सरकारले शिक्षा र सेवा क्षेत्रको व्यापारीकरण रोकोस् : सांसद पौडेल


११ असार २०७७, बिहीबार
bimala rai paudel

काठमाडौं, ११ असार । सांसदहरुले कोरोना महामारीको समयमा अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुर्व्यवहारलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरुले त्यस्ता गलत कामले रोग सङ्क्रमण बढ्ने र नकारात्मक सन्देश जानेतर्फ सचेत रहन आग्रह गरे । उनीहरुले स्वास्थ्यकर्मीको सुरक्षाको पूर्ण प्रत्याभूति दिन जोड दिए ।

जनता समाजवादी पार्टीका मृगेन्द्रकुमारसिंह यादवले काठमाडौं, धरान, पर्सा, रौतहटमा, डोटी, बाजुरालगायत स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको उल्लेख गर्दै उनीहरुको उत्साहलाई निराशामा परिणत गर्ने काम कोही कसैले गर्न नहुने बताए । उनले नागरिकताको विषयमा राष्ट्रियतालाई ध्यानमा राखेर अघि बढ्न जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चक्रप्रसाद स्नेहीले कोभिड–१९ सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि भएको घटनाको निन्दा गर्दै सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरे । उनले बन्दाबन्दीको समयमा अर्थतन्त्रमा पारेको नकारात्मक असरको आवश्यक सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए ।

सोही पार्टीका डा. विमला पौडेलले उद्योगधन्दा पुनस्र्थापनका कार्यक्रम ल्याउन, शिक्षा र सेवा क्षेत्रलाई व्यापारीकरण नगर्न समेत आग्रह गरिन् ।

नेपाली कांग्रेसकी अनिता देवकोटाले सोती घटना, रुपन्देहीमा बलात्कारपछि हत्या र धनुषा प्रहरी कार्यालयभित्रै भएको मृत्यु प्रकरणमा दलितसँग सम्बन्धित सङ्गठनका प्रतिनिधिहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिन जाने क्रममा प्रहरीले गरेको धरपटकको निन्दा गरिन् ।

उक्त घटनामा सांसद समेत घाइते भएको उल्लेख गर्दै त्यस्ता गतिविधि नदोहार्‍याउन समेत आग्रह गरिन् । सोही पार्टीका तारादेवी भट्टले कोभिड–१९ रोक्न सरकारको भूमिका बढाउनुपर्ने आवश्यकता औंल्याइन् । चुरेको दोहन रोक्न गम्भिर कदम चाल्नसमेत उनले सरकारलाई आग्रह गरिन् ।

जनता समावादी पार्टीका प्रमिलाकुमारीले नागरिकतासम्बन्धीको विधेयकमा सात वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने गरी विधेयक आएकोमा आपत्ति जनाइन् । उनले महिला, यौनिक र अल्पसंख्यक व्यक्तिले समेत समान रुपमा नागरिकता प्रदान गर्नुपर्ने अवस्थामा विभेद गरिनुले सरकाकोे विभेदकारी नीति प्रष्ट भएको जिकिर गरिन् ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ र सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्वन्ध व्यवस्थापन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराए । अर्को बैठक यही असार १५ गते अपराह्न १ बजे बस्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७