किन भेटिएन तत्कालीन अधिराजकुमारी प्रेक्षाको लास ?


१२ माघ २०७४, शुक्रबार
prekchya sha

रहस्यमय दुर्घटना, शंकास्पद छानबिन

काठमाडाैं : हवाई सेवाका लागि नेपाली आकाश असुरक्षित मानिन्छ । यहाँ ठुल्ठूला हवाई दुर्घटना भएका छन् । अधिकांश दुर्घटनाबारे सरकारी तवरबाटै अध्ययन भएका छन् र प्रायः सबै कुरा बाहिर पनि आएका छन्, तर १२ वर्षअघि भएको एक हेलिकोप्टर दुर्घटना भने अहिलेसम्म रहस्यकै विषय बनेको छ । दुर्घटना हुनुको कारण पत्ता लगाउन गठन गरिएको आयोगको प्रतिवेदनले उल्टै घटनालाई थप रहस्यमय र शंकास्पद बनाएको छ । तत्कालीन अधिराजकुमारी प्रेक्षा शाह सवार फिस्टेल एअरको ९ एन एएफपी एएस–३५० बी इक्युरियल हेलिकोप्टर २३ कात्तिक ०५८ मा रारातालमा खसेको थियो । ‘भिआइपी’ सवार हेलिकोप्टर दुर्घटनाको झन् धेरै गहिरो छानबिन हुनुपर्ने हो, तर यही घटनामा छानबिन टोलीले ‘हचुवा पारा’ देखाएको छ ।

prekchya sha

जसले घटनालाई थप रहस्यमयी र शंकास्पद बनाइदिएको छ ।  दुर्घटना हुँदा हेलिकोप्टरमा ६ जना सवार रहेको र तीमध्ये तीनजना ‘अझै हराइरहेको’ सरकारी अध्ययन–प्रतिवेदनमा उल्लेख गरिएको छ, तर को–को हराइरहेका छन् वा क–कसको मृत्यु भयो केही खुलाइएको छैन । त्यस्तै, सरकारकै अर्को निकाय नेपाल उड्ड्यन प्राधिकरणको अभिलेखमा ‘रारा हेलिकोप्टर दुर्घटनामा चारजनाको मृत्यु’ भएको उल्लेख छ, तर त्यसमा पनि क–कसको मृत्यु भयो भन्ने केही खुलाइएको छैन

हेलिकोप्टर कम्पनी फिस्टेल एअरसित त ‘रारामा हेलिकोप्टर दुर्घटना भएको’ सामान्य अभिलेखबाहेक केही विवरण नै छैन ।  १२ वर्ष बित्दा पनि रारामा खसेको हेलिकोप्टरको मुख्य भाग नै भेटिएको छैन । १ सय ६७ मिटर गहिरो तालमा हेलिकोप्टरसँगै केही मान्छे पनि अलप भएका छन्, तर उनीहरू को–को हुन् भन्ने अहिलेसम्म सरकारी प्रतिवेदनले समेत खुलाएको छैन ।

छानबिन आयोगको प्रतिवेदन र नागरिक उड्ड्यन प्राधिकरणको अभिलेख एकअर्कासित बाँझिनु, फिस्टेल एअरमा कुनै अभिलेख नै नहुन तथा कम्पनीले अहिले पनि औपचारिक रूपमा केही बोल्न नमान्नु र दुर्घटनामा परेर सकुशल बाँचेका व्यक्तिहरूले पनि औपचारिक रूपमा बोल्न डराउनुले पनि दुर्घटनालाई थप रहस्यमयी बनाएको छ ।

