आन्तरिक उडान कम्तीमा साउन दोस्रो सातासम्म नखुल्ने, अन्तर्राष्ट्रिय झनै अनिश्चित


१२ असार २०७७, शुक्रबार
airlines

काठमाडौं, १२ असार । कोभिड–१९ को संक्रमण फैलिइरहेकाले सरकारले अझै एक महिना हवाई लकडाउनलाई निरन्तरता दिने भएको छ ।

विमान कम्पनीहरूले आन्तरिक उडान खुलाउन दबाब दिए पनि कोरोनाको संक्रमण बढिरहेकाले सरकारले अगस्ट १ (साउन १७) सम्म हवाई लकडाउन नखोल्ने मनस्थिति बनाएको हो । अन्तर्राष्ट्रिय उडान त झन् कहिले खुलाउने भन्नेमा अझै अनिश्चित छ ।

गत चैत ११ देखि बन्द भएको उडान असार २१ सम्म बन्द घोषणा भइसकेको छ । ‘आन्तरिक उडान कहिले खुल्छ भन्न सकिने अवस्था छैन,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, ‘परिस्थिति हेरेर सरकारले निर्णय गर्ला, तर अन्तर्राष्ट्रिय उडान खुलाउने त झन् अझै अनिश्चित नै छ ।’

यता बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत भने सरकारले सुरक्षा विधि अपनाएर आन्तरिक उडान खुलाउनुपर्नेमा जोड दिन्छन् । ‘हामी त अहिले पनि खोल्नुपर्छ भन्ने पक्षमा छौँ,’ उनले भने, ‘तैपनि अगस्टभन्दा पछि लम्बिए झन् ठूलो समस्या आउनेछ ।’

के–के सुरक्षा विधि छन्, मापदण्डमा ?
हवाई यात्राका लागि यात्रुले टर्मिनल भवनमा प्रवेश गर्नुअघि मास्क लगाउनु अनिवार्य छ भने छेउको हेल्थ डेस्कमा थर्मल गनमार्फत शरीरको तापक्रम र स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ ।

यात्रुलाई भौतिक दूरी पालनाका लागि एक–एक मिटरमा उभिने ठाउँ मार्किङ समेत गरिएको छ । बोर्डिङ काउन्टरमा बसेका कर्मचारीहरूका लागि फेस सिल्ड, मास्क इत्यादिको व्यवस्था गरिएको छ । यात्रु र कर्मचारीबीच सम्पर्क हुने डेस्कहरूमा पारदर्शी काँच लगाइएको छ ।

आकस्मिक अवस्थाबाहेक जहाजमा शौचालयमा रोक लगाएको छ । पानीसमेत दिइनेछैन । जहाजभित्र बसेपछि पनि उडानअघि यात्रुलाई सास फेर्न गाह्रो हुनुका साथै टाउको दुख्ने समस्या समेत देखिए मेडिकल टिम बोलाएर उसलाई स्वास्थ्यकर्मीसम्म पुर्‍याउने व्यवस्था गरिएको छ । काठमाडौंबाट कुनै पनि गन्तव्यमा उडान गरेको जहाजलाई दैनिक करिब एक घन्टा लगाएर फोम र स्प्रे प्रयोग गरेर डिसइन्फेक्ट गर्ने व्यवस्था गरिएको छ ।

बुद्धले थाल्यो उडानको तयारी

बुद्ध एयरले अब हुने उडानका लागि स्वास्थ्य निर्देशिकाअनुसार तयारी सुरु गरेको छ । बुद्धले बिहीबार ‘डेमो’ उडानसमेत गर्‍यो ।

यात्रुले टिकट कसरी लिने, कसरी एयरपोर्ट आइपुग्ने, चेक–इन काउन्टर, र्‍याम्प बसको बसाइ र जहाजमा पसेपछि अवलम्बन गर्नैपर्ने नियमहरूबारे जानकारी दिन र आफ्ना कर्मचारीलाई अभ्यस्त पार्न बुद्धले नमुना उडान अभ्यास गरेको हो । परीक्षणस्वरूप गरेको ड्रिलिङअन्तर्गत काठमाडौंबाट पोखरासम्मको उडानमा यात्रु र विमान कर्मचारीले के–के गर्नुपर्छ भनेर देखाएको थियो ।

उडान निर्देशिका पालना गर्दा एयरलाइन्सको ५० प्रतिशत समय बढी लाग्ने

कोभिड–१९ पछिको आन्तरिक उडानमा सुरक्षा उपाय अपनाउँदा एयरलाइन्सहरूको उडान समय ५० प्रतिशतसम्म त्यसै खेर जाने देखिएको छ । त्यसमाथि पूरा सिट क्षमतामा यात्रु राख्न नपाई भौतिक दूरी कायम गरेर मात्र उडान गर्नुपर्ने प्रावधानले विमान कम्पनीहरूको कारोबारमा दुईतिहाइले असर पर्ने देखिन्छ ।

सरकारले जारी गरेको सुरक्षा निर्देशिकाअनुसार सुरक्षा उपाय अपनाउँदा विमानस्थलमा बोर्डिङ पास, ब्यागेज, सुरक्षा जाँच, जहाजसम्म पुग्ने र ओर्लिने र विमानस्थलबाट बाहिरिनेसम्म भौतिक दूरी कायम गर्नुपर्ने हुन्छ । यसका लागि सामान्य समयको भन्दा दोब्बर समय विमानस्थलमा खपत हुने देखिएको छ ।

‘कोभिड–१९ पछि ५० प्रतिशत कम उडान देखिएको छ, यसमा सुरक्षा विधि अपनाउँदा समय खपत हुनेछ,’ बुद्ध एयरका बस्नेतले भने । बुद्धले दैनिक १ सय १० सम्म उडान गरेकोमा अब ६० भन्दा बढी हुन नसक्ने समेत देखिएको छ ।

सरकारले पहिलो चरणमा बिहान ६ देखि बेलुका ६ सम्म मात्रै उडान खुला गर्न लागेकाले पनि उडान घट्ने देखिएको हो । विगतमा एयरलाइन्सहरूले रात्रि उडान समेत गरेका थिए । सामान्य अवस्थामा आन्तरिक मात्रै ३ सय ५० सम्म उडान हुने गरेकामा अब ५० प्रतिशत घटेर १ सय ७५ मा झर्नेछ । सुगम क्षेत्रमा उडान गर्ने मुख्य तीन एयरलाइन्सहरू बुद्ध, यती र श्री एयरलाइन्सका दर्जनौँ उडानमा असर पर्नेछ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७