पर्यटन सचिव सरुवाकाे अन्तरकथा


१२ माघ २०७४, शुक्रबार
Mahesowr Neupane

काठमाडौं, ११ माघ :  सरकारले राष्ट्रियसभा निर्वाचनको आचारसहिता लागू हुने अघिल्लो दिन बिहीबार राति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ । सचिव न्यौपानेले पर्यटन मन्त्री जितेन्द्र देव र उपप्रधानन्त्री बिजय गच्छेदारले भनेबमोजिम मनपरी नियुक्ति र सरुवा गर्न सहमति नजनाएपछि उनलार्ई सरुवा गरी खरिद अनुगमन कार्यालयका कृष्ण देवकोटालाई ल्याइएको छ ।

गच्छदार र देवले जाँदाजाँदै पर्यटन मन्त्रालय अन्तर्गत लुम्बिनी विकास कोषको सदस्य सचिव, तारागाउँ विकास समितिको कार्यकारी निर्देशक, पर्वतीय प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक, बृहत्तर जनकपुर विकास परिषद्को सदस्य सचिव, देवघाट विकास समितिको कार्यकारी निर्देशक नियुक्तिका लागि दबाब दिएका थिए ।

Mahesowr Neupane

काम चलाऊ सरकारका पर्यटन तथा नागरिक उड्डयनमन्त्री देवले यी पाँच वटा निकायमा नियुक्तिका लागि शुरु गरेको प्रक्रिया रोक्न उच्च अदालत पाटनले सोमबार अन्तरिम आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीश रामप्रसाद अधिकारीेले सोमबार पर्यटन मन्त्रालयले गर्न लागेका विभिन्न पाँच वटा निकायको नियुक्ति रोक्न आदेश दिएका हुन् । ध्रुवराज शिवाकोटीले दायर गरेको रिटमा उच्च अदालतले अन्तरिम आदेश दिएको थियो । नियुक्तिका लागि करोडौं रुपैयाँ घुस लिइसकेका मन्त्री देव र गच्छदार गर्न नपाएपछि आक्रोसित भएर आचारसंहिता लाग्नु एक दिनअघि मध्यरातमा सचिव न्यौपानेको सरुवा गरेका छन् ।

२०७४ पुस १८ मा प्रकाशित सूचना अनुसार अन्तरवार्ता र सोको प्रक्रियासम्बन्धी सम्पूर्ण कार्यहरु यथास्थितिमा राख्ने आदेश दिएको थियो । सात दिनको म्याद राखेर सूचना प्रकाशित गरेको पर्यटन मन्त्रालयले छिटोछिटो प्रक्रिया अगाडि बढाई नियुक्ति गर्न लागेको थियो । उच्च अदालतमा परेको रिटको पक्षमा अधिवक्ता टीकाराम भट्टराई र जनार्दन बन्जाडेले बहस गरेका थिए । आर्थिक चलखेलका आधारमा काम चलाऊ सरकारले नियुक्ति गर्न लागकाले रोक्न माग गरेका थिए ।

पाँच वटा निकायमध्ये लुम्बिनी विकास कोषको सदस्य सचिवका लागि बढी चलखेल हुँदै आएको छ । लुम्बिनी विकास कोषको सदस्य सचिवका लागि २२ जनाले आवेदन दिएका छन् । लुम्बिनीको नियुक्तिमा आरजु देउवाले पनि निकै चासो दिएर अनिता ढुङ्गाना (साह) लाई अगाडि सारेकी छिन् । अनिता कांग्रेस सांसद भरत साहकी श्रीमती हुन् । विमलेन्द्र निधिले मनिष कर्णलाई लुम्बिनीको सदस्य सचिवको नियुक्ति गर्न खोजिरहेका छन् । विजय गच्छदारले गीता चौधरीलाई बनाउन खोजेका छन् । निवर्तमान लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङ पर्यटनमन्त्री जितेन्द्र देवलाई नै रकम बुझाएर पुनः नियुक्ति हुने दौडमा छन् ।

तामाङ रामेश्वर थापामार्फत मन्त्री देवकोमा ३ करोड रुपैयाँ दिने प्रस्ताव लिएर पुगेका छन् । ५ करोड रुपैयाँमा ‘डिल’ भएकोमा ३ करोड दिने पक्षमा तामाङ पुगिसकेको स्रोतको दाबी छ । ४ बर्षसम्म लुम्बिनी विकास कोषमा करोडौं भ्रष्टाचार गरी विवादित तामाङलाई घुस लिएर पुनः नियुक्ति गर्ने खेलमा मन्त्री देव छन् । अजितमान कोषमा कर्मचारीसँग पनि मिल्न नसकेर टकराव गर्दै आएका थिए । मन्त्री देव अवकाशप्राप्त डीआइजी हिम गुरुङलाई लुम्बिनी विकास कोषको सदस्य सचिव बनाउने पक्षमा थिए । तर, उनको ‘क्राइटेरिया’ नपुगेपछि पछिल्लो पटक अजितमानसँग मोलमोलाईमा छन् ।

मन्त्री देवले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमलाई मन्त्रालयमा तानेर देवानन्द उपाध्यायलाई लैजाने कुरा पनि सचिव न्यौपानेले मानेका छैनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का लिएर बर्षौसम्म काम नगरेपछि स्पेनको सान्जोसेको ठेक्का रद्द गरी प्राधिकरणले २ अर्ब धरौटी जफत गरेको थियो । त्यो २ अर्ब धरौटी र थप करिब ७ अर्ब क्षतिपूर्तिको मुद्दा स्पेनको अदालतमा चलिरहेको छ ।

तल्लो अदालतमा नेपालले जितिसकेको छ । अब माथिल्लो अदालतमा मुद्दा छ । उक्त मुद्दामा प्राधिकरणबाट कानुन ब्यवसायी नै नपठाई सान्जोसेलाई जिताएर ९ अर्ब रुपैयाँ स्पेनको ठेकेदारलाई फाइदा पु¥याउने पक्षमा मन्त्री देव र गच्छेदारले महानिर्देशक गौतमलाई तान्न खोजेका हुन । स्पेनको अदालतमा मुद्दा जिताएबापत २ अर्ब धरौटीबापतको रकम घुस देव र गच्छदारलाई दिने प्रस्ताव गरेकाले उनीहरु जसरी पनि महानिर्देशक गौतमलाई तान्ने खेलमा लागिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७