धरान अस्पतालमा बिरामीको यो बिजोग


११ असार २०७७, बिहीबार
bp hospital dharan2020 06 25 05 55 29

सुनसरी, ११ असार । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको घुइँचो बढेको छ । अस्पतालको क्षमताभन्दा बढी बिरामी आउन थालेपछि आकस्मिक कक्षको भुइँमै राखेर उपचार भइरहेको छ ।

आकस्मिक कक्षको क्षमता ७० बिरामीको मात्रै हो । तर, १ असारदेखि दैनिक औसत एक सय २० बिरामी आइरहेको अस्पतालको आकस्मिक विभाग प्रमुख डा. ज्ञानेन्द्र मल्लले बताए ।
भिड बढेपछि अप्रेसन गर्नुपर्ने बिरामीलाई समेत भुइँमै राखेर उपचार गर्ने गरिएको छ ।

एपेन्डिक्सको समस्या भएर भोजपुरबाट आएकी शिवकुमारी भुजेललाई भुइँमै राखेर उपचार भइरहेको छ । ‘बेड छैन भनेर भुइँमै बिरामीलाई राखिएको छ । अप्रेसन गर्नुपर्छ भनेको छ । तर, अत्तोपत्तो छैन,’ शिवकुमारीकी बुहारीले भनिन् ।

एचआइभी, टिबीलगायतका संक्रमणजन्य रोगका बिरामीलाई छुट्टै कोठामा राखेर उपचार गर्नुपर्ने भए पनि स्थान अभावले सबै बिरामीलाई एकैठाउँमा राखेर उपचार भइरहेको छ । बाध्यतावश त्यस्तो गर्नुपरेको आकस्मिक विभागले जनाएको छ ।

अस्पतालले अकस्मिक कक्षको क्षमता बढाउन ४० बेडको नयाँ भवन पनि बनाउँदै छ । तर, निर्माण पूरा भएको छैन । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७