कसरी भयो दुर्घटना ?
छानबिन प्रतिवेदनका अनुसार हेलिकोप्टर चार्टर्ड फ्लाइटमा थियो । दुर्घटनाका दिन राराको मौसम सामान्य र सफा थियो । हेलिकोप्टरले ११ बजेर ५ मिनेटमा रारा हेलिप्याडको पूर्वतर्फबाट सामान्य ‘टेकअफ’ गरेको थियो । हेलिकोप्टरमा तत्कालीन अधिराजकुमारी प्रेक्षा शाहसँगै नेपाली सेनाका तत्कालीन लेफ्टिनेन्ट कर्णेल डा. ऋषि खत्री, शारदा सिंह, दानबहादुर शाही र ईश्वर बस्नेत थिए ।  हेलिकोप्टरको उडान क्याप्टेन रविन कडरियाको कमान्डमा थियो । पाइलटले हाइट लिनलाई एक फन्को लगाए । अचानक हेलिकोप्टर तल खस्न थाल्यो । हेर्दाहेर्दै राराको पानीमा डुब्यो । उडेको करिब एक मिनेटमै हेलिकोप्टर पानीभित्रै अलप भइसकेको थियो । हेलिकोप्टरको पंखाले राराको पानी छोएकाले दुर्घटना भएको अनुमान गरिएको छ ।

दुर्घटनालगत्तै पूर्वअधिराजकुमारी प्रेक्षाको शरीर पानीमा देखिएको तर तत्कालै गायब भएको छानबिन आयोगको प्रतिवेदनमा उल्लेख छ । उनीसँगै रहेका अन्य दुई व्यक्ति र हेलिकोप्टरको मुख्य भाग अहिलेसम्म फेला नपरेको छानबिन प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘हेलिकोप्टर र हराइरहेका यात्रुको शव अहिलेसम्म भेटिएको छैन’, प्रतिवेदनमा भनिएको छ ।  हेलिकोप्टरको सामान राख्ने ढोकाको टुक्रा, अक्सिजन सिलिन्डर, सिट कभर, कुसन र केही व्यक्तिगत सामान मात्र फेला परेको प्रतिवेदनमा उल्लेख गरिएको छ । राराताल एक सय ६७ मिटर गहिरो छ । रारा दुर्घटनामा परेर अहिलेसम्म फेला नपरेकी प्रेक्षा पूर्वअधिराजकुमार धीरेन्द्र शाहकी पत्नी हुन् । पहिल्यैदेखि धीरेन्द्रको परिवारमा दुःखद् घटना घट्दै आएका थिए । विभिन्न विवादित घटनामा मुछिएका धीरेन्द्रले अधिराजकुमार उपाधि त्याग्नुपरेको थियो । पञ्चायती शासनकालमा विवादमा मुछिएका धीरेन्द्रको ०४५ मै प्रेक्षासँग सम्बन्धविच्छेद भएको थियो । दरबार हत्याकाण्डमा दाजु वीरेन्द्रलाई बचाउन खोज्दा गोली लागेर उनको मृत्यु भएको थियो ।

narayanhiti durbar
घटनाबारे धेरै चर्चा नै भएन
राजसंस्था कायम रहेकै वेला दरबारकै एक सदस्यसमेत हेलिकोप्टर दुर्घटनामा पर्दा पनि नेपालमा यसबारे धेरै चर्चा नै भएन, बरु विदेशी सञ्चारमाध्यमले राम्रै ‘कभरेज’ गरे । रारामा हेलिकोप्टर दुर्घटना हुँदा तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको करिब साढे पाँच महिना मात्रै बितेको थियो । यही कारणले पनि हुनसक्छ रारा दुर्घटना ओझेलमा पर्यो ।

