१३ उडानबाट आज ६ देशमा अलपत्र नेपालीलाई स्वदेश फर्काइँदै

हालसम्म विदेशबाट सात हजार बढी नेपालीको उद्धार, कुन देशबाट कति फर्किए ?


११ असार २०७७, बिहीबार
Nepal Airlines landing
फाइल फोटो

काठमाडौं, ११ असार । कोरोना महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज (बिहीबार) १३ अन्तर्राष्ट्रिय उडान हुने भएका छन् ।
आज विभिन्न १३ उडानबाट विभिन्न ६ देशमा समस्यामा परेका नेपालीहरु स्वदेश फकाइने भएको छ ।

आज यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५२ जना र कतारको दोहाबाट पनि हिमालय एअरलाइन्समार्फत नै १५२ जना फर्कने तालिका रहेको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ ।

यस्तै कुवेतबाट नेपाल एअरलाइन्सले १४९ जना लिएर आउनेछ । जापानको नारिताबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना स्वदेश फर्कने छन् । कतार एअरवेजको जहाज कतारको दोहा र एअर अरेबिया यूएईको सारजहाबाट नेपाल आउने छन् तालिका रहेको विमानस्थलले जनाएको छ ।

यस्तै आज नेपाली लिन जहाजहरु विभिन्न ठाउँमा जाने तालिका रहेको छ । नेपाल एअरलाइन्सका दुई जहाज बहराइनमा समस्यामा रहेका नेपाली लिन त्यसतर्फ जानेछन् ।
हिमालय एअरलाइन्सको चार्टर्ड जहाज मलेसियाको क्लालाम्पुर जाने तालिका रहेको छ ।

नेपाली लिएर आएका जहाजहरु पनि आजै फर्कने छन् । तर ती जहाजमा यात्रु फर्कन्छन् या फर्कंदैनन् भन्ने टुङ्गो भइनसकेको जनाइएको छ । यसअघि पनि विभिन्न देशबाट नेपालीको उद्धार कार्य भएको छ ।

दुई सातामा विदेशबाट सात हजार बढी नेपालीको उद्धार
दुई साताको अवधिमा कोरोना भाइरसका कारण विभिन्न देशमा अलपत्र परेका ७ हजार १५४ नेपालीलाई उद्धार गरेर स्वदेश ल्याइएको छ ।

सरकाले गत २३ जेठदेखि विभिन्न १८ मुलुकबाट कोरोनाका कारण समस्या परेका नागरिक स्वदेश ल्याउन शुरु गरेको थियो । गत ३२ जेठदेखि दैनिक विभिन्न देशबाट ७ सय अलपत्र नेपाली स्वदेश आइरहेका छन् ।

हालसम्म कुवेतबाट एक हजार ६५२, यूएईबाट एक हजार ३८५, ओमानबाट ३१३ जना, जापानबाट २४८, अष्ट्रेलियाबाट २८७, बंगलादेशबाट ८१५, म्यानमारबाट २६, हङकङबाट १७, श्रीलंकाबाट पाँच, थाइल्याण्डबाट २४८ जना, साउदीबाट ५१२ र कतारबाट २९२ जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै माल्दिभ्सबाट ३२७, कोरियाबाट २२८ जना, मलेसियाबाट ६१५ जना, सिंगापुर र कम्बोडियाबाट संयुक्त रूपमा १४६ जनाको पनि उद्धार गरेर नेपाल ल्याइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७