नयाँ नक्सामा अभूतपूर्व एकता देखियो भन्दै राष्ट्रपतिको धन्यवाद


११ असार २०७७, बिहीबार
bidhya

काठमाडौं, ११ असार । भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गर्न र यसलाई निसान छापमार्फत संविधानको अंग बनाउन दलहरूले अभूतपूर्व एकता देखाएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका सबै दलहरूलाई धन्यवाद दिएकी छिन् ।

संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई बोलाएर भण्डारीले राष्ट्रिय सवालमा एकता देखाएकोमा खुसी व्यक्त गरेकी हुन् ।

‘नयाँ नक्सा जारी गर्ने र संविधान संशोधन गर्न संसद्मा राजनीतिक दलहरूबीच अभूतपूर्व एकता प्रकट भएकोमा राष्ट्रपतिले खुसी व्यक्त गर्न र धन्यवाद दिन संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई बोलाउनु भएको थियो,’ राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले भने, ‘देशका जल्लाबल्दा विषयमा दलहरूबीच सहकार्य र एकता हुन सके देशले आर्थिक समृद्धि हासिल गर्न सक्ने उहाँको भनाइ थियो ।’

छलफलमा सहभागी राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले पनि राष्ट्रिय विषयमा दलहरूले एकता देखाएको भन्दै राष्ट्रपतिले धन्यवाद दिएको जानकारी दिए ।

‘भारतद्वारा अतिक्रमित नेपाली भूभागलाई समेटेर नेपालले नक्सा सार्वजनिक गर्ने, निसान छाप बनाउने र संविधान संशोधन गरी यसको अंग बनाउने विषयमा राजनीतिक दलहरूले राष्ट्रिय एकता देखाएकोमा धन्यवाद दिन राष्ट्रपतिले बोलाउनु भएको रहेछ,’ केसीले नयाँ भने, ‘राष्ट्रिय सवालमा देशभरका दल एकजुट भएकोले बधाई दिन बोलाएको हुँ । राष्ट्रिय अखण्डताको पक्षमा यसरी दलहरूले एकता देखाउँदा राष्ट्रियता झन् बलियो हुँदै जान्छ भन्ने उहाँको कुरा थियो ।’

भारतले अतिक्रमित गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि केही समयअघि संसदमा सर्वसम्मत रूपमा संशोधनको प्रस्ताव पास भएको थियो । नयाँ नक्सालाई संविधानको अंग बनाउने गरी संसद्ले सर्वसम्मतिमा पारित गरेपछि राष्ट्रपतिले पहिलोपटक संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई बोलाएर खुसी व्यक्त गर्दै धन्यवाद दिएकी हुन् ।

नयाँ नक्सा जारीप्रति राष्ट्रपतिले खुसी व्यक्त गरे पनि सामूहिक भेटमा कुनै पनि नेताहरूले प्रतिक्रिया नराखेको नेकपाका नेता झलनाथ खनालले जानकारी दिए । ‘राष्ट्रपतिले बोल्नुभयो, तर दोहोरो संवाद भएन,’ खनालले भने, ‘आधा घन्टाजति बसेपछि चिया खाएर फर्किर्यौँ ।’ भेटमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले पनि नक्साका विषयमा राष्ट्रपतिको वक्तव्यभन्दा अरू संवाद नभएको जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री केपी ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, सभामुखसहित नेकपा, कांग्रेस, राजपा, संघीय समाजवादीसहित राजनीतिक दलबाट शीर्ष नेताहरू सहभागी थिए । लकडाउनको तीन महिनायता राष्ट्रपतिले दलका नेताहरूलाई सामूहिक रूपमा बोलाएको यो पहिलो पटक हो ।

राष्ट्रपतिले कोरोना महामारीको जोखिममा सबै पक्षको सहयोगको सराहना गरेकी थिइन् । कोरोनाको महामारी फैलिँदा सरकार, राजनीतिक दल, प्रदेश, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको कामप्रति राष्ट्रपतिले सराहना व्यक्त गरेको स्वकीय सचिव अधिकारीले जानकारी दिए ।

कोरोनालाई परास्त गर्न सबैलाई सहयोग गर्न उनले आग्रह पनि गरेकी थिइन् । काठमाडौं उपत्यकालगायत सहरहमा प्रदूषण, वातावरण विनाशप्रति राष्ट्रपतिले चिन्ता जनाएकी थिइन् । नदी प्रणालीलाई सुदृढ बनाएर वातावरणीय सन्तुलन कायम गराउन आग्रह गरेकी थिइन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७