छानबिन आयोग के भन्छ ?
ठूलो–सानो जत्रो भए पनि हवाई दुर्घटना भएपछि सरकारले सामान्यतया छानबिन आयोग गठन गर्छ । रारा दुर्घटनापछि पनि सरकारले आयोग बनायो । तत्कालीन सहन्यायाधिवक्ता कृष्णराम श्रेष्ठको संयोजकत्वमा बनाइएको छानबिन समितिमा नेपाली सेनाका अवकाशप्राप्त ब्रिगेडियर जनरल खगेन्द्रबहादुर श्रेष्ठ, सेनाकै भिभिआइपी फ्लाइट इन्जिनियरिङ इन्चार्ज ओमप्रसाद श्रेष्ठ, सेनाका हेलिकोप्टर पाइलट सुधीर श्रेष्ठ, पर्यटन मन्त्रालयका उपसचिव उदयराज सापकोटा र नागरिक उड्ड्यन प्राधिकरणका चिफ पाइलट प्रभाकर घिमिरे सदस्य थिए । सापकोटा आयोगका सदस्यसचिव थिए ।

अन्य दुर्घटना छानबिन गर्न बनाइएका आयोगमा सेनाका धेरै अधिकारी संलग्न हुँदैनन् । केही आयोगमा भने सेनाका एकजना प्रतिनिधि रहने गरेका छन्, तर रारा दुर्घटनाको छानबिन गर्न बनाइएको आयोगमा तीनजना सेनाका अधिकारी सदस्य थिए । आयोगले अन्य दुर्घटनाजस्तै यसको पनि अनुसन्धान त ग¥यो, तर त्यसले थप आशंका जन्मायो । दुर्घटनामा बेपत्ता भएका वा मृत्यु भएका व्यक्तिहरूको नामसमेत बाहिर ल्याउन सकेन आयोगले । अहिले त आयोगका सदस्यहरूको स्मृतिबाट समेत दुर्घटनाका तथ्य पनि हराउन थालिसके ।

छानबिन आयोगका सदस्यसचिव गौतम पुरानो घटना भएकाले आफूलाई केही याद नभएको बताउँछन्, तर हेलिकोप्टरको पार्टपुर्जा तथा हराएका शव खोज्न विदेशबाट समेत गोताखोर ल्याएको सम्झना गौतमलाई छ । ‘कैयौँ दिनसम्म नेपाली तथा विदेशी गोताखोरले रारामा डुबुल्की मारेका थिए, तर इन्जिन र शव दुवै फेला परेन,’ गौतमले भने । संस्कृति तथा पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव भएकाले उनलाई छानबिन आयोगको सदस्यसचिव बनाइएको थियो । गौतमले सरकारी सेवाबाट अहिले अवकाश पाइसकेका छन् ।

रारा दुर्घटनालाई अरू हवाई दुर्घटनाजस्तै प्राविधिक त्रुटिका कारण भएको दुर्घटना मान्छन् छानबिन आयोगका सदस्यसचिव गौतम । ‘प्राविधिक रूपमा अरू दुर्घटनाजस्तै हो त्यो पनि । कति दुर्घटनाको छानबिन गरियो, सम्झिएर साध्य पनि हुँदैन’, उनी भन्छन् । गौतमका अनुसार छानबिन टोलीले स्थलगत भ्रमण गरेर तथ्य संकलन गर्ने प्रयास गरेको थियो, तर पर्याप्त प्रमाण भेटिएनन् । यहाँसम्म कि दुर्घटनामा परेको ९ एन एएफपी एएस–३५० बी इक्युरियल हेलिकोप्टरको मुख्य बडी नै भेटिएन । दुर्घटनामा को–को बेपत्ता भए, को–को बाँच्न सफल भए र क–कसको मृत्यु भयो भन्ने यकिन तथ्याङ्कसमेत आउन सकेन ।

दुई सरकारी निकायका छुट्टाछुट्टै विवरण
रारा दुर्घटनामा मृत्यु भएका वा हराएका व्यक्तिहरूको सम्बन्धमा दुई सरकारी निकायका फरक–फरक विवरण छन् । सरकारले गठन गरेको छानबिन आयोगले तयार गरेको संक्षिप्त प्रतिवेदनमा हेलिकोप्टरमा चालकसहित ६ जना यात्रु रहेको र उनीहरूमध्ये तीनजना अझै हराइरहेको ९क्तष्िि mष्ककष्लन० उल्लेख छ । प्रतिवेदनमा को–को हराइरहेका छन्, र को–को फेला परे भन्ने प्रतिवेदनमा केही खुलाइएको छैन ।  छानबिन प्रतिवेदनअनुसार हेलिकोप्टरका क्याप्टेन रविन कडरिया थिए । यात्रुमा तत्कालीन अधिराजकुमारी प्रेक्षा शाह, नेपाली सेनाका तत्कालीन लेफ्टिनेन्ट कर्णेल डा. ऋषि खत्री, शारदा सिंह, दानबहादुर शाही र ईश्वर बस्नेत थिए ।

