अबको तीन दिन ठूलो पानी पर्ने, बाढी, पहिरो र डुबानको खतरा

यी नदीहरुमा बाढी आउन सक्ने मौसमविदको चेतावनी


१२ असार २०७७, शुक्रबार
badhi jajarkot scaled

काठमाडौं, १२ असार । देशभर मनसुनी वायुको प्रभाव र मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेकाले देशभर मनसुन सक्रिय भएको छ ।

आज (शुक्रबार) दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाकाअनुसार प्रदेश १, प्रदेश २, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षा सम्भावना रहेको छ ।

राति सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, प्रदेश नं ५ तथा गण्डकी प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । राति भने बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । राति सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश , प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

अबको केही दिन कोशी, कन्काई, वाग्मती, कमला नदीमा बहाव बढ्ने जलविज्ञ सुनिल पोखरेलले जानकारी दिए । ठूला नदी अहिले नै खतरामा पुग्ने स्थिति नभए पनि तराई, चुरे र भारतीय सीमा आसपास भारी वर्षा हुने र साना खोलामा बाढी आउने तथा पश्चिम नेपालको पनि तराईको भागमा समस्या देखिनसक्ने उनी बताउँछन् ।

उनका अनुसार कन्काई, कोशी, राप्तीमा सतर्कता तहसम्म पुग्नसक्ने देखिन्छ । नारायणी नदीमा समेत विस्तारै बहाव बढ्ने क्रममा रहेको उनले बताए । ठूला नदीमा बहाव बढ्दो क्रममा रहे पनि आजको मितिसम्म नदीअनुसार दुईदेखि चार मिटरसम्म बहाव तलै रहेको जलविज्ञको भनाइ छ । सीमा क्षेत्र र तराईका खहरे, साना खोला एक्कासी उर्लेर आउने र क्षति पुर्‍याउने सम्भावना कायमै रहेकाले तीन दिन सतर्कता अपनाउनुपर्ने विज्ञको सुझाव छ ।

सरकारले यसपालि मनसुनजन्य विपद्को सूचना प्रणालीलाई व्यवस्थित गर्दै ‘असरमा आधारित पूर्व सूचना प्रणाली’ अवलम्बन गरिसकेको छ । सूचना प्रणालीलाई लक्षित वर्गसम्म कसरी पुर्‍याउने भनेर गृहकार्य भएन भने त्यसको प्रभावकारिता नहुने विपद् व्यवस्थापन विज्ञको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७