमा पार्टीले केही न केही राम्रो भुमिका देला भन्नेमा उनी ढुक्क छन् । भन्छन्,‘धरान पूर्वको केन्द्र पनि हो । पार्टीले यसभन्दा माथि पनि केही भूमिका दिए सम्हाल्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७