चार करोडको नयाँ मालपोत भवन प्रयोगविहीन, भाडाको पुरानै भवनमा कार्यालय


९ असार २०७७, मंगलवार
106007537 309450053774450 835053512078498985 n

बेलबारी, ९ असार । बेलबारी नगरपालिका–३ मा झण्डै पाँच करोड लागतमा निर्माण गरिएको मालपोत कार्यालयको नयाँ भवन सञ्चालनमा चासो नदिइएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

सम्बन्धित पक्षले कार्यालय सञ्चालनमा चासो नदिंदा नयाँ भवनको ताला चाबी अझै ठेकेदारको हातमा छ । कार्यालय भाडाको पुरानै भवनमा चलिरहेको छ । नयाँ भवन निर्माण कार्य पूर्णरूपमा पूरा नभए पनि कार्यालय सञ्चालनका लागि तयार रहे पनि भाडाकै भवनमा कार्यालय चलिरहेपछि स्थानीय आक्रोशित बनेका हुन् ।

कोरोना भाइरस महामारीका बेला कार्यालयको पुरानो भवनमा लाग्ने सेवाग्राहीको भिडबाट जोगिन सकस पर्ने गरेको स्थानीय सेवाग्राहीको भनाई छ । पुरानो भाडाको भवनमा पर्याप्त खुल्ला ठाउँ नहुँदा सामाजिक दूरी गर्न नसकिने स्थानीय बताउँछन् । २०७१ बाट शुरु भएको भवन निर्माण कार्य २०७७ सम्म आइपुग्दा पनि पूर्णरूपमा सम्पन्न भइसकेको छैन ।

नयाँ भवन २०७३ जेठ १८ सम्म पूरा गर्ने गरी एके एन्ड गानवा कन्स्ट्रक्सन कम्पनीलाई ठेक्का दिइएको थियो । तर ४ पटक म्याद थप गर्दा पनि निर्माण कार्य पूरा भइनसकेको मालपोत कार्यालय बेलबारीका पूर्व लेखा अधिकृत हरिप्रसाद कटेल बताउँछन् ।

कूल ४ करोड ९८ लाख ८१ हजार ५४९ रुपैयाँ ६९ पैसामा एके एन्ड गानवा कन्स्ट्रक्सन प्रा.लि शान्तिनगर काठमाडौंले भवन निर्माणको ठेक्का पाएको थियो । सम्झौता अनुसार मालपोत कार्यालय बेलबारीको भवन २०७३ जेठ १८ गते हस्तान्तरण गर्नुपर्ने थियो । नाकाबन्दी तथा भूकम्पलगायतका विभिन्न कारण देखाउँदै ठेकेदारले भवन निर्माणको म्याद पटक–पटक थप गरिरहेको कट्टेलले बताए ।

अन्तिम पटकको म्याद थपपछि पनि ठेकेदार चुस्त गतिमा काम नगरेको कट्टेल बताउँछन् । ठेकेदारको लापरबाहीले नयाँ भवनमा कार्यालय सञ्चालन गर्न ढिलाई भएको उनको भनाइ छ । अहिले १० कट्ठा क्षेत्रफलमा रहेको नयाँ मालपोत भवनको प्राङ्गण पशु चर्ने थलो बनेको छ । ठेकेदारको लापरबाही भवन झिर्ण बन्ने अवस्था रहेको स्थानीयको गुनासो छ ।

यसरी भवन बनिसक्दा पनि भाडामै कार्यालय चलिरहँदा विभिन्न सवालहरू उब्जिएका छन् । केही दिनअघि मात्र नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदी नेतृत्वको नेकपाको टोलीले मालपोत कार्यालय पुगेर कार्यालय प्रमुख योगेन्द्र दुलालसँग नयाँ भवनमा कार्यालय सार्न नसक्नुको कारणबारे जानकारी लिएका थिए ।

राज्यको करोडौंको लगानीमा तयार भएको नवनिर्मित भवन उपयोगविहीन हुँदा राज्यले अनावश्यक व्ययभार बोक्नु परेका कारण नयाँ भवनमा चाँडो कार्यालय सार्न आफ्नो माथिल्लो निकायमा जानकारी गराउन आग्रह गरेका थिए ।

नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदी मालपोतको नयाँ भवन बनिसकेका अवस्थामा पुरानै भवनमा भाडा खर्च गर्ने भन्दा तत्काल नयाँ भवनबाट सेवा दिनेतर्फ कार्यालयले सोंच्नु पर्ने बताउँछन् ।

मालपोत कार्यालय प्रमुख योगेन्द्र दुलाल भने शहरी विकास आयोजनाले निर्माण सम्पन्नताको कागज नदिएको हुँदा कार्यालय स्थानान्तरण गर्न कठिनाइ भइरहेको बताएका छन् । उनले मन्त्रालयबाट कार्यालय सञ्चालन अनुमति पाए आफू नयाँ भवनमा कार्यालय सार्न तयार रहेको बताउँछन् ।

यता नेपाली काग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी भने भवन निर्माण कार्य पूरा भइसक्दा पनि कार्यालय सार्न नसक्नु सरकार र सम्बन्धित कार्यालय प्रमुखको असक्षमता भएको बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७