उता, अर्को सरकारी निकाय नेपाल नागरिक उड्ड्यन प्राधिकरणअन्तर्गतको हवाई सुरक्षा विभागले संकलन गरेको हवाई दुर्घटना तथ्याङ्कमा भने रारा दुर्घटनामा चारजनाको मृत्यु भएको उल्लेख छ । प्राधिकरणका चिफ पाइलट प्रभाकर घिमिरे सरकारले बनाएको छानबिन आयोगका सदस्यसमेत थिए ।
दुर्घटनाबारे दुई सरकारी निकायका छुट्टाछुट्टै विवरणले पनि घटनालाई रहस्यमयी र शंकास्पद बनाएको छ । छानबिन आयोगले तत्कालीन सरकारको निर्णयअनुसार २५ फागुन ०५८ देखि खोजी तथा उद्धार कार्य बन्द गरेको थियो ।

हेलिकोप्टर कम्पनीसित दुर्घटनाको विवरण नै छैन
दुर्घटनाबारे सरकारी छानबिन प्रतिवेदन सार्वजनिक भइसकेको र त्यही आधिकारिक भएको भन्दै फिस्टेल एअरका अधिकारी यसबारे बोल्न नै चाहँदैनन् । दुर्घटनाबारे कम्पनीले आन्तरिक छानबिनसमेत गरेन । कम्पनीसित दुर्घटनाको विवरण पनि छैन ।  अन्य दुर्घटनाको जस्तै रारा दुर्घटनाको इन्सुरेन्स रकम भने पाएको कम्पनीका एक अधिकारीले बताए । उनका अनुसार सरकारले स्वभाविक रूपमा दुर्घटना छानबिन आयोग गठन गर्ने भएकाले कम्पनीले चासो पनि दिएन । त्यसमाथि राजपरिवारको सदस्य दुर्घटनामा परेकाले अप्रत्यक्ष रूपमा दरबारनिकट ‘ठाउँ’हरूबाट पनि घटनाको छानबिन नगर्न दबाब आएको फिस्टेलका एक पुराना कर्मचारी बताउँछन् ।

त्यति ठूलो दुर्घटनाको औपचारिक रेकर्डसमेत कम्पनीसँग छैन । उसको चासो इन्सुरेन्समा मात्र रह्यो । फिस्टेलका सञ्चालक विकास राणा आफैँ शिखर इन्सुरेन्स कम्पनीका पनि अध्यक्ष भएकाले इन्सुरेन्सको समस्या परेन । सन् १९९७ देखि हेलिकोप्टर कम्पनी चलाएका राणा सेनाको जागिर छाडेर यो क्षेत्रमा लागेका थिए ।

प्रतिवेदन भन्छ– पाइलट दोषी
छानबिन प्रतिवेदनले घटनाको सम्पूर्ण दोष पाइलट कडरियालाई दिएको छ । प्रारम्भिक कारणका रूपमा गलत उडान प्रक्रियालाई औँल्याइएको छ । पाइलटले उचित हाइट ‘मेन्टेन’ नगरेको र तौलको पनि बेवास्ता गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार टेकअफको समयमा हेलिकोप्टरको तौल एक हजार आठ सय २८ किलो थियो । हेलिकोप्टरले राराअघि डोल्पाको से–फोक्सुन्डोमाथि पनि उडान गरेको थियो । से–फोक्सुन्डो तीन हजार ६ सय मिटर उचाइमा छ भने रारा दुई हजार सात सय मिटर उचाइमा अवस्थित छ । रारा दुर्घटना हालसम्मकै रहस्यमय रहेको र विवादित तथ्याङ्क आएको हवाईविद्हरू बताउँछन् । उनीहरूका अनुसार रविन कडरिया निकै अनुभवी पाइलट हुन् । उनले ‘हाइ अल्टिच्युड’मा धेरै कठिन उद्धारको काम पनि गरेका थिए ।

