३२ वर्षदेखि नवीकरण भएन नेपाल–चीन सीमा प्रोटोकल


११ असार २०७७, बिहीबार
Parshuram Kafle banner2020 06 25 01 48 45

काठमाडौं, ११ असार । नेपाल र चीनबीच सीमा व्यवस्थापन प्रणालीमा छलफल गर्ने सहमति भए पनि तीन दशकदेखि बाउन्ड्री प्रोटोकल नवीकरण हुन सकेको छैन ।

सीमा व्यवस्थापनका विषयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको दश महिनाअघि नेपाल भ्रमणमा र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो चीन भ्रमणमा चर्चा भएको छ । तर, ३२ वर्षदेखि दुई देशबीच सीमा प्रोटोकल नवीकरण हुन सकेको छैन । यससम्बन्धी द्विपक्षीय संयन्त्रको बैठक नै बस्न सकेको छैन ।

चीनका राष्ट्रपति सी जिनपिङ गत २६ र २७ असोजमा नेपाल भ्रमणका वेला दुई देशबीच सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौता भएको थियो । उच्चस्तरीय वार्तापछि २७ असोजमा जारी नेपाल–चीन संयुक्त वक्तव्यको बुँदा नं. ९ मा सम्झौताप्रति उच्च नेतृत्वले सन्तुष्टि व्यक्त गरेको र सम्झौताले दुवै पक्षबीच सीमा व्यवस्थापन र सहकार्य थप सुधार हुने अपेक्षा गरेको उल्लेख छ ।

तर, त्यसयता संयुक्त सीमा समितिको बैठक बस्न सकेको छैन । स्रोतका अनुसार ०६८ मा नेपालले अन्तिम समयमा बैठकमा सहभागी हुन नसक्ने बताएकाले नेपालबाट यसको पहल हुनुपर्ने चीनको मनसाय छ । नेपालले यसका लागि सार्थक प्रयास नगरेको सरकारी स्रोतले बतायो ।

चीनसँग १९६१ अक्टोबर ५ मा सीमासम्बन्धी सन्धि भएको थियो । नेपालबाट राजा महेन्द्र र चीनबाट राष्ट्रपति ल्यू साओचीले सन्धिमा हस्ताक्षर गरेका थिए । यसको तीन वर्षपछि १९६३ मा दुई देशबीच बाउन्ड्री प्रोटोकलमा हस्ताक्षर भएको थियो । त्यसपछि सन् १९७९ र १९८८ मा गरी जम्मा दुई पटक बाउन्ड्री प्रोटोकल नवीकरण भयो भने त्यसयता नवीकरण भएको छैन ।

दुई देशका परराष्ट्र सचिवस्तरीय द्विपक्षीय संयन्त्रको बैठकमा पनि यसबारे छलफल भएको थियो । तर, यससम्बन्धी छलफल गर्ने सहसचिवस्तरीय बैठक बस्न सकेको छैन । बैठक बस्न नसक्दा दोलखाको लामाबगरमा नेपाली भूमिमा सीमास्तम्भ परेको विषयमा छलफल हुन सकेको छैन ।

सन् १९८८ मा नेपालबाट परराष्ट्रमन्त्री शैलेन्द्र उपाध्यायको नेतृत्वमा १३ जनाको नेपाली टोली चीन गएको थियो । त्यसवेला बाउन्ड्री प्रोटोकलमा हस्ताक्षर भएको त्यहाँ सहभागी भएका नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले जानकारी दिए ।

सीमासम्बन्धी प्रोटोकल नवीकरणलगायतका विषयमा छलफल गर्न दुई देशबीच सन् २००६ मा नेपाल–चीन संयुक्त सीमा समिति गठन भयो । दुवै सरकारले समितिलाई यथाशीघ्र प्रोटोकल नवीकरण गर्न म्यान्डेट दिइएको थियो ।

