‘प्रधानमन्त्रीले सरकार छोड्नुपर्छ भने छोड्न तयार छौं’


२१ आश्विन २०७४, शनिबार
Prachand

काठमाडाैं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपाली काँग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् । सिंहदरबारमा शनिबार आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले वाम गठबन्धन, पार्टी एकता फरक विषय बताएको हो ।

Prachand

उनले पार्टी एकता इतिहास र राष्ट्रिय दायित्व पूरा गर्नका लागि भएको बताए । ‘सरकार संविधान कार्यान्वयन गराउने लक्ष्यका साथ गठन भएको हो, यसको ध्येय आगामी मंसिरमा प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचन गराउनेमा छ । हामी निर्वाचन सफल बनाउन चाहन्छाैं ।’ प्रचण्डले भने, “हामीले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेका छौँ, यो हाम्रो नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियान हो।’

‘हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौँ । तर, प्रधानमन्त्री र नेपाली काँग्रेसले सरकार छोड्नुपर्छ भने हामी छोड्न तयार छौँ । हाम्रो एकमात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो’, अध्यक्ष प्रचण्डले भने ।

‘एमाले, नयाँ शक्तिसँग एकरुपता कायम गर्न वैचारिक बाँकी’
संसदीय दलका नेतासमेत रहेका प्रचण्डले एमाले, नयाँ शक्तिसँग एकताको सैद्धान्तिक सहमति भए पनि वैचारिक विषयमा एकरुपता कायम गर्न बाँकी रहेको बताए ।

“एमाले, नयाँ शक्ति र हामीबीच पार्टी एकताको सैद्धान्तिक सहमति भएको छ । तर, वैचारिक विषयमा बहस गरेर एकरुपता कायम गर्न बाँकी नै छ । एउटा अर्काेमा बिलय भएर एकता हुने होइन, वैचारिक राजनीतिक र संगठनात्मक विषयमा बहस गरेर हामी साझा टुंगोमा पुग्छौँ । अहिले हाम्रा आआफ्नै वैचारिक मान्यता कायम छन् ।’ उनले भने ।

बैठकमा केही सांसदले भने सैद्धान्तिक विषयमा एकरुपता कायम नगरीकन एमालेसँग एकता नै गरी हाल्नुपर्नाको कारणबारे उनले प्रश्न गरेका थिए । हतारमा गरिएको एकताले कतै आगामी दिनमा समस्या त खडा गर्ने होइन, माओवादीको पहिचान गुम्ने त होइन भन्दै उनीहरुले प्रश्न गरेका थिए ।

त्यसको जवाफमा अध्यक्ष दाहालले शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने लक्ष्यका साथ एकतामा सहमति भएकाले कुनै पनि दुविधा नराख्न आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७