रारामा दुर्घटना भएकै मोडलका नयाँ डिजाइनका हेलिकोप्टर नेपाली आकाशमा अहिले पनि उडिरहेका छन् । सम्बद्ध कम्पनीका अनुसार रारामा दुर्घटना भएको हेलिकोप्टर ‘बी’ सिरिजको पहिलो नम्बरको हो भने हाल तेस्रो र चौथो नम्बरका हेलिकोप्टर सञ्चालनमा छन् । दुर्घटनाग्रत सिंगल इन्जिन हेलिकोप्टर सन् १९९० मा फ्रान्समा बनेको थियो ।

जहाजभन्दा हेलिकोप्टर सुरक्षित
तुलनात्मक रूपमा फिक्स्ड विङ (जहाज)भन्दा रोटर विङ (हेलिकोप्टर) बढी सुरक्षित मानिन्छ । हेलिकोप्टरमा सामान्यतया एउटा मात्र इन्जिन हुन्छ । नेपालमा भएकामध्ये श्री एअर तथा नेपाली सेनाका एमआई–१७ बाहेक सबै हेलिकोप्टरमा सिंगल इन्जिन छ ।  इन्जिन फेल भए पनि हेलिकोप्टरलाई अटोमोसनमा राखेर सेफ ल्यान्ड गर्न सकिन्छ । पाइलटलाई तालिमका क्रममा धेरै उचाइमा हेलिकोप्टर लगेर यस्तो अभ्यास गराइन्छ । धेरै उचाइमा लगेर इन्जिन अफ गरिन्छ, र पाइलटले अटोमोसनमा हेलिकोप्टर ल्यान्ड गराउँछन् । नेपालमै पनि फिस्टेल, सिम्रिक, एअर डाइनेस्टीलगायतका कम्पनीले अनुभवी पाइलटको निगरानीमा पाइलटलाई यस्तो अभ्यास गराउँछन् ।  सानो ठाउँमा ल्यान्ड गर्न सक्नु हेलिकोप्टरको अर्को सबल पक्ष हो । ठूलो घरको छतमा समेत यसलाई ल्यान्ड गराउन सकिन्छ । यद्यपि, विकट हिमाली क्षेत्रमा उद्धारको काम गर्नुपर्ने भएकाले हेलिकोप्टर उडानलाई जोखिमयुक्त पनि मानिन्छ । धेरैजसो हेलिकोप्टर दुर्घटना हाइ अल्टिच्युड तथा बढी तौलका कारण हुने गरेको विज्ञहरू बताउँछन् ।

नेपालमा धेरै ठूलो हेलिकोप्टर दुर्घटना सन् २००६ मा भएको थियो । श्री एअरको हेलिकोप्टर ताप्लेजुङको घुन्सामा दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा तत्कालीन वनमन्त्री गोपाल राई, भूगर्भविद् डा. हर्क गुरुङ, वरिष्ठ संरक्षणविद् चन्द्र गुरुङ लगायतको मृत्यु भएको थियो ।
त्यस्तै, सन् २००५ मा एअर डाइनेस्टीको हेलिकोप्टर रामेछापमा दुर्घटनाग्रस्त हुँदा तीन र सिम्रिक एअरको हेलिकोप्टर सन् २००३ मा एभरेस्ट बेसक्याम्पमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो ।

-मिरर न्यूज, फाइल स्टोरी

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७