नेपाल र चीनबीच सीमासम्बन्धी प्रोटोकल नवीकरणबारे पछिल्लो बैठक २०१० अप्रिल ४ देखि १० सम्म काठमाडौंमा संयुक्त सीमा समितिको बैठक बसेको थियो । नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका तत्कालीन सहसचिव मुक्तिनाथ भट्ट र चीनका तर्फबाट परराष्ट्र मन्त्रालयका सन्धि तथा कानुन विभागका काउन्सिलर अऊ गुयाङ युगिङले गरेका थिए ।

बैठकले ०६८ मा सीमासम्बन्धी वार्ता चीनको सियान सहरमा बस्ने तय गरेको थियो । चिनियाँ राष्ट्रपति सीको गृहनगर सियानमा जान तयार भएको नेपाली टोलीलाई सरकारले अन्तिम समयमा रोकेको थियो

सन् २०१२ फेबु्रअरी १ देखि ५ (०६८ माघ १८ देखि २२)सम्म चीनको सियान सहरमा नेपाल र चीनबीच सीमासम्बन्धी वार्ता तय भएको थियो । परराष्ट्र स्रोतका अनुसार नेपाली टोली चीन जाने तयारी अवस्थामा रहेको थियो, तर गृहकार्य नपुगेको भन्दै तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्देशनमा चीन जाने टोली रोकियो । त्यसपछि संयुक्त सीमा समितिको बैठक बस्न सकेको छैन ।

नापी विभागका पूर्व महानिर्देशक बुद्धिनारायण श्रेष्ठका अनुसार दोलखा लामाबगर गाविसको लेप्चा गाउँस्थित कोर्लाङपारि हिमालको टिप्पाचुलीमा चिनियाँ पक्षले सीमा चिह्न नेपालतिर सारेपछि विवाद उत्पन्न भएको थियो । यो विवाद अझै समाधान भएको छैन ।

सो क्षेत्रमा सीमाचिह्न नं. ५७ नेपालतिर सरेको भेटिएको थियो । लामो समय फेला नपरेको सो सीमाचिह्न नेपालतिरको एउटा पहरोमा खोपिएको अवस्थामा ०६२ मा भेटिएको थियो । त्यहाँ ९ बिघा नेपाली जमिन वर चीनले सीमा चिह्न राखेको थियो । यो विवाद अझै समाधान भएको छैन ।

चीनले सगरमाथाको उचाइ तीन दशमलव १६ मिटर घटी (८ हजार ८४८.८४) हुनुपर्ने दाबी गरेको थियो । तर, नेपालले साविक उचाइ ८ हजार ८ सय ४८ मिटर नै यथावत् हुनुपर्ने दाबी गर्दै आएको थियो । २००१ मा अमेरिकाले सगरमाथाको उचाइ दुई मिटर थपिएर आठ हजार आठ सय ५० पुगेको दाबी गरेको थियो । नेपालले अमेरिकी र चिनियाँ दाबीलाई स्वीकार गरेको छैन ।

यसपालि नेपाल र चीनले बेग्लाबेग्लै सगरमाथाको उचाइ मापन गरिरहेका छन् । यद्यपि, यसमा चीन र नेपालबीच सहकार्य भने छैन । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका वेला सगरमाथाको उचाइ एकैसाथ घोषणा गर्ने सहमति भएको छ । नेपालले आफै सगरमाथाको उचाइ मापन गरिरहेको छ ।

उचाइ मापनका लागि नापी विभागको प्राविधिक टोली सगरमाथाको शिखर आरोहण गरेर फर्किसकेको छ । अहिले तथ्यांक प्रशोधन गर्ने काम भइरहेको नापी विभागका प्रवक्ता दामोदर ढकालले बताए । चिनियाँ टोली पनि एक महिनाअघि उत्तरी मोहोडाबाट सगरमाथाको शिखर आरोहण गरेर बेइजिङ फर्किसकेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७